कोरोना भेरिएन्ट अध्ययन गर्ने भारतीय वैज्ञानिक समूहका अध्यक्षले दिए राजीनामा

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना भाइरसको कुन भेरिएन्ट कसरी फैलियो र यसले कति अझै कति लामो समय जकडेर लान्छ भन्ने पत्ता लगाउन एक वर्षअघि गठन गरिएको वैज्ञानिक सल्लाहकार समूहका अध्यक्ष वरिष्ठ भाइरोलोजिस्ट साहिद जमिलले पदबाट राजीनामा दिएका छन्।

भारतका प्रयोगशाला (ल्याब) हरूको संगठनका प्रतिनिधि सहभागी गराएर सरकारले गत वर्ष भाइरोलोजिस्ट जमिलको अध्यक्षतामा उक्त समूह गठन गरेको थियो।

जमिल हाल हरियाणाको सोनिपतस्थित अशोका विश्वविद्यालयअन्तर्गत रहेको त्रिवेदी स्कुल अफ बायोसाइन्सेसका निर्देशक छन्। कोरोना भाइरसले महामारीको रूप लिएपछि जमिलले ‘इन्डियन सार्स–कोभ–२ जेनोमी सिक्वेन्सिङ कन्सोर्टिया’ (इन्साकोग) को अध्यक्ष पद सम्हालेका थिए।

आफ्नो नीति निर्माण तहमा भारत सरकारले तथ्यांकलाई कसरी समेट्छ र कसरी समेट्दैन भन्ने विषयमा भाइरोलोजिस्ट जमिलले सधैं एक खरो आलोचकका रूपमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्। सरकारको नीतिप्रति उनी सधैं सकारात्मक आलोचना गर्थे।

समूहको अध्यक्ष पदबाट राजीनामा दिएको चार दिनपछि जमिलले अमेरिकाको द न्युयोर्क टाइम्समा लेख लेखेर ‘कोभिड–१९ महामारीको दोस्रो लहरबाट आममानिसको ज्यान जोगाउन भारतले परीक्षण दर बढाउनुपर्ने र संक्रमित मानिसलाई आइसोलेसनमा राख्न अझै व्यापक काम गर्नुपर्ने’ भन्दै सरकारको आलोचना गरेका थिए।

‘कोरोना महामारी नियन्त्रणका लागि भारतमा अपनाइएका सबै प्रक्रियालाई मेरा सहकर्मी वैज्ञानिकहरूले पनि समर्थन गरेका थिए। तर, उनीहरूले सही तथ्यांकमा आधारित नीति निर्माणका लागि सधैं नियामक निकायसँग पौंठेजोरी खेल्नुपर्ने अवस्था भयो। गत अप्रिल ३० मा ८ सय भारतीय वैज्ञानिकले सही तथ्यांकमा पहुँचको माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपिल गरेका थिए,’ भाइरोलोजिस्ट जमिलले आफ्नो लेखमा उल्लेख गरेका छन्, ‘सही तथ्यांकमा आधारित रहेर नीति निर्माण नहुनु अर्को गम्भीर दुर्घटना हुनु हो। किनकि, भारतमा कोरोना महामारी नियन्त्रण बाहिर गइसकेको छ। हामीले गुमाएका मानव मूल्यले एउटा ठूलो र दिर्घकालीन घाउ छाडेर जाने निश्चित भएको छ।’

जमिलले एक महिनाअघि पनि यस्तैखाले प्रतिक्रिया सार्वजनिक गरेका थिए। ‘नीति जहिले पनि तथ्यमा आधारित हुनैपर्छ र त्यसमा कुनै तोडमरोड गरिनुहुन्न। नीतिलाई अगाडि बढाउन विज्ञानलाई सधैं नजरअन्दाज गर्ने प्रवृत्तिबाट म जहिले पनि डराइरहेको हुन्छु,’ उनले भनेका थिए, ‘तर, मलाई थाहा छ मेरो प्रभाव कहाँ गएर रोकिन्छ। वैज्ञानिक भएका नाताले हामी तथ्य उपलब्ध गराउँछौं र मलाई यो पन थाहा छ नीति निर्माण सरकारको एउटा जागीर हो।’

जब एनडिटिभीले किन राजीनामा दिनुभयो भन्ने प्रश्न सोध्यो तब भाइरोलोजिस्ट जमालले भने, ‘मेलै जे गरेँ, सही गरेँ र मसँग अरू भन्न बाँकी केही पनि छैन।’

त्यसैगरी रोयटर्स र द हिन्दुले पनि यही प्रश्न गर्दा जमिलले राजीनामा दिनुको कारण नबताउने प्रतिक्रिया दिएका थिए।

रोयटर्सले इन्साकोगका नाम बताउन नचाहने अर्का एक सदस्यसँग कुरा गर्दा अध्यक्ष जमिल र सरकारबीच भिन्नता थियो भन्नेबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएको जनाएको छ।

त्यसबाहेक इन्साकोग सञ्चालनको जिम्मेवारी लिएका केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वद्र्धन र जैविकप्रविधि विभागकी सचिव रेणु स्वरुपलगायत अन्य उच्च सरकारी अधिकारीहरूले भाइरोलोजिस्ट जमिलको राजीनामाबारे कुनै प्रतिक्रिया दिन चाहेनन्।

सरकारसँग इन्साकोगको सम्बन्धबारे यो महिनाको सुरुमा रोयटर्सले ‘भारतमा नयाँ भेरिएन्टको भाइरसले कोभिडको दोस्रो लहर थप गम्भीर हुने भन्दै इन्साकोगले दिएको चेतावनीलाई भारत सरकारले बेवास्ता गरेको’ समाचार प्रकाशित गरेको थियो।

इन्साकोगका सदस्यहरूले भारत सरकारलाई बारम्बार प्रमुख निषेधाज्ञा जारी गर्न भन्दै आएका थिए। तर, पश्चिम बंगाल र आसाममा सरकार आफैलें दसौं हजारको भीड जम्मा पारेर ठुल्ठूला निर्वाचनका र्‍याली आयोजना गरेको थियो।

त्यसबाहके केन्द्र सरकारले उत्तराखण्डको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलालाई नदेखे झैं गरेको थियो। कुम्भ मेलामा ३० लाख मानिस सहभागी भएका थिए, तर कोरोना भाइरसबा जोगिन कसैले पनि स्वास्थ्य मापदण्ड पालना गरेका थिएनन्।

इन्साकोगको एक सदस्य ल्याब सेन्टर फर सेलुलर एन्ड मोलिक्युलर बायोलोजीका प्रमुख राकेश मिश्राले द वायरसँग भने, ‘एउटा कुनै खतरनाक र गम्भीर घटना हुनेछ भन्नेमा हामी धेरै धेरै सचेत थियौं।’

इन्साकोग गठनपछि भने यसलाई आर्थिक अभाव त छँदै थियो, त्यसमाथि राज्य तह र केन्द्रीय निकायहरूले समयमै बिरामीका नमुना उपलब्ध गराउन सहयोग नगरेको द वायरले समाचार प्रकाशित गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *