निषेधाज्ञाको अवधिमा २४ फार्मेसीमा अनुगमन, साढे ३ लाख जरिवाना असुल
उपत्यकामा निषेधाज्ञा जारी भएदेखि हालसम्म २४ वटा फार्मेसी, सर्जिकल सेन्टर, क्लिनक तथा अस्पतालहरुको निरीक्षण गरी केहीलाई जरिवाना तिराइएको छ।
उपभोक्तालाई ठगी गरेको र उच्च मूल्यमा औषधि, मास्क तथा अन्य आवश्यक स्वास्थ्य सामाग्री बिक्री गरेको भन्दै उजुरी परेका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही प्रक्रिया अघि बढाएको थियो। जसमा अनियमितता गर्ने केही फार्मेसी तथा सर्जिकल सेन्टरहरुलाई चेतावनीसहित जरिवाना तिराइएको छ।
वैशाख १६ गतेदेखि हालसम्म विभागले खाद्य, ग्यास, कोल्ड स्टोर, फार्मेसी, क्लिनिकहरुमा अनुगमन गरी ४ लाख ६५ हजार रुपैयाँ जरिवाना संकलन गरेको छ। जसमा ३ लाख ५० हजार रुपैयाँ फार्मेसीहरुबाट संकलन भएको छ।
वैशाख १६
काठमाडौंको खुश्बु हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. पोलिक्लिनिकलाई विभागले आवश्यक कागजात वा स्पष्टीकरण पेश/बयान गर्न बोलाएको थियो। त्यस्तै, व्यवसायसँग सम्बन्धित कागजातका साथै खरिद तथा बिक्री बिलसहित विभागमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो।
वैशाख १७
भक्तपुर मध्यपुरथिमिस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिज सर्जिकलले बढी मूल्यमा मास्क बिक्री गरेकोमा ५०,००० जरिवाना तिराइएको थियो।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को उपदफा १ बमोजिमको कसुर गरेको हुँदा ५० हजार जरिवाना गरेको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए। साथै सुधारका लागि निर्देशन दिइएको थियो।
त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित अनुज स्टोर, यु एण्ड बि स्टोर तथा आरएन स्टोरले मास्क खरिद-बिक्री गर्दा बिल बिजक जारी नगरी खरिद-बिक्री गरेकोमा प्रत्येक फर्मलाई रु ५ हजार जरिवाना गरिएको थियो।
वैशाख १९
त्रिपुरेश्वरस्थित के.एस. इन्टरनेशनल सर्जिकल, शुभतारा विजनेश प्रा.लि. सर्जिकल, जि.एस. सप्लायर्स सर्जिकल र अल फाइन सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बिक्री गरेकोमा जरिवाना तिराइएको थियो।
के.एस. इन्टरनेशनल सर्जिकललाई कोभिड-१९ लाई मध्यनजर गरी व्यवसाय संचालन गर्न सामान्य निर्देशन दिइएको थियो।
शुभतारा विजनेश प्रा.लि. लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार रु १० हजार जरिवाना गराइनुका साथै सुधारका लागि निर्देशन दिइएको थियो।
त्यस्तै, जि.एस. सप्लायर्स सर्जिकललाई पनि १० हजार जरिवाना गरी सुधारका लागि निर्देशन गरिएको सेढाईंले जानकारी दिए। अल फाइन सर्जिकल सप्लायर्सलाई कानुन बमोजिम २ लाख जरिवाना गरी सुधारका लागि निर्देशन दिइएको थियो।
वैशाख २१
भीम मेडिकल हल सामाखुसी, शुभोदय मेडिकल हल गोंगबु, निको डाइग्नेष्टिक ल्याब्रोटरी र निकोमेड फार्मेसीलाई जरिवाना गरिएको थियो। भीम र शुभोदयलाई १० हजार तथा निकोमेडलाई ५ हजार जरिवाना तिराइएको थियो।
वैशाख २३
वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्राशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालय काठमाडौंले विभिन्न अस्पतालहरुमा अनुगमन गरेका थिए। बिरामीको उपचारका सन्दर्भमा उपयोगी रेम्डेसिभिर औषधिको आयात, आपूर्ति, वितरण, उपलब्धता, अस्पतालहरुमा उपलब्ध सेवा, शुल्कका बारेमा बुझ्न सातवटा अस्पतालको अनुगमन सो दिन गरिएको थियो।
सिभिल हस्पिटल, के.एम.सी. हस्पिटल, ह्यम्स हस्पिटल, मेट्रो सिटी हस्पिटल, ग्रान्डी हस्पिटल, ओम हस्पिटल, मेडीकेयर हस्पिटलमा अनुगमन गरेर कोरोना रोकथाम नियन्त्रण गर्नका लागि नेपाल सरकारले जारी गरेको मापदण्डको पूर्ण पालना गरी सेवा संचालन गर्न निर्देशन दिइएको थियो।
त्यस्तै, चन्द्रागिरीस्थित गोपिनी फार्मेसीलाई ५ हजार जरिवाना गराइएको थियो।
वैशाख २४
बालाजुको सिजन काठमाडौं फर्मालाई औषधिमा मूल्य वृद्धि गरेकोमा ५ हजार र सेड्रीना मेडीकल हल गोंगबुलाई १० हजार जरिवाना तिराइएको थियो।
वैशाख २६
गलत बिलबिजक जारी गरेकोमा बौद्धस्थित नेपा मेड्रस औषधि पसल र बढी एमआरपी उल्लेख गरी कम मूल्यमा स्यानीटाइजर बिक्री-वितरण गरेको उजुरी परेका कारण त्यहाँ अनुगमन गरिएको थियो।
त्यस्तै, ललितपुरस्थित ओम आरोग्य फार्मेसीलाई रु २० हजार जरिवाना तिराइएको थियो।
वैशाख २७
एलजी फर्मा भैँसेपाटीलाई अनुगमन गरेर रु १० हजार जरिवाना तिराइएको थियो भने आर्यन मेडिकल फर्मेसीलाई आवश्यक कागजात तथा स्पष्टीकरण पेश गर्न विभागले बोलाएको छ।
वैशााख २८
ट्रेन्ड्रेज फार्मेसी, एलायन्स फर एग्रो फर्मा मिनि ट्रेडर्स, स्पार्क पोलिक्लिनिक, के.एम.सी. हस्पिटल, राणिसती ट्रेडिङ कन्सर्नको अनुगमन गरी १० हजार जरिवाना गरिएको थियो।
ट्रेन्ड्रेज फार्मेसीलाई ५ हजार र एलायन्स फर एग्रो फर्मा मिनि ट्रेडर्सलाई ५ हजार जरिवाना गरिएको थियो।
वैशाख २९
विभागले उक्त दिन विभिन्न स्टोर, अस्पताल, स्थानीय निकाय तथा औषधि पसलहरुमा अनुगमन गर्दा १० हजार जरिवाना तिराएको थियो।
वैशाख ३०
चापागाउँस्थित सुवास पोलिक्लिनिक फार्मेसीमा अनुगमन गरी स्वास्थ्यका मापदण्डको पालना गरी व्यावसाय संचालन गर्न र खरिद-बिक्री बिल जारी गरी बिक्री- वितरणको मूल्य अन्तर कम गर्न निर्देशन दिएको थियो।
बैशाख ३१
पुरानो बानेश्वरस्थित कौतिमा फार्मेसीलाई विभागले २० हजार जरिवाना तिराएको थियो।
अनुगमन कार्य निरन्तर जारी राख्ने सेढाईंले बताए।