काठमाडौंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना

कोरोना संक्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौं महानगरपालिकामा परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ। गत शनिबारसम्म स्वाब संकलनका लागि पाँचवटा केन्द्र बनाएर काम गरिरहेको महानगरले हरेक दिन संक्रमितको संख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ।

महानगरको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको महानगरका जनस्वास्थ्य महाशाखाले जनाएको छ। महानगरकी ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ। ‘कोरोनाको शंका देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ’, कुँइकेलले भने।

संक्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि महानगरले भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको जनाएको छ। अहिलेसम्म महानगरले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ। यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन। यसरी कोरोना पोजेटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ।

महानगरका २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन्। कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान-आउन परेमा पनि महानगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० को हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ।

महानगरका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय सङ्क्रण दर अत्यधिक बढेको छ, यसरी नै संक्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ। त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ।

‘गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर, अहिले त्यो अवस्था छैन। विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ’, प्रमुख कुँवरले भने।

महानगरमा १० हजार बढी सक्रिय संक्रमित

हालसम्म महानगरमा ५१ हजार ४१२ जना संक्रमित भएका छन्। तीमध्ये १० हजार ८०१ सक्रिय संक्रमित छन्। सबैभन्दा बढी वडा नं ३२ मा ४ हजार ७५५ रहेका छन् भने सबैभन्दा कम वडा नं १८ मा २०७ जना रहेका छन्। त्यसैगरी हालसम्म ४० हजार २३६ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणबाट ३४५ जनाले ज्यान गुमाएका छन्।

महानगरमा रहेका संक्रमितमध्ये १० हजार १८१ होम आइसोलेसनमा छन् भने ११४ जना संस्थागत आइसोलेसनमा र ५०६ ले अस्पतालमा उपचार गराइरहेका छन्।

१२ अस्पतालसँग सम्झौता

संक्रमणविरुद्ध लड्न महानगरले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालहरुले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ।

अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान रकम दिने १२ अस्पतालसँग सम्झौता गरिसकेको छ।

महानगरले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल रहेका छन्।

यसअघि महानगरले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ। त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकेको छ।

‘सानासाना युनिटमा आइसोलेसन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ। यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन्। यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो’, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिएका हौं।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय