कोरोनाबाट जोगिन ११ दिन रुखको टुप्पोमा आइसोलेसन बस्दा…

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस महामारीले सारा संसारलाई गाँजिरहेको छ।

स्वास्थ्य केन्द्र, औषधी उपचार र भ्याक्सिन पहुँचबारे व्यापक बहस भइरहेका बेला एउटा सामान्य आधाभूत समस्या तेर्सिएको छ।

त्यो हो– होम आइसोलेसनमा बस्ने ठाउँ अभाव।

भारतको तेलंगना प्रान्तको नालागोन्डा जिल्लामा होम आइसोलसनमा बस्ने ठाउँ अभाव भएपछि नयाँ बहस सिर्जना भएको छ।

त्यहाँको सयौं परिवार एउटै कोठामा आइसोलेसन बस्न बाध्य छन्।

चार भित्ता रहेको एउटै कोठमा भान्छा र कतै शौचालयसमेत हुन्छन्। यस्तो बाध्यताबीच कोरोना संक्रमित बिरामीले आफूलाई छुट्टै बस्न ठाउँ नै पाइरहेका छैनन्।

यही समस्याबीच नालागोन्डाका कोरोना संक्रमित एक विद्यार्थीले भने गज्जबको ‘आइडिया’ फुराएका छन्।

होम आइसोलेसनमा बस्ने ठाउँ अभाव भएपछि १८ वर्षीय ती विद्यार्थी शिवले रुखको टुप्पोलाई कोभिड वार्ड बनाए।

उनी ११ दिनसम्म रुखको टुप्पोमा आइसोलेसन बसे।

घरका अन्य सदस्यलाई भाइरस नसरोस् भनेर उनले रुखको हाँगामा बाँसका भाटा बाँधबुँध पारेर खाटजस्तो बनाए र ओढ्ने, ओछ्याउने राखेर त्यहीँ बस्न थाले।

उनले रुखकै टुप्पोमा ११ दिन आइसोलेसन बसे।

मे ४ मा कोरोना संक्रमण पुष्टि भएपछि सानो गाउँ कोठानान्डिकोन्डाका शिवलाई गाउँका स्वयंसेवीहरूले आफ्नै घरमा तर परिवारबाट बेग्लै बस्न भनेका थिए।

तर, आफ्नो घरको अवस्था र गाउँमा आइसोलेसन केन्द्र अभावका कारण के गर्ने भन्ने नै उनको दिमागमा आएन। तर, लगत्तै रुखको टुप्पोलाई आइसोलेसन बस्ने ठाउँ बनाउने आइडिया उनलाई फुरेको थियो।

करिब ३ सय ५० आदिवासी परिवारको बस्ती रहेको उनको गाउँबाट प्राथमिक स्वास्थ्य केन्द्र पाँच किलोमिटर टाढा छ। कुनै गम्भीर खालको स्वास्थ्य समस्या परेर अस्पताल नै जानुपर्ने अवस्था आयो भने उनको गाउँबाट ३० किलोमिटरको दुरीमा एउटा अस्पताल रहेको छ।

‘हाम्रो गाउँमा कुनै आइसोलेसन केन्द्र छैन। छेउछाउका अन्य गाउँमा पनि आइसोलेसन केन्द्र छन् भन्ने मलाई थाहा छैन,’ शिवले भने, ‘यस्तो समस्या भएपछि मजस्ता संक्रमितले के नै गर्न सक्छौं र? म रुखको टुप्पोमा आइसोलेट बसेका कारण मेरो परिवारका चारजना कोरोनाबाट जोगिए।’

उनका अनुसार ग्रामिण स्वयंसेवकहरूले उनलाई कोरोना पोजिटिभ भएको प्रधानपञ्चलाई भनेपछि गाउँका कोही पनि सहयोग गर्न आएनन्।

ती सबै यसरी डराए कि घरबाट कोही पनि बाहिर निस्केनन्। रुखमा आइसोलेसन बस्न थालेपछि शिवको परिवारले खाना र पानी डोरी बाँधिएको बाल्टिनमा राखिदिने गरेको र उनले माथिबाट तानेर लिने गरेका थिए।

शिवले रुखको टुप्पोमा अधिकांश समय मोबाइल फोन चलाएर बिताए। उनी हैदरावादमा स्नातक अध्ययनरत छन्। भारतभरि दोस्रो लहरको कोरोना संक्रमण फैलिन थालेपछि हैदरावादबाट उनी एक महिनाअघि गाँउ फर्किएका थिए।

शिवको समस्याबारे गाउँका प्रधानपञ्च बालु नायकलाई टेलिफोन गर्दा कल रिसिभ गरेनन्। त्यसपछि डिस्ट्रिक्ट कलेक्टर प्रशान्त जीवन पाटिललाई फोन र मेसेज गर्दा उनी पनि सम्पर्कमा आएनन्।

शिवको समस्याबारे बुझ्न पत्रकार उनको गाउँ पुगेपछि गाउँलेहरू त्यहाँ जम्मा भएका थिए। हल्ला फैलिएपछि प्रहरी पनि घटनास्थल आएको थियो।

त्यसपछि प्रहरीले शिवलाई रुखबाट ओरालेर पाँच किलोमिटर परको आइसोलेसन सेन्टर लगेर राख्ने व्यवस्था मिलाएको थियो।

११ दिन रुखको टुप्पोमा आइसोलेसन र बाँकी तीन दिन आइसोलेसन सेन्टर बसेपछि शिव अहिले घर फर्र्र्किएका छन्।

उनको परिवारमा दैनिक मजदुरी गर्ने बुबा र आमा तथा दुई साना भाइबहिनी छन्। (द प्रिन्ट)



Leave a Reply

Your email address will not be published. Required fields are marked *