वरिष्ठ पेटरोग विशेषज्ञ डा. आइएल आचार्यको कोरोना संक्रमणबाट निधन
चर्चित ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आइएल आचार्यको कोरोना संक्रमणपछि उत्पन्न जटिलताबाट निधन भएको छ।
८३ वर्षीय डा. आचार्यको बिहान करिब साढे ३ बजे स्टार अस्पताल सानेपामा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले पुष्टि गरे।आचार्यलाई वैशाख १८ गते अस्पताल भर्ना गरिएको थियो।
डा. रुपाखेतीका अनुसार अस्पताल ल्याउँदा आचार्यको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो।
निरन्तरको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै २९ वैशाखमा कोरोना नेगेटिभ आएको थियो। तर, निमोनिया पूर्ण निको नभएका कारण उनलाई विशेष आइसीयूमा सारेर उपचार जारी थियो।
‘निमोनिया पनि कम हुँदै थियो, अक्सिजनको निर्भरतासमेत घटिरहेको थियो’ डा. रुपाखेतीले भने, ‘तर हिजो (शनिबार) दिउँसोबाट अचानक अवस्था बिग्रिन थाल्यो अक्सिजनको आवश्यकता बढ्न थाल्यो।’
स्वास्थ्य जटिल बन्दै गएपछि रातभरि नै विशेषज्ञ चिकित्सकहरु निगरानीमा खटिइरहेका थिए।
करिब ३ बजेतिर अवस्था झन् बिग्रिएपछि चिकित्सकहरुले एन्ट्युबेट गरेर भेन्टिलेटरमा राखेका थिए। ‘भेन्टिलेटरमा राखेपछि पनि मुटुले काम गर्न छाड्दै गयो, अनि सबै प्रयास निरर्थक भए’ डा. रुपाखेतीले भने, ‘हि इज नो मोर विद अस’।