नेपालमा महामारीको गहिरिँदो संकट : विश्वले सहयोगको अपिल सुनेको छ?

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको एउटा पत्रिकामा सहयोगको अपिल प्रकाशित गर्दै भनेका थिए- ‘हामीलाई आवश्यक मेडिकल सामग्री, जीवन जोगाउने औषधी र भ्याक्सिन तत्काल व्यवस्था गरिदिन हामी विश्वभरि छरिएर रहेका हाम्रा मित्रहरूसँग बिन्ती गरिरहेका छौं।’

त्यसको चौथो दिन विश्व स्वास्थ्य संगठनले पनि कोरोनाले संकटग्रस्त नेपालका लागि ‘आपतकालीन’ सहयोगको अपिल गरेको छ।

शुक्रबार विश्व स्वास्थ्य संगठनको नियमित प्रेस ब्रिफिङमा संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भारत, नेपाललगायत थुप्रै देशमा महामारीसँग जुध्नका लागि ‘आपतकालीन’ सहयोगको आवश्यकता रहेको बताए।

‘भारत मात्र होइन, नेपाल, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना हुने दर एकदमै बढेको छ’ उनले भने ‘अफ्रिका र अमेरिकी महादेशका केही देशहरू पनि संक्रमणसँगको उच्च संघर्षमा छन्।’

उनले भारत तथा नेपाललगायतका देशलाई तत्काल विश्वव्यापी सहयोग आवश्यक परेको भन्दै विश्व स्वास्थ्य संगठनले गर्दै आएको र गरिरहेको सहयोगलाई अझै बढाउँदै निरन्तरता दिने पनि बताए।

उनले खासगरी भारतको अवस्था एकदमै चिन्ताजनक भइसकेको उल्लेख गरेका थिए। उनले संगठनले भारतका लागि हजारौं अक्सिजन कन्सेन्ट्रेटर्स, अस्थायी अस्पतालका लागि टेन्टहरू तथा अरू पनि थुप्रै मेडिकल सामग्रीहरू सहयोग दिएको बताए।

नेपालको ठ्याक्कै आवश्यकता के हो?

‘अहिले हामीलाई चाहिएकोचाहीँ स्वास्थ्य सामग्रीहरू नै हो। जस्तो कि अक्सिजनका सिलिन्डरहरू छैनन्। अरु सरसामानहरू पनि छैनन्’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले भने ‘व्यवस्थापनमा समस्या होइन। हामीले गरिरहेकै छौं। सामान नभएरमात्रै हो।’

नेपालमा अहिले अक्सिजनको संकट चुलिएको छ। अस्पतालहरूमा बेडको अभाव पनि उस्तै छ। बेड भए पनि अक्सिजन नभएपछि अस्पतालहरूले संक्रमित भर्ना गर्नै छोड्न थालेका छन्।

अक्सिजनको अभाव टार्नका लागि सरकारले सुरूमा कोभिड नियन्त्रण तथा व्यवस्थापन केन्द्र(सिसीएमसी)लाई जिम्मेवारी दिएको थियो।

तर उसले व्यवस्थापन गर्न नसकेपछि अब मन्त्रालयले नै अक्सिजनको व्यवस्थापन गर्न थालेको छ। अक्सिजन उद्योगहरूलाई अहिले सिलिन्डर भर्न भ्याइनभ्याइ छ। तर बढ्दो मागलाई धान्न सकिरहेका छैनन्। बन्द भएका केही उद्योगहरूलाई सञ्चालनमा ल्याइएको छ। तर सिलिन्डरको अभाव उस्तै छ।

स्वास्थ्य मन्त्रालयले १५ दिनभित्र १०० वा त्योभन्दा धेरै बेड भएका सबै अस्पतालहरूलाई अक्सिजन प्लान्ट जडान गर्नका लगि निर्देशन दिएको छ। प्लान्टका लागि आवश्यक सामान ल्याउँदा भन्सार छुट दिने निर्णय सरकारले गरेको छ। तर अस्पतालहरूले भने १५ दिनभित्र प्लान्ट जडान गर्न कुनै पनि हालतमा सम्भव नभएको बताउँदै आएका छन्।

अक्सिजनमात्रै होइन अरु पनि स्वास्थ्य सामग्रीका लागि मन्त्रालयले यसअघि नै विश्वस्वास्थ्य संगठनलगायत विभिन्न दातृ निकायसँग अनुरोध गरिसकेको थियो।

‘त्यो हामीले नै भनेको कुरा हो। डब्ल्यूएचओले पनि नेपालमा संकट परेको छ सहयोग गर्नुपर्छ भनेको हो। त्यो हामीले नै भनेको कुरा हो’ प्रवक्ता गौतमले भने ‘अरु सरसामानहरू त जुट्दै गर्लान्। जुटिरहेकै छन्। विश्वभरिबाट सहयोग आउन थालिसकेको छ तर सबैभन्दा ठूलो आवश्यकता भनेको खोप नै हो।’

विश्वस्वास्थ्य संगठनले पनि कोभ्याक्समा खोप अनुदान दिनका लागि अपिल गरिरहेको छ। संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रबार भने– अझै पनि न्यून आय भएका तथा गरिव देशका नागरिकले खोप लगाउन पाएका छैनन्। धनी देशहरूले आधाभन्दा धेरै जनसंख्याले खोप लगाइसक्दा गरिब देशका २ प्रतिशत नागरिकले पनि खोप पाउन सकेका छैनन्।’

संगठनको समन्वयमा गठन विश्वभर खोप पुर्‍याउन बनाइएको एउटा सञ्जाल हो कोभ्याक्स।

यसअघि सुरुमा कोभ्याक्सले नेपालका लागि पनि ३ लाख ४८ हजार खोप दिएको थियो। कोभ्याक्सले गरिब तथा न्यून आय भएका देशका लागि जनसंख्याका आधारमा २० प्रतिशतलाई पुग्ने खोप अनुदानमा दिने नीति तय गरेको छ।

तर विश्वका धनी राष्ट्रहरूले आफ्ना नागरिकका लागि मात्रै खोप थुपारेर राखिरहेका कारण गरिब देशहरूले नपाइरहेको भन्दै संगठनले खोपमा सबैको बराबर पहुँच स्थापनाका लागि पैरवी गर्दै आएको छ।

नेपालमा कति खोप आयो, अब कति बाँकी छ?

नेपालमा सबैभन्दा पहिला भारतले १० लाख (कोभिसिल्ड) डोज ‘उपहार’ दिएको थियो। त्यसपछि नेपाल आफैले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख डोज (कोभिसिल्डकै लागि) किन्नका लागि अग्रिम रकम भुक्तानी दियो। त्योमध्य सेरमले १० लाख डोजमात्रै दियो। बाँकी दिएको छैन। बाँकी ल्याउने क्रममा स्वास्थ्य मन्त्री र खोप ल्याउन खोज्ने व्यापारीबीच नै कमिसनको खेल सुरु भयो। कोरोनाको दोस्रो लहर छल्न नसकेको भारत अहिले आफै खोपको अभाव झेलिरहेको छ।

त्यसपछि कोभ्याक्सले ३ लाख ४८ हजार डोज (कोभिसिल्ड नै) दियो। त्यही खोपको १ लाख डोज भारतीयले सेनाले नेपाली सेनालाई पनि ‘उपहार’ पठाइदिएको थियो। सेनाले आफ्ना सैनिक कर्मचारीका लागि त्यो सबै खोप लगभग लगाइसकेको छ।

पछि चीनले पनि ८ लाख डोज ‘भेरोसेल’ दिएको थियो। यो सबै गरेर नेपालमा लगभग ३२ लाख ४८ हजार डोज खोप भित्रिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ लाखले खोप लगाइसकेका छन्। तीमध्य आधाभन्दा धेरैले खोपको दोस्रो मात्रा लगाउन बाँकी छ।

तर, यो सबैलाई दोस्रोमात्रा लगाउनका लागि अब नेपालसँग खोप नै छैन।

‘अहिले पनि हामीले खोप दिन सकिरहेका छैनौं। भारतबाट खोप ल्याउन सकिएको छैन’ मन्त्रालयका प्रवक्त्ता गौतमले भने ‘अब विश्व स्वास्थ्य संगठनले पनि संकट छ भनेर सहयोगको अपिल गरिदिएपछि कोभ्याक्सको खोप पनि चाँडै आउँछ कि भन्ने हाम्रो आशा हो।’

नेपालमा कोरोना संकट कति गहिरो?  

‘हामी अझै संक्रमणको एकदमै उच्च विन्दुमै छौं। केही साता हाम्रा लागि अझै सुखद छैनन्’ मन्त्रालयका सहप्रवक्त्ता डा. समीरकुमार अधिकारी भन्छन् ‘संक्रमणको यो उच्च गति अझै केही समय रहन्छ भन्ने हो।’

बितेको सातामात्रै नेपालमा लगभग नौ हजार चार सय भन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २२५ जना संक्रमितको मृत्यु भएको थियो।

केही दिनयता संक्रमितको संख्या लगातार ८ हजार नाघिरहेको छ भने मृतकको संख्या २ सयकै हाराहारीमा छ।

शनिबार पनि थप १८७ जना संक्रमितको मृत्यु भएको छ भने ८१६७ जना संक्रमित थपिएका छन्। तर निको हुनेको संख्या भने केही बढेको छ। शनिबारमात्रै ५ हजार ४५५ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

‘संक्रमणको यो बिन्दुसम्म जानसक्छ भनेर हामीले पहिला नै आंकलन गरिसकेका थियौं’ अधिकारी भन्छन् ‘त्यसैले हामीले दाताहरूलाई पहिला पनि सहयोगको अपिल गरेका थियौं।’

नेपाललाई कसले के सहयोग गरेको छ?

नेपालले अन्तर्राष्ट्रिय रुपमा सहयोगका अपिल गरेसँगै विश्वभरका धेरै देशहरूले सहायता पठाउन थालेका छन्। चीनले केही दिनअघि ४ सय अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर नेपाल पठाएको थियो। त्यस्तै चिनियाँ सिमेन्ट कम्पनी होङ्सीले पनि १७० वटा अक्सिजन कन्सेन्ट्रेटर दिएको थियो।

त्यस्तै अमेरिकाले अक्सिजन उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीलगायत करिब ३६ करोड बराबरको स्वास्थ्य सामग्री दिएको छ।

विदेशमा बस्ने नेपालीले खरिद गरेको ६ सय अक्सिजनका सिलिन्डरलगायतका स्वास्थ्य सामग्री पनि आइतबारसम्म नेपाल आइपुग्नेछ।

चीनले दिने भनेको स्वास्थ्य सामग्रीहरू पनि केही दिनमै नेपाल आइपुग्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।

नेपालस्थित संयुक्त्त राष्ट्रसंघका आवासीय प्रतिनिधि सारा बेय्सोलो न्यान्तिले पनि नेपालमा तत्काल कोरोना खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेकी छिन्।

‘धनी राष्ट्रका बालबालिकाभन्दा पहिला गरिब राष्ट्रका नागरिकलाई खोप आवश्यक छ’ भन्ने विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससको भनाइमा प्रतिक्रिया दिँदै उनले भनेकी छिन् – ‘के यो कुरा विश्वले सुनिरहेको छ? विश्वमा सबैभन्दा धेरै संक्रमितको आंकडा पनि बोलिरहेको छ, तत्काल नेपालमा भ्याक्सिन पठाउ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय