
भारतका विभिन्न मिडियाले पछिल्ला केही दिनमा गरेको स्वतन्त्र खोजबाट देखिएअनुसार उत्तरप्रदेशका विभिन्न जिल्लामा २ हजारभन्दा बढी शव गंगा नदीको किनारमा हतार–हतार गाडिएका छन् वा त्यसै छाडिएका छन्। केही दिनअघि विहारको वुक्सार जिल्लाका अधिकारीहरुले सीमावर्ती उत्तरप्रदेशका गाउँबाट कम्तिमा ७१ वटा शव नदी किनारमा छाडिंदा पानीको भेलले बगाएर आफ्नो क्षेत्रमा ल्याइपुर्याएको जानकारी दिएका थिए।
यस्तै खाले दर्दनाक दृश्यहरु गाजियावाद, कानपुर, उनाओ, गाजिपुर, कन्नाैज र बालिया क्षेत्रमा पनि देखिएका छन्। यी क्षेत्र महामारीका कारण अति प्रभावितमा पर्छन्। दैनिक भाष्कर पत्रिकाका अनुसार गत सातामात्र उनाओ भन्ने गाउँमा नदी किनारमा लगेर कम्तिमा ९ सय शव गाडिएका थिए। कन्नाैजमा ३ सय ५०, कानपुरमा ४ सय र गाजिपुरमा २ सय ८० वटा शव त्यसैगरी गाडिएको र तिनको कुनै रेकर्ड सरकारी रिपोर्टमा नपरेको उल्लेख छ।
उत्तरप्रदेशका मध्य र उत्तर भूभागमा कोरोनाभाइरसका कारण दैनिक सयौं मानिसको मृत्यु भइरहँदा पनि सरकारी तवरबाट कुनै नियन्त्रणात्मक हस्तक्षेप भएको छैन। द इण्डियन एक्सप्रेसले मृतकका आफन्तसँग कुरा गर्दा उनीहरुले शव जलाउन पैसा नभएको वा विधिपूर्वक सदगद गर्न डर लागेको उल्लेख गरे।
गत साता उनाओमा भारी वर्षा भएपछि भेलले किनार पखाल्दा वालुवामा त्यसै पुरिएका २ सयभन्दा धेरै शव सतह बाहिर देखिन पुगे। गाजियावादको गेमर घाटमा ५ थान अलपत्र शव भेटिए। नदीका ठाउँ-ठाउँमा शव त्यतिकै तैरेको पनि देखिन्छ।

‘हामीले यस्तो त कहिल्यै पनि देखेनौं। कति लास त डुंगामा गएर तानेर पनि ल्यायौं। लास भेटिएका ठाउँ पूरै गन्हाउँछ। मैले यहाँ मात्र ८० वटा शव देखिसकें,’ गेमर घाटमा सदगतकाे काम गर्ने मजदूर कमला देवी डोम भन्छिन्।
हिन्दुस्तान टाइम्सका अनुसार उनाओ, वालिया र गाजिपुरमा दर्जनौं खुला चिहान भेटिएका छन्। ‘केन्द्रीय सरकार र राष्ट्रिय मानव अधिकार आयोगले यसबारे गंभीर कदम चाल्नुपर्ने देखिन्छ,’ उक्त पत्रिकाको रिपोर्टमा उल्लेख छ।
‘यहाँ मानिसहरुको देहान्तपछि नदी किनारमा जलाउने संस्कृति छ, तर यति धेरै शव त म कल्पना पनि गर्न सक्दिन,’ कन्नाैजका स्थानीय अजय दिप सिं वैस भन्छन्।
स्थानीय अधिकारीहरुले शुक्रबारसम्मको अवस्थामा नदी किनारबाट ती शवहरु उठाएर व्यवस्थापन गर्न हम्मे परेको थियो। आदित्य नाथ नेतृत्वको विजेपीको राज्य सरकारले राज्य विपद रेस्पोन्स फोर्स र जल प्रहरीलाई यसका लागि खटाएको छ।
उनाओ जिल्लाका मेजिस्टेट रविन्द्र कुमारले स्थानीय जनतालाई शव जलाउनका लागि मनाउन खोजिरहेको बताए। तर, यसमा समस्या खर्चवर्चको पनि छ। संक्रमणले मृत्युदर बढ्दै गएपछि जलाउने खर्च पनि महंगिदै गएको छ। एउटा शव जलाउन पहिले ३ हजार भारु लाग्नेमा अहिले १० हजार नाघेको छ।
‘मसँग दाउरा किन्ने पैसा कसरी होस, पुरेतलाई के दिनु?’ हालै मात्र आफ्ना ८७ वर्षीय पिताको शवलाई नदी किनारमा पुरेका मोटु कश्यपले भने।
शुक्रबारको वर्षाले कोभिड चिहानहरुलाई उधिनेपछि स्थानीयवासी भयभित भएका छन्। उनाओको भाष्कर घाटमा मानिसहरु जसरी हुन्छ आफन्तको शव चाँडोभन्दा चाँडो जलाएर फर्कने अत्यासमा देखिन्छन्। उनीहरु राम्रोसँग क्रियाकर्म गर्नपट्टि लाग्दैनन्, सक्दैनन। ‘राज्यले यति त हेरिदियोस,’ एक स्थानीयले भने।
प्रहरीले चाहिं कसैले पनि शव नदीमा नफालोस भनेर किनारैकिनार गस्ती समेत गरिरहेको देखिन्छ।
(द वायरबाट साभार)