वीर अस्पतालमा १७० बेड तयार, अक्सिजन अभाव भएपछि नयाँ भवन सञ्चालनमा आएन

वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन।

अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनकाे  दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको छ।

तर, कोभिडका बिरामीलाई अक्सिजनको व्यवस्था नहुँदा बेड खाली नै रहेका छन्।

सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड—१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ।

अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन्।

अहिले कोरोना संक्रमितले बेड अभावमा ज्यान गुमाउन परेको छ।

बेड अभावमा अस्पतालका चिसो भुईंमा बस्न बाध्य छन्।

नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ।

नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ र बिरामीको अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ ।

‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ तर अक्सिजन नभएपछि त्यतिकै रोकिएको छ,’ उनले भनिन,‘अहिले सङ्क्रमितलाई अक्सिजन चाहिन्छ। त्यसैले अक्सिजनबिना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन।’

 

सुरूमा एक सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो तर त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक भएकाले बिरामी राख्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ।

‘हामीले बेड तयार गरिसकेका छौँ । अक्सिजन पाइप फिटिङ भइसकेको छ,’ डा. सापकोटाले भनिन्, ‘हामीसँग अभाव भनेको अक्सिजन हो। यदि त्यो व्यवस्था गर्न सकेको अवस्थामा हामी तत्काल बिरामी राख्न सक्छौं।’

उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय