कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्।आफ्नो पालो कुरेर बसिरहेको बेला दुईटा स्ट्रेचरमा राखिएको दुई शव उनले देखिन्।

गान्धीनगरस्थित त्यो अस्पतालका कर्मचारीले मृतक दुबै कोरोना संक्रमित भएको बताएका थिए।

आमा र छोरी दुबैजना घर फर्किए। उनले आफ्ना श्रीमान राजेश पाठकलाई अस्पतालमा देखेको दृष्यबारे बताइन्।

‘सन्देश’ अखबारका स्थानीय संस्करणका सम्पादक राजेशले त्यही दिन आफ्ना संवाददाताहरूलाई बोलाए। र, कोरोना संक्रमित मृतकबारे खोजबिन गर्ने निधो गरे।

अखबारका संवाददाताहरूको टिम

राजेश भन्छन्, ‘त्यति बेलासम्म गुजरात सरकारको सरकारी आँकडाअनुसार गान्धीनगरमा कोरोनाका कारण एकजनाको पनि ज्यान गएको थिएन।’

त्यो दिनसम्म पूरा गुजरात राज्यमा कोरोनाका कारण आधिकारिक आँकडाअनुसार केवल ९ जनाको मृत्यु भएको थियो।

भोलिपल्ट अखबारका संवाददाताहरूको एक टिमले राज्यका सात सहरमा कोरोना संक्रमित बिरामीहरूको उपचार गरिरहेको अस्पतालमा फोन गर्न सुरू गरे। ती सात सहर थियो अहमदाबाद, सुरत, राजकोट, गान्धीनगर, जामनगर र भावनगर।

त्यो टिमले मृतकको आँकडामाथि नजर राख्न सुरू ग¥यो। त्यस दिनदेखि ९८ वर्ष पुरानो अखबारले कोरोनाका कारण हरेकदिन ज्यान गुमाउनेहरूको आँकडा प्रकाशित गर्न सुरू गर्‌यो। ‘सन्देश’ अखबारले जुन आँकडा दिइरहेको थियो त्यो सरकारी आँकडाभन्दा कैयौं गुणा बढि थियो।

राजेश भन्छन्, ‘अस्पतालमा हाम्रा स्रोत छन्। र, सरकारले हाम्रो कुनैपनि रिपोर्टलाई अहिलेसम्म गलत सावित गर्न सकेको छैन। तर, यसका बाबजुद हामी समाचारलाई राम्ररी पुष्टि गरिरहेका हुन्छौं।’

मृत्युको आँकडा
त्यसैले अखबारले पुरानै शैली ‘ग्राउन्ड रिपोर्टिङ’मा जाने निर्णय गर्‌यो।

११ अप्रिलको साँझ अखबारका दुई रिपोर्टर र एक फोटोग्राफर अहमदाबादस्थित १२ सय बेड भएको कोभिड अस्पतालको शवगृहतर्फ लागे। त्यहाँ उनीहरू १७ घण्टा बसेका थिए।

शवगृहको एउटा ढोकाबाट १७ घण्टामा ६९ शव बाहिर ल्याइएको थियो। र, एम्बुलेन्समा राखेर लगिँदै थियो।

भोलिपल्ट गुजरात सरकारले ५५ जनाको मृत्यु भएको आधिकारिक जानकारी गराएको थियो। त्यसमा अहमदावादका २० जना रहेको भनिएको थियो।

१६ अप्रिलका राति ती पत्रकाहरू १५० किलोमिटर गाडी हाँकेर अहमदाबाद वरिपरिका २१ शवदाहस्थल पुगे। त्यहाँ उनीहरूले जलाउनका लागि ल्याइएका शवको आँकडा लिए। त्यसका लागि उनीहरूले रजिस्ट्रर हेर्नुका साथै शवदाह स्थलका कर्मचारीहरूसँग कुरा गरेका थिए। मृत्युको कारण खुलाइएको दस्तावेजको तस्बिर र भिडियो पनि उनीहरूले खिचेका थिए।

कडा प्रोटोकल
अधिकांशको मृत्युको कारण ‘बिमारी’ बताइएको शवलाई ‘कडा प्रोटोकल’ मा त्यहाँ ल्याइएको थियो।

त्यो राति पत्रकाहरूको टिमले दुई सय शव गनेका थिए। तर, अघिल्लो दिन सरकारी आँकडाका अनुसार अहमदाबादमा केबल २५ जनाको मृत्यु भएको थियो।

‘सन्देश’ अखबारका निडर पत्रकारहरूले पूरा अप्रिलभरि सात सहरमा कडा मिहिनेतले कोरोनाका कारण मृत्यु हुनेको आँकडा संकलन गरिरहे।

२१ अप्रिलका दिन उनीहरूले ७५३ जनाको मृत्यु भएको जानकारी दिए। गुजरातमा एकदिनमा मृत्यु हुनेको यो सबैभन्दा बढी संख्या थियो।
यसबाहेक उनीहरूले अन्य स्थानहरूमा पाँच सयभन्दा बढी मानिसको ज्यान गएको जानकारीसमेत जुटाए।

५ मेका दिन अखबारको रिपोर्टअनुसार वडोदरामा ८३ जनाको ज्यान गएको थियो। जबकि सरकारी आँकडाले मात्रै १३ जना भनिरहेको थियो।

अखबारमा मृतकलाई शोक सन्देशको बाढी

मृतकको संख्या कम गरेर बताउने आरोपलाई गुजरात सरकारले खण्डन गरेको छ। केन्द्र सरकारले दिएको निर्देशन पालन गरिरहेको गुजरात सरकारको भनाइ छ। तर, अन्य अखबारको रिपोर्टले पनि मृतकको संख्या कम गरेर सरकारले जानकारी गराइरहेको आरोप लगाइरहेको छ।

अंग्रेजी अखबार ‘हिन्दु’ले आफ्नो एक रिपोर्टमा १६ अप्रिलमा कोभिड मापदण्डअनसार गुजराजतको सात सहरमा ६८९ जनाको शव दाह गरिएको बताएको थियो। जबकि सरकारी आँकडाअनुसार त्यो दिन पूरा राज्यमा कोरोनाका कारण ९४ जनाको मृत्यु भएको थियो।

गुजरातमा पछिल्लो महिना कोरोनाका कारण मृत्यु हुनेको संख्या सरकारी आँकडाभन्दा दशगुणा बढी रहेको कतिपय विशेषज्ञहरूले बताएका छन्।

एकतर्फ महामारीका कारण मानिस अन्तिम संस्कारका परम्पराबाट टाढा बसेर दूरी बनाइरहेका छन्। अर्कोतर्फ अखबारमा मृतकलाई शोक सन्देश दिने बाढी नै आएको थियो।

स्थानीय अखबार ‘गुजरात समाचार’ को रिपोर्टअनुसार शनिबार भरुच जिल्लाको समसानमा जति शव जलाइएको थियो त्यो मृत्युको आँकडासँग मेल खाएको थिएन।

गुजरात हाइकोर्टको चेतावनी
गुजरातमा अहिलेसम्म आधिकारिक आँकडाअनुसार ६८ लाख मानिस कोरोना संक्रमित भएका छन्। जसमध्ये ८ हजार ५ सय मानिसको मृत्यु भएको छ।

महामारीका कारण नराम्ररी प्रभावित कतिपय सहरमा संक्रमण र मृत्युको आँकडालाई कम गरेर जानकारी दिने गरिएको तथ्य बाहिर आएको छ।

यहाँसम्म कि गुजरात हाइकोर्टले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दलद्वारा सञ्चालित राज्य सरकारलाई यसका लागि चेतावनी दिएको छ।

हाइकोर्ट बेन्चले भनेको छ, ‘वास्तविक आँकडा लुकाएर राज्यले केही पाउनेवाला छैन। वास्तविक तथ्य लुकाएर वा दबाएर झनै गम्भीर समस्या आउने छ। मानिस डराउने छन्, उनीहरूको भरोसा कमजोर हुन्छ। र, जनता बेचैन हुनेछन्।’

बिबिसीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय