संक्रमितको शव व्यवस्थापनमा खटिएका दुई युवतीको कथा

हेल्थपोस्ट नेपाल
केटीहरुले मरेको मान्छेलाई हेर्न घाटमासमेत जान हुँदैन भन्ने मान्यता छ, नेवारी समुदायमा। तर, भक्तपुरका दुई युवतीहरु भने कोरोना संक्रमित भएर मृत्यु भएकाहरुको शव व्यवस्थापन काम गरिरहेका छन्।भक्तपुरमा कोरोनाबाट मृत्यु भएको व्यक्तिहरुको शव पिपिई लगाएर र्‍यापिङ गर्ने काम गर्छन २१ वर्षीया जिया जोशी र २४ वर्षीया पुनम कर्माचार्य। उनीहरु भक्तपुर अस्पतालमा २४ सै घन्टा सेवाका लागि बसेका हुन्छन।

केटी भनेपछि लास देख्नेवित्तिकै डराउने, रुने, कमजोर हुन्छन् भन्ने सोचलाई बदल्ने काम गरिरहेका छन् उनीहरु। जिया र पुनम आरएनए-१६ का सदस्यहरु हुन्। अघिल्ला वर्ष पनि यसरी नै निस्वार्थ सेवामा लागेकी थिइन् पुनम।

 

पुनम भन्छिन्, ‘अहिले दिनदिनै संक्रमितको मृत्यु बढेपछि हामी शव व्यवस्थापनमा लागेका हौं।’ एकजनाको शव व्यवस्थापन गर्न लगभग आधा घन्टा लाग्ने उनी सुनाउँछिन्। अहिलेको अवस्था जटिल भएकाले सबैलाई जसरी सकिन्छ सहयोग गर्नुपर्ने उनी बताउँछिन्।

‘उसले यो गर्‍यो, त्यो गर्‍यो भनेर कुरा काट्ने समय होइन। त्यही भएर पनि होला शव व्यवस्थापनमा लाग्दा सबैले सकारात्मक दृष्टिकोणले हेर्छन्।’, पुनम भन्छिन्।

जिया र पुनम स्वेक्षाले समाजिक सेवामा लागिपरेको सुनाउँछन्। उनीहरु नि:स्वार्थ अनि निःशुल्क काम गरिरहेका छन्। भक्तपुरमा मात्र दिनको ७/८ संक्रमितले ज्यान गुमाउन थालेपछि शव व्यवस्थापनको काममा लाग्ने निर्णय गरेको उनीहरु सुनाउँछन्।

कोरोनाको पहिलो लहरदेखि नै जनचेतनामूलक काममा उनीहरु संलग्न थिए। यतिमात्रै होइन्, उनीहरु संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएका छन्।

आरएनए-१६ को टिमले नै भक्तपुरमा शव व्यवस्थापनको काम गरिरहेको पुनम बताउँछिन्। ‘खासमा शव व्यवस्थापनको काम मेडिकल सम्बन्धी ज्ञान भएका स्वास्थ्यकर्मीहरुले नै गर्नुपर्ने हो। तर, अहिले स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा नै व्यस्त छन्। त्यसैले हामी लागिपरेका हौं।’, पुनम भन्छिन्।

‘अहिलेसम्म मैले सातजना संक्रमितको शव व्यवस्थान गरिसकेँ’, उनले भनिन्, ‘डर भन्दा पनि गर्नुपर्छ भनेर गरेका हौं। हामीले नगरे कसले गर्ने?,’ उनले भनिन।

अहिले भक्तपुर केन्द्रित भएर काम गरिरहेका उनीहरुले कहीँ समस्या भए जहाँ पनि सेवा दिन तत्पर रहेको बताउँछन्।

जियाले भने दुई संक्रमितको शव व्यवस्थापन गरेकी छिन्। शव व्यवस्थापन गर्न कमसेकम दुईजना लाग्ने उनी बताउँछिन्। दोस्रो लहरमा आरएनए-१६ टिमका संयोजकले ५६ जनाको शव व्यवस्थापन गरिसकेको उनी सुनाउँछिन्।

‘अहिले भक्तपुरको शव व्यवस्थापनको काम हामीले आर्मीहरुको समन्वयमा गरिरहेका छौं’, उनले भनिन्। उनले अहिले टिममा सक्रिय भएर ११ जना लागिपरेका बताइन्। जसमा चारजना युवती रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *