चैत २५ पछि संक्रमण भएका र हाल लक्षण देखिएकालाई खोपको दोस्रो डोज नदिइने

 

चैत २५ पछि कोभिडविरुद्धको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेल खोपको दोस्रो मात्रा नदिइने भएको छ।

आगामी जेठ २ गतेदेखि सुरु हुने भेरोसेल खोपको दोस्रो मात्रा उक्त अवस्थाकालाई नदिइने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

जनस्वास्थ्य विभागले आज वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै अहिलेको भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र भएको बताएको छ।

यसैगरी परीक्षण गरेर एकिन नभएका तर, कोभिडको लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइने छैन। विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्लो निकायको निर्देशन बमोजिम हामी खोप सञ्चालन गर्छौं। यसबीच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौं।’

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने खोप अभियान सञ्चालन गर्न महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ। खोप केन्द्रमा कम्तीमा दुईजना खोपकर्ता र एकजना खोपकर्ता बराबर ३ जना स्वयंसेवक परिचालन हुनेछन्।

पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ। तोकिएका व्यक्तिले तोकिएको दिनमा आफू नजिकको खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन्।

विभागले क्लिनिक इञ्जार्चहरुलाई व्यवस्थापनका लागि अनुरोध गरेको छ। खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो। यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिक छन्।

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ। जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दोस्रो खोप दिइनेछ। यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, २०७७ चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ।

वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ। यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय