जनताकाे ‘सास’ मा ओली सरकारकाे कोटा

 

अक्सिजन सकिएपछि बुधबार रातभरि काठमाडौंको ट्रमा सेन्टरमा संक्रमित र आफन्तको रुवाबासी चल्यो। अस्पतालका कर्मचारीहरूले सकेजति सबै ठाउँमा फोन घुमाए तर केही उपाय लागेन।

बिहीबार दिनभरि पनि बिरामीका आफन्तहरू अक्सिजन जुटाउन दौडधुप गरिरहे। बल्ल तल्ल जोहो भएका केही थान अक्सिजन सिलिन्डर पनि खोसाखोस हुन थाल्यो।

खाली सिलिन्डर लिएर कोही उद्योगतिर दौडिन थाले। तर, बालाजु औद्योगिक क्षेत्रमा रहेका अक्सिजन उद्योगमात्रै होइन, काठमाडौं उपत्यकामा रहेका सबैजसो उद्योगमा अहिले अक्सिजन भर्नेहरूको भीड थामिनसक्नु छ।

बुधबार बिहानै एउटा उद्योगमा सिलिन्डर भर्न गएको शंकरापुर अस्पतालको गाडी बिहीबार बिहान ३ बजेतिर १० वटामात्रै सिलिन्डर लिएर आइपुग्यो।

‘बिरामीहरूलाई सासै फेर्न गाह्रो भइसकेको थियो। धन्य, १० वटा पनि आयो,’ अस्पतालका प्रमुख डा. रमेश ढकालले भने, ‘अब हामीसँग तीन घन्टासम्म मात्रै धान्न सक्ने अक्सिजन छ। यो बीचमा पाइएन भने अस्पतालमा रहेका ५० जना बिरामीको ज्यान जोखिममा छ।’

सबै तस्बिरहरू दिनेश गाेले/हेल्थपोस्ट

बुधबारदेखि अहिलेसम्मै उनले सिडिओ, मेयर, सिसिएमसी सबैतिर फोन लगाइरहेका छन्। सबैले ‘हुन्छ हुन्छ’ भन्छन्, तर अहिलेसम्म अक्सिजन पाउन सकेका छैनन्।

भक्त्तपुरका सबैजसो अस्पतालले अक्सिजन नभएको र अब नयाँ संक्रमितलाई भर्ना लिन नसक्ने भन्दै हात उठाइसकेका छन्।

केही दिनअघि नेपाल मेडिकल कलेजले आफ्ना शिक्षण अस्पतालमा भएका सबै बिरामी अन्तै सार्न भन्यो, कारण त्यहाँ अक्सिजन थिएन।

हुँदाहुँदा अस्पतालहरूले अब बिरामी भर्ना गर्दा पनि पहिला बिरामी आफैंले अक्सिजनको जोहो गरेपछि भर्ना लिन थालेका छन्।

र, त्योभन्दा पनि अझ ‘अक्सिजन अभावमा बिरामी मरेपछि त्यसको जिम्मेवार अस्पताल हुनेछैन’ भनेर तमसुक गराउनुपर्ने क्रुर अवस्थामा अस्पतालहरू पुगिसकेका छन्।

‘सास’ मा सरकारी कोटा

ट्रमा सेन्टरका अनुसार त्यहाँ दैनिकजसो ४ सय ५० भन्दा बढी सिलिन्डर आवश्यक पर्छ। तर, सरकारले यो अस्पतालका लागि जम्मा १ सय ५० सिलिन्डर मात्रै तोकिदिएको छ।

अक्सिजन कुन समयमा कति चाहिन्छ भन्ने केही ठेगान हुँदैन। कोटाले तोकिएजस्तो अक्सिजन नपुग्न पनि सक्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मेवारी सिसिएमसीले लिएको छ।

सिसिएमसीले पनि अक्सिजनका लागि छुट्टै ‘टास्क फोर्स’ बनाएको छ। त्यसमा अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयका सहसचिवहरू छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डाक्टरहरूलाई प्रतिनिधि राखिएको छ।

यो टास्क फोर्सले छाउनीबाट कार्यसञ्चालन गरिरहेको छ।

‘कोटाअनुसार पनि अक्सिजन पाउन मुस्किल छ। यो कोटा किन र कसरी तोकियो भन्ने कुरा नै तर्कसंगत छैन,’ डा. ढकालले भने, ‘हामी अब अक्सिजनको कोटा थाप्न जानु कि अक्सिजन भर्नका लागि उद्योगमा लाइन लाग्न जानु?’

सरकारले उपत्यकाका ७४ वटा अस्पतालका लागि दैनिक जम्मा ४ हजार ३ सय ११ सिलिन्डरको कोटा तोकिदिएको छ। त्यो पनि सिसिएमसीको अनुमति चाहिन्छ।

तर, नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार उपत्यकामा भएका आठ उद्योगले दैनिक साढे ८ हजार सिलिन्डर भर्दा पनि मागअनुसार पुगिरहेको छैन।

त्योमध्य सबैभन्दा धेरै वीर अस्पतालका लागि ३ सय सिलिन्डर छ।

‘कसैले पाउने अनि कसैले नपाउने नहोस् भनेर सरकारले कोटा सिष्टम बनाएको होला,’ वीर अस्पतालका कार्यकारी निर्देशक डा. शान्ता सापकोटा भन्छिन्, ‘तर, पनि कोटाअनुसार अस्पतालले अक्सिजन पाएको छैन। अक्सिजनकै अभावमा नयाँ सर्जिकल भवनमा राख्ने भनिएका बिरामी हामीले राख्न सकेका छैनौं। यो भवनमा ३ सय बेड तयारी अवस्थामा छ। तर, अक्सिजन छैन।’

उपत्यकामै दैनिक ४ हजारभन्दा धेरै संक्रमित थपिइरहेका हुन्छन्। बिहीबारमात्रै उपत्यकामा ३ हजार ५ सय ६२ संक्रमित थपिएका छन्।

अस्पतालमात्रै होइन घरमै बसिरहेका संक्रमितले पनि अक्सिजन प्रयोग गरिरहेका हुन्छन्।

पाटन अस्पतालका लागि मन्त्रालयले दैनिक २ सय सिलिन्डर अक्सिजनको कोटा दिएको छ।

तर, अस्पतालका निर्देशक डा. रवि शाक्य भन्छन्, ‘हाम्रो अस्पतालको आवश्यकता ५ सयभन्दा धेरै छ। अहिले सरकारले २ सय सिलिन्डर पनि मुस्किलले दिएको छ। त्यो पनि समयमा भर्नै मुस्किल छ।’

उनका अनुसार यो अस्पतालमा भएको एउटा अक्सिजन प्लान्ट बिग्रिएको छ।

‘बिरामीलाई अक्सिजन पुर्‍याउनै हम्मेहम्मे छ। बिरामी आफैंले व्यवस्था पनि गरिरहनुभएको छ। तर, हामीले त्यस्तो भनेका छैनौं,’ उनले भने, ‘बिरामी राख्ने क्षमता छ तर अक्सिजन छैन अनि हामीले कममात्रै बिरामी लिएका छौं।’

चाहिन्छ तुरुन्तै, अड्काउँछ सरकारी कागजले

त्यसैमाथि अक्सिजन किनबेचका लागि पनि स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने गरी सरकारले अर्को ‘कागजी’ झन्झट थपिदिएको छ।

तत्कालै पूरा गर्नुपर्ने यस्ता आवश्यकताहरूमा सरकारका अनेकन झन्झटले समस्या थपिरहेका हुन्छन्। आपतको यो घडीमा सरकारी प्रक्रियाहरू एकदमै झन्झटिला र लामो समय लाग्नेछन्।

‘वर्तमानको खरिद प्रक्रियाले महामारीमा अत्यावश्यक सामान खरिदमा समस्या परेको छ,’ बिहीबार पत्रकार महासंघ दाङले सांसदहरूसँग गरेको एउटा भर्चुअल संवादमा तुलसीपुर उपमहानगरपालिका  प्रमुख घनश्याम पाण्डेले भने, ‘अब सार्वजनिक खरिदसम्बन्धी ऐन-नियम परिवर्तन गर्नुपर्ने आवश्यकता छ। यसका लागि माननीयज्यूहरूले पहल गरिदिनुपर्‍यो।’

पाण्डेले बुधबारमात्रै उपमहानगरका सबै वडाहरूमा पाँच-पाँचवटा अक्सिजन सिलिन्डर तथा कम्तिमा दुईवटाजति अक्सिजन कन्स्ट्रेटरहरू राख्ने भनेर निर्णय गरेका छन्। त्यस्तै उपमहानगरमै रहेको तुलसीपुर कोरोना आइसोलेसन हस्पिटलमा कम्तिमा १ सय अक्सिजन सिलिन्डर, २५ अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने र पिसिआर जाँच प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका छन्।

यो तत्कालै पूरा गरिहाल्नुपर्ने आवश्यकता हो। तर, यसका प्रक्रिया निकै झन्झटिला छन्। अहिले बिनाटेन्डर १ लाखसम्म मात्रै खर्च गर्न पाउने अधिकार छ।

‘यही तालले त यो सबै गर्न हामीलाई ६ महिनाभन्दा धेरै समय लाग्छ,’ उनले भने, ‘त्यसैले यस्तो आपतकालीन अवस्थामा छिटो र सजिलो हुने बाटो बनाइदिनुपर्‍यो भन्ने मैले अनुरोध गरेको हुँ।’

१५ दिनमै अक्सिजन प्लान्ट सरकारको ‘हावादारी’ आदेश

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले मन्त्रिपरिषदको एउटा निर्णयअनुसार आदेश दिए- ‘सय बेडदेखि ठूला सबै अस्पतालहरूले १५ दिनभित्र अक्सिजन प्लान्ट जोडिसक्नू। त्यसका लागि सरकारले भन्सार छुट दिनेछ।’

तर, निजी अस्पताल सञ्चालकहरूको साझा संगठन (अफिन) का अध्यक्ष बसन्त चौधरीले भने, ‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन। विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि तीन महिना नभई प्लान्ट तयार गरिदिने अवस्था रहँदैन। प्लान्ट भित्रिएपछि जड़ान गर्न कम्तिमा १५ दिन लाग्ने हुन्छ।’

यो आदेश निजी तथा सरकारी सबै अस्पतालहरूमा लागू हुने गरी सरकारले जारी गरेको हो। प्लान्ट जडानका लागि रकम पनि अस्पताल आफैंले जोहो गर्नुपर्ने हुन्छ।

‘सय शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तिमा पनि २ करोड पर्छ। त्यसको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ। वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्,’ अध्यक्ष चौधरीले बिहीबार एउटा विज्ञप्ति निकालेर भनेका छन्, ‘यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो भन्ने हामीले ठानेका छौं।’

नेपालगन्जका ‘एचओ’ अक्सिजन उद्योगका एक सञ्चालक दीपक केसी भन्छन्, ‘त्यस्तो प्लान्टका सबै सरसामान भारतबाटै ल्याउनुपर्छ। यस्तो अवस्थामा कसरी ल्याउनु? सामानहरू ल्याए पनि त्यसलाई जोड्न कम्तिमा दुईदेखि तीन महिना लाग्छ।’

नेपालमा अक्सिजन अभाव किन र कस्तो हो?

अक्सिजन नपाएर प्राण त्यागेका संक्रमितका कथाहरू सञ्चारमाध्यका ‘हेडलाइन’ बनिरहेका छन्।

अक्सिजनका लागि संक्रमितका आफन्तले गरिरहेका चरम संघर्षका कहानीहरू मिडियाले खोतलिरहेका छन्।

संक्रमणको दोस्रो लहरमा संक्रमितलाई अक्सिजनको आवश्यकता अत्यधिक छ।

‘यो लहरमा फैलिएको भेरिएन्टमा भाइरस एकदमै घातक बनेर आएको छ,’ फोक्सो रोग विशेषज्ञ डा. सुभाष योगी भन्छन्, ‘यसले (स्वासप्रश्वास) फोक्सोको सिष्टममा आक्रमण गर्छ र नलीहरू साँघुरा बनाइदिन्छ। बिस्तारै फोक्सो पनि खराब हुँदै जान्छ। अनि, अक्सिजनको कमी हुने गरेको छ।’

उनका अनुसार त्यसैमा पनि नियोनिया थपियो भने स्वास प्रणालीमा अझ अप्ठ्यारो अवस्था सिर्जना हुन्छ।

‘खासमा शरीरमा भाइरस प्रवेश हुनासाथ निमोनिया हुने होइन। भाइरससँग लड्नका लागि शरीरले इम्युनिटी पावर उत्पादन गरिरहेको हुन्छ। त्यही संघर्षका बीचमा निमोनिया जाग्न सक्छ,’ उनले भने, ‘अनि, सास फेर्न झन् गाह्रो हुन्छ र अक्सिजन आवश्यकता पर्छ।’

उनका अनुसार अहिले अस्पताल भर्ना भएका करिब ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक छ।

त्यसमा पनि घरमा बसिरहेका संक्रमितले पनि अक्सिजन प्रयोग गरिरहेका हुन्छन। तर, घरमै बसेका संक्रमितहरूको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य संस्थाहरू नियमित जानकार नहुँदा अन्तिम अवस्थामा अस्पताल नै पुग्नुपर्छ। अस्पताललाई त्यसको भार त छँदैछ त्यसमा पनि अक्सिजनको आवश्यकता अर्को समस्या बनिदिन्छ।

‘घरमै बसेका संक्रमितलाई पनि चिकित्सकको निगरानी एकदमै आवश्यक हुन्छ। उहाँहरूले आफैं अक्सिजन लगाउने हुनाले पनि कहिलेकाहीँ स्वास्थ्यमा झन असर पर्नसक्छ। अक्सिमिटरले क्षण-क्षणमा जाँचिरहँदा एक-दुई प्वाइन्ट तलमाथि भइरहन्छ यस्तो अवस्थामा उहाँहरू आत्तिने हुनसक्छ,’ डा. योगी भन्छन्, ‘अक्सिजन लगाएर मात्रै हुँदैन। कसरी लगाउने भन्ने कुरा पनि जान्नुपर्छ। नियमित छातीको एक्सरे गर्नुपर्छ। जथाभावी अक्सिजन लगाएर झन उल्टो असर पर्नसक्छ।’

काठमाडौं उपत्यकामा अहिले आठवटा अक्सिजन उद्योग सञ्चलनमा छन्। र, उपत्यका बाहिर देशभर अरू १६ वटा साना-ठूला प्लान्ट छन्। देशभरिका यी उद्योगले मुस्किलले १७ हजार सिलिन्डरमात्रै भर्न सक्छन्। त्यो पनि उद्योग चौबिसै घन्टा सञ्चालन गरिरहनुपर्छ। तर, विद्युत आपूर्तिले त्यसैमाथि अर्को समस्या थपिदिन्छ।

‘अब त हामी नै हैरानै भइसक्यौं। सरकारले एउटा कोटा दिएको हुन्छ, अस्पतालबाट माग बढी आउँछ,’ नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडा भन्छन्, ‘अस्पतालहरूसँग झगडा नै हुन्छ। तर, पनि हामीले अक्सिजन त भर्नैपर्छ। अस्पतालमा बिरामी छटपटाइरहेका हुन्छन्।’

अहिले देशभरि २५ देखि ३० हजारसम्म सिलिन्डर छन्। पछिल्लो समय थप ९० हजारजति आयात भएको छ।

त्यो पनि भरेर पठाएका सिलिन्डर मानिसले फिर्ता दिएका छैनन्। र, अस्पतालबाहेक उद्योग, कलकारखानाहरूमा प्रयोग हुने अक्सिजन सिलिन्डरहरू पनि उद्योगमा फिर्ता आएका छैनन्।

यो अभाव टार्नका लागि स्थानीय जिल्ला प्रशासन कार्यालयले नियमित सिलिन्डर संकलन अभियान चलाइरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय