सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

हेल्थपोस्ट नेपाल

 कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको हो।

अक्सिजन उत्पादकहरुले सिसिएमसीले अस्पतालहरुमा अक्सिजन आपूर्ति गराउन दिएको निर्देशन पूर्ण रुपमा पालना नगरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिएका छन्।

भट्टका अनुसार अक्सिजन उत्पादकहरुले २४ घण्टै अक्सिजन उत्पादन गरिरहेका छन्। तर उद्योगहरुले पहिलेदेखि नै अन्य अस्पतालहरुलाई नियमित अक्सिजन दिने सम्झौता गरेका कारण सिसिएमसीले तोकेअनुसार अस्पतालहरुमा आपूर्ति गर्न नसकेका हुन्।

अक्सिजन सिलिण्डरहरु पनि अस्पतालहरुमै अड्किएका कारण अन्य अस्पताललाई चाँहिदो मात्रामा आपूर्ति गर्न नसकेको उत्पादकहरुको गुनासो आएको भट्टले बताए।

‘पहिले नै उत्पादकहरुले नियमित अक्सिजन दिने भनेर सम्झौता गरिसकेका कारण उत्पादकहरुले व्यवस्थापन गर्न सकेका छैनन्,’ उनले भने।

सिसिएमसी एक्कासी कोटा निर्धारण गरिदिएका कारण पनि उत्पादकहरुलाई व्यवस्थापनमा अलमल भएको देखिएको उनले बताए।

त्यस्तै हरेक अक्सिजन उत्पादकहरुसँग व्यक्तिहरु स्वयम सिलिण्डर बोकेर अक्सिजन भर्न आउने गरेकाले पनि समयमै अस्पतालहरुमा चाहिँदो मात्रामा अक्सिजन पुर्‍याउन नसकेको हो। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छलफल भइरहेको उनले बताए।

हिमाल अक्सिजनले दैनिक ५०० र शंकर अक्सिजनले १२०० सिलिण्डर उत्पादन गर्ने गरेका छन्।

‘हामीले अवस्था हेरेर व्यवस्थापन गर्न निर्देशन दिएका छौं। उत्पादकहरुले आफ्नो क्षमता अनुसार नै उत्पादन गरिरहेको छ,’ उनले भने।

अनुगमन टोलीले बिहीबारमात्र दुई वटा प्लान्टहरुमा अनुगमन गरेको थियो भने अन्य प्लान्टहरुमा पनि अनुगमन गर्ने तयारी गरेको छ।

‘हामीले सबै अक्सिजन प्लान्टहरुमा प्रहरी खटाएका छौं। उनीहरुमार्फत् सबै जानकारी तथा आपूर्तिको रेकर्ड तथा डाटाहरु संकलन गर्नेछौं,’ उनले भने। त्यस्तै उत्पादकहरुले विजुली बत्तीमा केही अवरोध नआए दुई चार घण्टाको समय खेर नजाने बताएका छन्।

‘उत्पादनमा समस्या नआओस् भनेर हामीले विजुलीको आपूर्ति सहज गर्न माथिल्लो तहमा भनिसकेका छौं, र विद्युत आपूर्तिमा कमी नआओस भनेर निर्देशन दिएका छौं,’ भट्टले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *