खोप लगाएपनि सुरक्षित रहन किन जरुरी छ?

हेल्थपोस्ट नेपाल

१. लक्षण देखिन थालेपछि भाइरस को संख्या घट्ने क्रम सुरु हुन्छ। यो सँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरस को संख्या मा पनि कमी आउन थाल्छ। तर संक्रमण सर्न सक्ने सम्भावना लक्षण देख्न सकिएको केही दिन सम्म रहन सक्छ।

२. विभिन्न अध्ययनहरुले देखाए अनुसार साधारण लक्षण देखिएको विरामीबाट लक्षण देखिन सुरु गरेको १० दिन पश्चात अरूमा संक्रमण सार्ने गरी भाइरस भेटिएको छैन। गम्भीर लक्षण देखिएका विरामीको हकमा भने संक्रामक भाइरस उत्पादन २० दिनसम्म पाइएको छ। तर इम्युनसिस्टमलाई असर परेको विरामीमा (एचआइभी, अंग प्रयारोपण गरेका, ब्लड क्यान्सर) भने संक्रामक भाइरस भेटिने क्रम २० दिन देखि बढी ५ महिना पछि सम्म पाइएको छ। तसर्थ संक्रमितको र लक्षणको आधारमा आइसोलेशनको अवधि निर्धारण गर्न पर्दछ।

३. संक्रमणमुक्त बिरामीमा केही महिनासम्म पनि न्यून मात्रामा भाइरस को आरएनए देखिने हुँदा पिसिआर नतिजा पोजिटिभ आउँछ। तर माथि भनिए जस्तै संक्रामक भाइरस उत्पादन भने पाइएको छैन।

४. पुनः संक्रमण को दर अत्यन्तै न्यून छ। एकपटक संक्रमित भएका व्यक्तिले फेरि पनि संक्रमित हुने सम्भवना न्यून नै हुन्छ। तर नयाँ नयाँ भेरियन्टको हकमा भने संक्रमण हुने सम्भावना रहन्छ। त्यसैले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कार्य भने गर्न पर्दछ।

५.लक्षण नै नदेखिएका व्यक्तिको हकमा भने पोजिटिभ टेस्ट भएको १० दिन पश्चात संक्रमण मुक्त भएको मान्न सकिन्छ।

६. खोप लगाएका व्यक्तिमा गम्भीर संक्रमण हुने सम्भावना न्यून हुन्छ भने मृत्यु हुने सम्भावना नगन्य भएर जान्छ। तर पूर्ण खोप लगाएको केही समय पश्चात मात्र यस्तो हुन्छ। आंशिक (१ डोज मात्र) लगाएका व्यक्तिमा पनि खोपले काम नगर्ने होइन, संक्रमण र संक्रमणका कारण हुने लक्षण – मृत्युको सम्भावना न्यूनीकरण (तर पूर्ण लगाएका भन्दा थोरै कम) हुन्छ। तर पूर्ण वा आंशिक दुबै खोप लगाएका व्यक्तिमा संक्रमणको सम्भावना भने हुन्छ नै। तसर्थ खोप लगाएको कम्तीमा पनि २ हप्ता सम्म खोप नलगाएका सरह र त्यसपछि पनि मास्क लगाउने अनि सामाजिक दूरी कायम गर्ने कार्य टुटाउन हुँदैन।

भाइरोलोजिष्ट डा.सुदिप खड्काको ट्वीटरबाट साभार



Leave a Reply

Your email address will not be published. Required fields are marked *