जब कलिला जीवन सधैका लागि ढल्छन्, एउटा नर्सको मन कसरी सम्हालिन्छ र?

‘जब एउटा जीवन बचाउँछौ तिमी हिरो हुन्छौ तर, जब सयौं जीवन बचाउँछौ अनिमात्रै नर्स बन्छौ’ नर्सबारेमा लेखिएको यही वाक्य एउटा सिङ्गो नर्सिङ जीवनको सारा परिभाषाका लागि काफी छ।

सारा विश्व यतिबेला कोरोनाविरुद्धको संघर्षमा होमिएको छ।

विश्वव्यापी रुपमा स्वास्थ्य श्रमशक्ति कोरोना संक्रमितको उपचार र हेरचाहमा समर्पित छ।

र, त्यसको अग्रमोर्चामा छन् नर्सहरू। न भोक, न प्यास अनि निन्द्रा।

दिनरात बिरामीको हेरचाहमा व्यस्त छिन् वीर अस्पतालको आइसियूमा वार्डमा कार्यरत मुना पोखरेल।

नेपालमा कोरोना लहर फैलिएसँगै उनी कोभिडका बिरामीलाई बचाउन आफैलाई होमेकी छिन्। बाहिर दुनियामा के छ उनलाई चासो राख्न फुर्सदै छैन, मात्रै बिरामीको अनुहारमा उज्यालो खोजिरहेकी छीन्।

ड्युटी सकेर घर गए पनि उनको मन तिनै बिरामीसँगै हुन्छ।

‘मृत्युसँग पल–पल बिरामी लडिराखेका हुन्छन्। घर गएर बस्दा पनि केही भयो कि भन्ने डरले सताइरहन्छ’ उनी भन्छिन्।

हरबखत संक्रमितको बेड–बेडमा पुग्छिन्।

आइसियूमा छटपटाइरहेका बिरामीलाई देख्दा उनलाई लाग्छ यिनीहरू पनि मेरै परिवारका एक सदस्य हुन्।

कुनै बिरामीको दाँत माझ्दा होस् वा ट्वाइलेट बाथरुम उनी आफै पछ्याउँछिन्।

आइसियूमा रहेका कोरोना संक्रमितको हेरचाह गर्ने पूरै जिम्मेवारी नर्सहरूकै काँधमा छ।

‘बिरामीलाई कपडा लगाइदिने, खाना खुवाउने, दिसा–पिसाब सफा गर्ने सबै काम गर्नुपर्छ,’ पोखरेल भन्छिन्, ‘उहाँहरूलाई देख्दा लाग्छ, आफ्नै परिवारका कुनै सदस्य हुन्।’

कोरोना संक्रमणले यो बालक, यो बृद्ध भनेको छैन। सबैलाई छोएको छ, सबैलाई सताएको छ।

अस्पताल आइसियूमा पुग्दा धेरै मानिसहरू केही नभएको जस्तो देखिन्छ। तर, अक्सिजन लेबल भने धेरै घटेको।

‘कुनबेला के हुन्छ नै थाहा हुँदैन। अस्पताल आउँदा स्वस्थ्य देखिनुहुन्छ। तर, एकैछिनमा गाह्रो बनाइसकेको हुन्छ,’ उनी भन्छिन्।

मुना पोखरेल

उनी र उनको समूहले धेरै बिरामीलाई मृत्युको मुखबाट फर्काएको छ।

अहिले अस्पतालमा सबै आइसियू बेड भरिभाउ छन्।

‘हाँसिरहेको, बोलिरहेको मान्छे एकछिनमा सिकिस्त भइसक्छन्। मलाई बाँच्न रहर छ। छोरा–छोरीसँग बोल्न मन छ भन्दै आँखाबाट आशु निकालिरहनु भएको हुन्छ। त्यो दृश्य देखिरहँदा आफैं भावुक होइन्छ,’ उनी भन्छिन्, ‘तर पनि कतिलाई बचाउन नसकेको पछुतो भइरहन्छ।’

बाहिर कामना गरेर बसिरहेका आफन्तलाई मृत्युको खबर सुनाउन उनीलाई धेरै सकस हुन्छ।

‘हाँसिखुसी कुरा गरिराखेको मान्छेलाई एकैछिनमा गुमाउन पर्दा धेरै भावुक भइन्छ। जति प्रयास गर्दा पनि बचाउन सकिँदैन,’ उनी भावुक हुँदै भन्छिन्, ‘यस्ता दृश्यले मन डराइरहन्छ।’

दैनिकजसो २–३ जना बिरामीले उनकै अघि प्राण त्याग्छन्।

यतातिर यस्ता दृश्य मुटु घोचिरहेका हुन्छन्। तर पनि पोखरेल हिम्मत हार्दिन।

मन—मनै भगवानसँग पुकार गर्छिन्– अस्पताल आएका सबै बिरामीलाई ठीक पारेर घर पठाउन सँकू।

बाहिर आकस्मिक कक्षमा आइसियू बेडका लागि लाइनमा पखिरहेका संक्रमित देख्दा उनको मन पोलिरहन्छ। केही गर्न नसक्दा थकथकी लाग्छ।
००००

पर्वतको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा खटिएकी छिन् सुरक्षा शर्मा।

आफन्तले छुन नपाउने, नजिकबाट हेर्न नपाउने बिरामीलाई सेवा गर्दा उनमा छुट्टै खुसी छाउँछ।

‘यस्तो महामारीमा पनि सरकारले सुरक्षा साम्रगी दिन नसक्दा अनि सरसहयोग नगर्दा भने दुस्ख लाग्छ,’ शर्मा भन्छिन्।

अहिले स्थानीय तहमा अक्सिजन लगाएर मात्रै राख्ने बिरामीको उपचार भइरहेको छ।

‘स्थानीय तहको पूर्वाधार राम्रो छैन। हामीले गम्भीर बिरामी राखेर उपचार गर्न सक्दैनौं,’ उनी भन्छिन्, ‘ गम्भीर बिरामीलाई हामी उपचार गर्न नसकेर जिल्ला अस्पताल रिफर गछौं। उपचार नपाएर मृत्यु भएको खबर चिन्तित बनाउँछ।’

बिरामीलाई नियमित औषधोपचार, स्याहार गर्ने, रोगका बारेमा बताउने, हौसला बढाउने, परामर्श दिने, उच्च मनोबल राख्न प्रेरणा दिने र चौबीसै घण्टा संक्रमितको प्रत्यक्ष निगरानी गर्दै नर्स जोडिएका छन्।

सुरक्षाको नजरमा कोरोनाले भन्दा पनि अहिले मानसिक बिरामी भइरहेका छन्।

सुरक्षा शर्मा

‘कोरोना लाग्यो भने पछि आफै ‘हतोत्साहित’ हुनुहुन्छ। कोरोना लागेको भनेपछि घर–परिवार तथा समाजले छुट्टै नजरले हेर्छन्। आइसोलेसनमा आउने संक्रमितलाई सबैभन्दा पहिला मनोबल नै बढाउन लाग्नु परेको छ,’ शर्मा भन्छिन्।

आइसोलेन वार्डमा रहेका संक्रमित आत्तिन्छ, छटपटाउँछन्। तर, शर्मा आफूलाई पनि संक्रमितको ठाउँमा राखेर हेर्छिन्। र सान्तवना दिन लाग्छिन्।

संक्रमितमा पीडा उनलाई भावुक बनाउँछ।

‘आफ्नो परिवार यही ठाउँमा भएको भए के हुन्थ्यो जस्तो महसुस हुन्छ,’ उनी भन्छिन्, ‘ बिरामीलाई कसरी सेवा दिने भन्नेतिर नै लागिरहेका हुन्छौं।’

कोरोना संक्रमण भयावह भन्दै गएको छ। देशभर कोरोना अवस्थाबारे समाचार सुन्दा जिउ नै सिरिङ्ग हुन्छ। आँखाबाट आँसु नै झर्छ।

उनलाई लाग्छ, ‘कुनै दिन आफैले पनि यस्तो अवस्थाको पक्कै जुध्नुपर्छ।’

यस्तो बेलामा स्वास्थ्यकर्मीले इमान्दारिता र धर्म निभाउनुपर्ने उनको भनाई छ।

जब कलिला जीवन सधैका लागि ढल्छन् …

केही दिन अगाडी मात्रै २२ वर्षकी एक युवती भर्ना भएकी थिइन्।

उनको शरीरमा अक्सिजनको कमी थियो। केही गर्दा पनि लेवलमा आइसकेको थिएन।

बिहानमा सिफ्टमा पोखरेल नै उनको हेरचाह गरेकी थिइन्।

आफ्नै हातले खाना खुवाएका थिइन्।

‘एकैछिनपछि उनको स्वास्थ्य अवस्था नियन्त्रणमा राख्न सकिएन। हरप्रयास गर्दा पनि बचाउन सकिएन,’ पोखरेल भन्छिन्, ‘भर्खरैको उमेरमा मृत्यु भएको देख्दा सारै दुस्ख लाग्छ।’

यस्ता थुप्रै मृत्यु देखेकी छिन् उनले।

धेरै दिनदेखि आइसियूमा भएका बिरामीको अवस्था बिस्तारै सुधार भएपछि नर्सको खुसीको सिमा हुँदैन।

तर, त्यही खुसी केही छिनमा नै निरासामा परिणत हुन्छ।

त्यस्तै, भयो केही दिन अगाडी अर्को घटना।

एक युवकको भेन्टिलेटरमा राखेको धेरै दिनपछि स्वास्थ्य अवस्था सुधार भयो।

‘मरिसकेको मान्छे अब त बाँच्नुभयो भनेर धेरै खुसी लागेको थियो। उहाँ भन्नुहुन्थ्यो तपाईंहरू नभएको भए मेरो मृत्यु भइसक्थ्यो होला। तर, हामी बाँच्नु हुन्छ भन्दै ढाडस दिइरहेका हुन्थ्यौं,’ पोखरेल भन्छिन्, ‘ बिहानको ड्युटी सकेर घर निस्किदाँ पानी खुवाएर घर गएको थिएँ। हाँसिखुसी कुरा भएको थियो। तर, राति त उहाँको निधन भइसकेछ।’

यस्ता दृश्य अनि रोदन हरेक दिन आइसियुमा गुन्जिरहेको हुन्छन्।
००००
सरकारको जोखिम भत्ता आश्वासन मात्रै…

सरकारको कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको प्रतिबद्धता सबै भाषणमा मात्रै सिमित भएको वीर अस्पतालमा एचडियूमा कार्यरत गंगा दंगाल बताउँछिन्।

‘न कुनै स्वास्थ्यकर्मी जोखिम भत्ता पाए, न कुनै स्वास्थ्यकर्मीले सरकारबाट पाउने कुनै सुविधा नै पाए,’ दगांल भन्छिन्,’ एकबर्ष अगाडी देखि ज्यानको परवाह नगरी काम गरियो। तर, अहिलेसम्म भत्ता पाइएको छैन।’

गंगा दंगाल

सरकारले माथिल्लो तहमा काम गर्ने सबै कर्मचारीले भत्ता लिए। तर, प्रत्यक्ष रूपमा खटिएका नर्स जोखिम भत्ताबाट बञ्चित भएको उनको गुनासो छ।

‘काम पनि मरीमरी गर्नुपर्ने अनि प्रतिबद्दता गरेको पैसा पनि नपाउने, जस पनि नपाउने भएका छौं,’ उनको गुनासो छ।

‘रातदिन सेवा खटिरहेका छौं। भोक, निन्द्रा छैन। पानी पनि नखाएर काम गरिहेका हुन्छौं। बुझ्ने कस्ले? देख्ने कस्ले? मुल्यांकन भएको छैन,’ दगांल भन्छिन्, ‘ हामी खटिरहेका छौं। बिरामी अवस्था बिग्रिरहेको हुन्छ। डाक्टरलाई बिरामी हेर्न जानका लागि हात जोड्नुपर्छ।’

पहिलो लहरमा अस्पताल प्रशासनले कोभिडमा काम गरेका स्वास्थ्यकर्मीलाई होटलमा बस्ने प्रबन्ध मिलाएको थियो। तर, यसपटक भने छैन।

‘सरकारले कुनै प्रोत्साहन नदिएपनि बिरामीको सेवा गर्नु हाम्रो धर्म हो,’ उनी भन्छिन्, ‘ सरकारले आश देखाइरहोस, हामी उपचारमा खटिरहने छौं।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय