सिलिण्डर मात्र होइन, अक्सिजन उत्पादन नै अभाव

हेल्थपोस्ट नेपाल

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र ( सिसिएमसि) ले सबै निजी तथा सरकारी अस्पतालहरुलाई अक्सिजन सिलिण्डरको कोटा छुट्याइदिए पछि एक–एक गर्दै ठूला तथा साना अस्पतालहरुले उपचार भर्ना गर्न नसक्ने भन्दै हात उठाएका छन्।

बिहीबारमात्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुरले विज्ञप्ति नै जारी गर्दै थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने बताएका छन्।

यसअघि नर्भिक अस्पताल, ओम अस्पताल, मेडिसिटि अस्पताल, नेपाल मेडिकल कलेज, शिक्षण अस्पताल, मेडिकेयर, हेल्पिङ ह्याण्ड्स, नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल तथा रिसर्च सेन्टरले अक्सिजनको अभावका कारण उपचार गर्न नसक्ने बताएका छन्।

अक्सिजन अभावका कारण अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाएर कयौं मानिसले ज्यान गुमाइसकेको छ। सरकारसँग यस्ता विरामीको यकिन तथ्याङक नै छैन।

बुधबारमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण थप २२५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो। यो संख्या अझै बढ्न सक्ने विज्ञहरु बताउँछन्।

सरकारले सबै अस्पतालमा विरामीको चापको हिसाबले अक्सिजनको कोटा निर्धारण गरिदिए पनि उचित व्यवस्थापन नहुँदा उपचारमा समस्या भएको पाटन अस्पतालका निर्देशक रवि शाक्यले बताए।

‘अस्पतालको माग अनुसार १०० प्रतिशत नै अक्सिजन नआएकाले उपचारमा धेरै कठिनाई भोग्नु परेको छ,’ उनले भने।

सरकारले पाटन अस्पतालका लागि बैशाख २७ गते २०० सिलिण्डर अक्सिजन सगरमाथा अक्सिजन प्रालि र २०० सिलिण्डर कान्तिपुर अक्सिजन प्रालिबाट लिन पाउने भन्दै कोटा तोकिएको थियो।

तर अस्पतालको माग अनुसार पुग्ने गरी नआएको उनले बताए। दुई वटा उद्योग तोके पनि कान्तिपुर अक्सिजनले एउटा पनि अक्सिजन दिएको छैन भने सगरमाथाबाट केही संख्या उपलब्ध भएको थियो।

त्यस्तै बैशाख २८ गते सगरमाथा अक्सिजनबाट मात्र ३०० सिलिण्डर अक्सिजन दिने भनेर सिसिएमसिले सूचना जारी गरेकोमा अस्पतालले २५० सिलिण्डर मात्र प्राप्त गरेको थियो।

हाल अस्पतालमा ४०० कोरोना संक्रमित रहेका छन्। तर अक्सिजन कम्पनीहरुले पठाएको अक्सिजन आधालाई पनि नपुगेको शाक्यले बताए।

अस्पतालमा प्रति घण्टा १५ वटा सिलिण्डर खपत हुने गरेको छ। आवश्यक अनुरुप आपूर्ति नभए, भएका विरामीहरुलाई समेत उचित उपचार गर्न नसकिने उनले बताए।

‘सरकारले तोकिएको कोटामात्र पूरा वितरण गरेको भए हामीलाई अप्ठेरो हुने थिएन। कोटा सिस्टम लागू गर्नुभन्दा पहिले बरु हामीले अलि भए पनि सहज रुपमा अक्सिजन लिन पाएका थियौं,’ उनले भने।

विरामीका लागि ६०० शय्यासम्म बढाउन सक्ने अस्पतालको क्षमता भए पनि अक्सिजन अभावका कारण हिम्मत नभएको उनी बताउँछन्।

हरेक दिन अक्सिजन प्लान्टमा रातभर कुरेर विरामीका लागि अक्सिजन ल्याउने गरेको बताउँछन् मेडिसिटी अस्पतालका प्रबन्धक विजय रिमाल।

‘सरकारले कोटा तोकिदिएपछि हामीलाई झनै अक्सिजन पाउन सकस भएको छ,’ उनले भने, ‘अक्सिजन उत्पादन गर्ने कम्पनीहरुको क्षमता भन्दा बढी अस्पतालहरुको माग भएका कारण पनि उनीहरुले सहजरुपमा सप्लाई गर्न सकेका छैनन्।’

अक्सिजनकै अभावका कारण गम्भीर बिरामीलाई दिन नसकिएको रिमालले बताए। मेडिसिटि अस्पताललाई सिसिएमसिले ३०० वटा

अक्सिजनको कोटा तोकिदिएको छ। तर उक्त अक्सिजन पनि आइपुगेका छैन। माग अनुसार ४०० देखि ४५० चाहिन्छ।

तर अब भएका विरामी पनि अक्सिजनकै कारण घट्ने अवस्था आएको उनले बताए।

रिमालले ३०० विरामीबाट २८० मा विरामी झार्ने सोच भएको बताए। ‘नयाँ भर्ना लिन सक्ने स्थिति छैन, बरु कम गर्दै जाने भएका छौं, ताकि भर्ना भएका विरामीको ज्यान बचाउन सकियोस्।’

ग्राण्डी अस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने निर्णय गरेको छ। नयाँ भर्ना गरेर पुराना बिरामीलाई जोखिममा नपार्ने अस्पतालको भनाइ छ।

तर पाटन अस्पतालका निर्देशक शाक्य भन्छन्, ‘देशमा सिलिण्डर होइन अक्सिजन नै अभाव भएको हो, ‘सिलिण्डरकै अभाव भएको भए हामीसँग धेरै सिलिण्डर खाली छन्। भर्न जाँदा अक्सिजन पाउन सकेका छैनौं।’

‘उपत्यकामा जम्मा ९ वटा अक्सिजन उत्पादकहरु छन्। ती उत्पादकहरुबाट २०० भन्दा बढी अस्पतालहरुलाई कसरी पुग्दो मात्रामा अक्सिजन दिन सक्छन्,’ उनले भने।

सबै अस्पताललाई बराबरी चापको हिसाबले अक्सिजन दिने सरकारको निर्णय सही भए पनि समन्वय र कार्यान्वयन राम्रो हुन नसक्दा अहिले बेहाल भएको उनी बताउँछन्।

त्यस्तै २४ औं घण्टा अक्सिजन प्लान्ट चलाउँदा मेसिन बिग्रन थालेको उत्पालदकहरु बताउँछन्।

मेसिन बिग्रँदा ८÷९ घण्टा बनाउन समय लाग्ने कारण झनै ठूलो क्षति हुने उत्पादकहरु बताउँछन्। चौबिसै घण्टा उत्पादन गर्दा पनि अस्पतालको माग पूरा गर्न नसकेको सोपान फार्माक्युटिकल प्रालिको भनाइ छ।

सोपान अक्सिजन कम्पनीको हरेक दिन १००० सिलिण्डर मात्र भर्न सक्ने क्षमता छ। ‘हामीले २४ सै घण्टा प्लान्ट चलाए पनि ३०० क्युबिक मिटरमात्र उत्पादन गर्न सक्छौं। एउटै मात्र प्लान्ट भएका कारण अस्पतालको १५ सयदेखि ३००० सम्म ।सिलिण्डरको माग हामीले पूरा गर्न सकेका छैनौं,’ सोपान अक्सिजनका बजार निर्देशक गान्धीप्रसाद शर्माले भने।

‘हरेक दिन २ देखि ३ घण्टा मेसिनलाई आराम चाहिन्छ। तर केही समयदेखि मेसिनलाई चिसाउन नपाएकाले पनि बिग्रिएको हो,’ उनले भने, ‘‘हामीले हालको अवस्था र अस्पतालको मागलाई बुझेर आफ्नो दायित्व पूरा गरेका छौं। तर चाहेर पनि आपूर्ति गर्न सकेका छैनौं।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *