भक्तपुरका सबै अस्पतालमा अक्सिजन अभाव,शय्यामा छट्पटाउँदै बिरामी

हेल्थपोस्ट नेपाल

भक्तपुरका सबै अस्पतालहरुमा अक्सिजन अभाव भएको छ।

अक्सिजन अभावका कारण भक्तपुर अस्पतालले बिरामीलाई रेफर गर्न थालेको आरएनए १६ का संयोजक अरुण सैंजुले जानकारी दिए।

अहिले भक्तपुर अस्पतालमा ५० भन्दा बढी बिरामी भएको उनले बताए। उनले अस्पतालमा भर्ना भएका सबै बिरामीलाई अक्सिजन चाहिने अवस्था रहेको पनि बताए।

‘केही बिरामीलाई सारिसकिएको छ,’ उनले भने, ‘केही समयमा अक्सिजन भएन भने के हुन्छ भन्न सकिने अवस्था छैन, अहिले अस्पतालहरु सुनसान भएका छन्।’

अहिले एक सय वटा अक्सिजन सिलिण्डर चाहिने ठाउँमा जम्मा ४० वटाले चलाइराखेको उनले बताए। सबै अक्सिजन सप्लायर्स तथा कम्पनीमा पनि नभएको जानकारी आएको उनले बताए। साथै अस्पतालका खटिएका ५ चिकित्सक र ४ जना स्टाफ नर्स संक्रमित भइसकेको उनी सुनाउँछन्।

मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अहिले ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। मध्यपुर थिमीको नेपाल कोरिया मैत्री अस्पतालमा पनि अक्सिजन अभाव भएको उनले बताए।

समिट अस्पतालमा पनि विरामीहरु पनि बेड छ कि भनेर आइरहेको उल्लेख गर्दै उनले बेड नभएर व्हीलचेयरमा राखेर उपचार गराइरहेको बताए। ‘अस्पतालमा एक दिनका लागि पुग्ने अक्सिजन छ, भोलि के गर्ने थाहा छैन, विरामीहरु पनि रिफर गर्नुपर्ने अवस्था छ,’ उनी भन्छन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले मन्त्रालयले अक्सिजनका लागि सबै अस्पतालमा लिस्ट पठाए पनि भक्तपुरका अस्पतालहरुको नाम छुटेकाले यस्तो अवस्था श्रृजना भएकोे उनले बताए।

‘यो त्रुटि मिलाइसकेको छ, अब अक्सिजन अभाव हुँदैन,’ उनले भने। अब सूचीमा भएका अस्पतालहरुलाई प्राथमिकतामा राखी अक्सिजन वितरण गर्ने मन्त्रालयबाट निर्णय भएको उनले सुनाए।



One thought on “भक्तपुरका सबै अस्पतालमा अक्सिजन अभाव,शय्यामा छट्पटाउँदै बिरामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *