९ लाख ज्येष्ठ नागरिकलाई कोरोना खोपको दोस्रो मात्रा अनिश्चित, नपाए के हुन्छ?

Second dose of Covid vaccine at Civil Hospital Baneshwor on Tuesday, April 20, 2021.

‘खोप कमिसन’ को चक्कर, भारतमा फैलिएको पछिल्लो महामारी र खोप कुटनीतिमा सरकारी असफलतालगायतका कारणले पैसा तिरिसकेको खोपसमेत ल्याउन सरकार असफल भएपछि तीन महिनाअघि खोप लगाएका ज्येष्ठ (६५ वर्ष पुगेका) नागरिकले दोस्रो मात्रा खोप कहिले पाउने भन्ने अन्योल भएको छ।

सरकारले गत फागुन २३ देखि ६५ वर्ष उमेर पुगेकालाई कोरोनाविरुद्धको खोप दिएको थियो। त्यो खोप सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियाबाट किनेको ‘कोभिसिल्ड’ थियो। त्यो बेला सरकारले २० लाख डोज किन्ने भनेर सेरमलाई ८० प्रतिशत रकम अग्रिम भुक्तानी दिएको थियो।

तर, उसले १० लाख डोजमात्रै दियो र त्यसपछि अहिलेसम्म बाँकी खोप दिएको छैन। भारतमा बढिरहेको कोरोना संक्रमणको अवस्था र नेपालमा सार्वजनिक भएको ‘खोप कमिसन’ प्रकरणका कारण अब फेरि त्यो आउन निकै मुस्किल छ।
नेपालमा अब कति खोप छ?

नेपालमा अब चीनले अनुदान दिएको मध्ये ४ लाख डोज ‘भेरोसेल’ मात्रै बाँकी छ।

कोभिसिल्ड भने देशभरि गरेर १ लाख डोज पनि छैन। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख झलक गौतमका अनुसार त्यो कोभिसिल्ड ७७ वटै जिल्लामा पठाइएको थियो। बाँकी के कति छ भनेर अब विवरण संकलन गरिरहेको उनले बताए।

त्यस्तै नेपाली सेनासँग भारतीय खोप ‘कोभिसिल्ड’ को केही डोजमात्रै बाँकी छ। त्यो पनि सेनाका आफ्नै कर्मचारीलाई लगाउनै बाँकी छ।
सैन्य प्रवक्त्ता ईश्वरबल्लभ पौडेलका अनुसार सेनाका करिब ४४ हजार कर्मचारीले कोभिसिल्डको पहिलोमात्रा लगाएका छन्। अनि, करिब ८ देखि ९ हजारले दोस्रो मात्रा पनि लगाइसकेका छन्।

अरूले दोस्रो डोज लगाउनै बाँकी छ। अनि, करिब ९० हजार सैनिक कर्मचारीमध्ये आधाले त खोपै लगाएका छैनन्।

यो खोप भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप दिएको थियो।

भारत सरकारले सुरुमा नेपाललाई १० लाख डोज खोप ‘उपहार’ दिएको थियो। त्यसपछि सरकारले किनेको अरू १० लाख डोज खोप आयो।

त्यसपछि विश्व भ्याक्सिन सञ्जाल (कोभ्याक्स) को ३ लाख ४८ हजार डोज अनुदानको खोप पनि आयो। चीनले ८ लाख डोज खोप दियो।

यो सबै गरेर २४ लाख ४८ हजार डोज कोभिसिल्ड र ८ लाख डोज भेरोसेल नेपाल भित्रिएको छ।
चीनले दिएको ८ लाख डोजमध्ये काठमाडौं, ललितपुर, भक्त्तपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रेलगायत जिल्लामा करिब २ लाख ८८ हजारलाई पहिलो मात्रा दिइएको छ।

यसको दोस्रो डोज यही जेठ २ देखि दिने योजना सरकारले बनाएको छ। दोस्रो मात्रा लगाएर बचेको भेरोसेल के कसरी वितरण गर्ने भनेर छलफल गरिरहेको पनि गौतमले बताए।

‘बाँकी बचेको भेरोसेल के कसरी लगाउने भनेर हामीले छलफल गरिरहेका छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा त्यो बाँकी खोपको प्राथमिकतामा हामीले सेवा क्षेत्रका नागरिकलाई राखेका छौं।’

दोस्रो डोज कोभिसिल्डको अन्योल

सरकारले फागुन २३ देखि देशैभरि ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड लगाउने अभियान सुरु गरेको थियो। त्यो बेला सरकार भारतले सबै खोप दिन्छ भन्नेमा ढुक्क थियो।

तर, १० लाख डोजमात्रै दिएर भारतले बाँकी खोप दिएन र त्यहीबीचमा खोप कम्पनीका नेपाल प्रतिनिधि अनि स्वास्थ्यमन्त्री त्रिपाठीबीच ‘कमिसन’ को संघर्ष उत्कर्षमा पुग्यो।

त्यहीबीच भारतमा दोस्रो लहरको माहामारी तीव्र भइरहेको थियो। अनि, खोप आउने आसा नै हरायो। सरकारले ‘कुरा’ गरिरहेको वा ‘पहल’ गरिरहेको भने पनि सेरम अब लगभग खोप दिन नसक्ने अवस्थामा छ। किनकि, अहिले भारतमै उसलाई खोप पु¥याउन हम्मे–हम्मे छ।

त्यो अभियानमा देशभरि ६५ वर्ष उमेर समूहका करिब ९ लाख ज्येष्ठ नागरिकले ‘कोभिसिल्ड’ लगाएका थिए। खोप ‘प्रोटोकल’ अनुसार अब उनीहरूलाई दोस्रो मात्राको खोप लगाउने बेला भइसकेको छ।

‘तर, अहिले नै हामीले उहाँहरूलाई दोस्रो मात्राको खोप दिन सक्ने अवस्था छैन,’ खोप शाखा प्रमुख गौतम भन्छन्, ‘करिब ९ लाखले पहिलो मात्रा लगाउनुभएको छ। ७७ वटै जिल्लामा कलेक्सन गर्ने हो भने हामीसँग मुस्किलले १ लाख पनि खोप छैन।’

उनका अनुसार त्यसका लागि खोप आउने नआउने भन्ने अहिले नै केही भन्न सक्ने स्थिति पनि छैन।

‘अहिले नै खोप आउने नआउने वा कहिले आउने भन्नेबारे केही भन्न सकिने अवस्था छैन,’ गौतम भन्छन्, ‘कुराकानी भइरहेको छ। पहल गरिरहेका छौं। योभन्दा धेरै जवाफ अहिले हामीसँग छैन।’
पहिलो डोज लगाएकाले समयमै दोस्रो डोज नपाए के हुन्छ?

‘तीन महिनापछि केही ग्याप भयो भने त्यही बेला अलिकति जोखिम बढ्छ कि भन्ने हो,’ खोपविज्ञ श्यामराज उप्रेती भन्छन्, ‘तर, त्यसपछि पनि दोस्रो डोज पायो भने एन्टिबडी पनि ह्वात्तै बढ्छ।’

उनका अनुसार कम्तिमा ८ देखि १२ साताभित्र यो खोपको दोस्रो डोज दिइसक्नुपर्ने हुन्छ। यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि जेठ १५ गते सुरु गर्नुपर्ने हुन्छ। खोप परीक्षणको अध्ययनअनुसार पहिलो मात्राले लगभग तीन महिनासम्म काम गर्न सक्छ। त्यसपछि ‘ग्याप’ भयो भने केही जोखिम हुन सक्छ। तर, चाँडै दोस्रो मात्रा पाएको खण्डमा भने फेरि ‘रिकभर’ हुन सक्छ।

सरकारले नै सुरुमा ज्येष्ठ नागरिकलाई जोखिम समूहमा राखेर खोप दिएको थियो। तर, पहिलो डोज लगाएका ९ लाख ज्येष्ठ नागरिकले अब अर्को डोज कहिले पाउने भन्ने केही निश्चित छैन।

अहिलेसम्म विश्व स्वास्थ्य संगठनले पनि पहिलो मात्रा जुन खोप लगाएको छ दोस्रो पनि त्यही खोप लगाउने भन्ने प्रोटोकल बनाएको छ।

तर, नेपालमा भने अब ‘कोभिसिल्ड’ आउने नआउनेमा अन्योल छ। पछिल्ला दिन खोप ल्याउने व्यापारी र मन्त्रीबीच भएको ‘कमिसन’ प्रकरणहरू बाहिरिएपछि त्यसको अन्योल झन् बढेको छ।

त्यसमा पनि अहिले भारतमा खोप अभाव छ। सरकारले अभावकै बीचमा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप दिने अभियान सुरु गरेको छ र खोप उत्पादक कम्पनीहरूलाई निकै दबाब छ। यो अवस्थामा भारतले अन्य राष्ट्रका लागि खोप निर्यात गर्न सजिलो पटक्कै छैन।

भारतले आफ्नो देशमा खोप लगाउन सुरु भएसँगै छिमेकी देशमा पनि खोप उपहार दिएको थियो। त्यो अभियानलाई उसले ‘भ्याक्सिनमैत्री’ नाम दिएको थियो।

अहिले भने कोभिसिल्ड उत्पादक कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख अदार पुनावाला खोपको दबाब खेप्न नसकेर देशै छाडेर हिँडेका छन्।

भारतले कोभिसिल्ड नदिने संकेत पाएपछि सरकारले बल्लतल्ल रुसी खोप ‘स्पुटनिक–भी’ लाई आपतकालीन अनुमति दिएको छ। र, त्यो खोप भित्र्याउनका लागि पहल सुरु गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय