खोप खरिदमा एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं- स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको र नलिएको दाबी गरेका छन्।

आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले भने ‘यो बीचमा धेरै हल्लाहरू आए। तर म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’

उनले खोप खरिदबारे हल्ला र अपवाह फैलाएको गुनासाे पनि गरे।

‘हामीले खरीद गरेकै २० लाख डोज हो। त्यो पनि ४ डलरको दरले। त्यसबाहेक अरु कुनै खरिद नै भएको छैन। जुन ढंगले कुरा उठे। संसदमा पनि कुरा उठ्यो। बोल्न त बोल्नुस्। कुनै तथ्य बिना नबोल्नुस्’ उनले चुनाैती दिँदै भने ‘यदि ४ डलर भन्दा कममा कसैले खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोड भन्दा बढी डोज खरिद गर्न तयार छ।’

मन्त्री त्रिपाठीले सेरममा आगलागी भएका कारण सरकारले किनेको खोप पनि दिन नसकेको स्पष्टिकरण दिए। तर सेरमले नै आगलागीपछि पनि खोप उत्पादन र आपूर्तीमा कुनै असर नपर्ने बताएको थियो।

‘सेरममा आगलागी भयो। अनि त्यही बीचमा भारतमा महामारी फैलियो। अनि भारतले खोप निर्यातमा प्रतिवन्ध लगायो’ उनले भने- ‘अब २० प्रतिशत निर्यात गर्न अनुमति दिएको छ। अब हामीलाई आशा पलाएको छ। सेरमले त्यो अनुमति पायो भने पहिलो खेप नै हामीले पाउने विश्वास गरेका छौं।’

त्यस्तै उनले खोप खरिदका लागि अरु देशसँग पनि पहल भइरहेको बताए।

’सुरुमा मित्र राष्ट्र भारतले १० लाख डोज खोप उपहार दियो। अनि हामीले खोप अभियान सुरु गर्‌यौं। त्यसपछि मित्र राष्ट्र चीनले पनि ८ लाख दियो। त्यसपछि हामीले सेरमबाट २० लाख डोज खरिद गर्‌यौं। दश लाख आयो बाँकी दश लाख डोज आउन बाँकी छ’ उनले भने ‘तर अरू देशसँग पनि अमेरिका, रुससँग पनि खोप उपलब्ध गराउने सम्बन्धमा वार्ता गरेका छौं। बेलायतले पनि प्रतिवद्धता गरेको थियो। तर त्यहाँ पनि महामारी फैलिएपछि केही समय सरेको छ। कोभ्याक्सबाट पनि फेरि खोप आउँछ भन्ने विश्वास छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय