पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ, कोमल शाहलाई आइसीयूबाट वार्डमा सारियो
कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ ।
कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार गरिएको थियो।
पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।
स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ ।