
चीनले अनुदानस्वरूप उपलब्ध गराएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको वाइड बडी आज दिउँसो बेइजिङबाट नेपाल आइपुग्दै छ।
जहाजले पहिलो उडानमा चारसयवटा सिलिन्डर ल्याउन लागेको छ। चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।
यसैबीच, चीनले अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ।
परराष्ट्र मन्त्रालयले चीनले अनुदानस्वरूप दिएका भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिएको छ।
स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो।