संक्रमितको घर दैलोमा अक्सिजनसहित स्वास्थ्य सेवा

हेल्थपोस्ट नेपाल

बुटवल उपमहानगरपालिकाले अक्सिजनको आवश्यक पर्ने कोरोना संक्रमितको घरदैलोमा अक्सिजन सहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

उपमहानगरपालिकामा रहेका १९ वटा वडामा जानकारी गराई आइसोलेसनमा बसेका सबै संक्रमितको घरघरमा स्वास्थ्य सेवा उपलव्ध गराइएको हो ।

स्थानीय संघ संस्थासँगको सहकार्यमा उपमहानगरले यो सेवा संचालन गरेको हो ।

अक्सिजन बैंक सेवा संचालनका लागि उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमाा कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा स्वास्थ्य प्राविधिक, अस्पताल सञ्चालक, निजी क्षेत्र, व्यवसायी र नागरिक समाजका अगुवाहरु रहेका छन् ।

नगरपालिकाले अक्सिजन बैंक सेवाको स्थापना गरी अक्सिजन आवश्यक पर्ने संक्रमितहरुको घर घरमै सेवा पुर्याउने तथा चिकित्सकीय परामर्शसहित औषधिहरु उपलब्ध गराउने काम जारी राखेको उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उनले स्वास्थ्यकर्मी र स्वास्थ्य परामर्शदाताहरुले संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्यको अवस्था बुझ्ने र परामर्श दिने काम गरिरहेको बताए ।

नगरप्रमुख सुवेदीका अनुसार महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघसंस्थाहरुसंगको सहकार्यमा उपमहानगरले अभियान संचालन गरेको हो।

अक्सिजन बैंक स्थापनापछि संक्रमितको मनोबल उचो राख्न मद्दत पुगेको सुवेदीको बुझाई छ ।

उपमहानगरले कोरोना संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा सहयोग पुर्याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको छ।

संक्रमितको घरदैलोमा पुगेर अक्सिजनसहितको सेवा आवश्यक पर्नेलाई स्वास्थ्यकर्मीको परीक्षणपछि अक्सिजन जडान गर्ने र आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स मार्फत अस्पतालसम्म पुर्याउने सम्मको व्यवस्था मिलाइएको नगरपालिकाको भनाई छ ।

निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरुलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गरिरहेको छ।

अक्सिजन बैंकमार्फत हालसम्म करिब तीन सय जना संक्रमितहरुले घरमै बसेर सेवा लिइरहेको उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखाको तथ्यांकमा छ।

उक्त महाशाखाका प्रमुख तथा सूचना अधिकारी मित्रमणी खनालका अनुसार अहिले पनि २५० जनाले सेवा लिइसकेका छन् ।

पाँचजना स्वास्थ्यकर्मीहरु सहितको ४ वटा समूह निर्माण गरी संक्रमितहरुको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको र अक्सिजन बैंकले स्थापना भएको छ दिनको अवधिमा दैनिक ५०÷६० जना संक्रमितहरुलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरिसकिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत उमादेवी थापाले बताइन ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको थियो।

ति सिलिण्डरमा लायन्स क्लब अफ बुटवल एरीया ४ ले रिफिल गर्नमा सहयोग गरेको थियो । बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटल लगायतका संस्थाहरुले सहकार्य गरेका छन् ।

अक्सिजन बैकंमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेका छन् ।

यस्तो छ अक्सिजन सेवा बैंकको मापदण्डः

बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक सेवाका लागि स्पष्ट मापदण्ड बनाएको छ । कस्तो अवस्थाका संक्रमितलाई अक्सिजन आवश्यक पर्छ, कत्ति मात्रामा आवश्यक पर्छ त्यसको स्वाथ्यकर्मीबाट निक्र्यौल भएपछि मात्रै अक्सिजन सेवा उपलब्ध गराउने गरिएको छ । त्यसको लागि उपमहानगरमा पाँचजना स्वास्थ्यकर्मीहरु समेत रहेको चारवटा समूह निर्माण गरिएको छ ।

स्वास्थ्यकर्मीहरुको परामर्शपछि प्राविधिक अध्यय्नका आधारमा मात्रै निश्चित मापदण्ड बनाई घरदैलोमा सेवा पुर्याउने गरिएको हो । बुटवल उपमहानगरपालिकामा अक्सिजनको माग गर्ने संक्रमितहरुको विवरण सहितको सूची तयार गरिन्छ । त्यसपछि उपमहानगरको स्वास्थ्यकर्मीहरु संक्रमितको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिन्छन् ।

संक्रमितको शरिरमा रहेको अक्सिजनको मात्रा र स्वास्थ्य अवस्थाको परीक्षण पछि अगाडिको प्रक्रिया शुरु गरिन्छ । समग्र स्वास्थ्य स्थितीको बिश्लेषण गरेपछि अक्सिजन आवश्यक पर्ने बिरामी हो भने अक्सिजन जडान गरिन्छ र नभएको अवस्थामा ति बिरामीलाई अक्सिजन सेवा नदिई परामर्श सेवा मात्र प्रदान गरिन्छ ।

यो सेवा चौबिसै घण्टा संचालनमा रहेको उपमहानरपालिकाले जनाएको छ । बुटवलले यहाँका बन्द रहेका उद्योगहरुबाट ती अक्सिजन सिलिण्डर संकलन गरेको थियो ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *