लासका खातमाथि ओलीका झुठहरू

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सञ्चारमाध्यम सिएनएनमा दिएको एउटा अन्तर्वार्ता अहिले व्यापक चर्चामा छ। कतिपयले उनले भनेका कुराहरूलाई ‘जोक’ बनाइरहेका छन् भने कतिले आलोचना गरिरहेका छन्।

प्रधानमन्त्रीले त्यहाँ गरेका केही दाबीलाई हेल्थपोस्टले चिरफार गरेको छ।

अन्तर्वार्ताको सुरुमै ओलीले दाबी गरेको पहिलो झुठ–

‘नेपालमा महामारीको अवस्था अहिले नियन्त्रणमै छ।’

यथार्थ स् प्रधानमन्त्री ओलीले अवस्था ‘नियन्त्रणमै छ’ दाबी गर्नुभन्दा चौबिस घन्टा अघिमात्रै नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ५० जनाको ज्यान गएको थियो। त्यसअघि ५८ जनाको मृत्यु भएको थियो।

उनको यो झुठको चौबिस घन्टापछि आइतबार देशभर ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भयो। ८२ जना संक्रमितको मृत्यु रेकर्ड भयो।

प्रधानमन्त्री ओलीले ‘अवस्था नियन्त्रणमै छ’ भनिरहँदा अस्पतालमा बेड नपाएर संक्रमितहरू आँगनमै सुतेका तस्बिरहरू भाइरल भइरहेका थिए। अक्सिजन नपाएर संक्रमितको मृत्यु भएका समाचारहरू ‘हेडलाइन’ बनिरहेका थिए। मृत्यु भएका संक्रमितलाई जलाउने ठाउँ नपुगेर पशुपतिको घाटमा चिता बनाउनका लागि डोजेरले खोस्रिरहेका दृश्यहरू आयोमेलले पनि प्रकाशित गरेको थियो। भलै, त्यसपछि प्रेस काउन्सिलले ‘कोरोना संक्रमित भएर मृत्यु भएकाहरूको सामूहिक दाहसंस्कार’ का तस्बिर र दृश्यहरू प्रकाशनरप्रशारण नगर्नू भनेर उर्दी जारी गर्‍यो।

आफ्नो कमजोरीका ‘विद्रुप’ रूप छोप्न ओली सरकारले यसअघि पनि यस्तै गरेको थियो। काठमाडौंमा भोकाहरूलाई खाना खुवाउन रोक लगाउँदै अघिल्लो महामारीका बेला काठमाडौं महानगरले भनेको थियो– ‘काठमाडौंको इज्जत जान्छ। सडकमै खाना खुवाउन र खान पनि पाइँदैन।’

व्यापक आलोचनापछि महानगरले खाना खाने र खुवाउने छुट्टै ठाउँको व्यवस्था गर्न बाध्य भयो।

अंग्रेजी भाषामै प्रधानमन्त्रीले बोलेको तथ्यहीन कुरा–

‘पोहोर हामीले संक्रमण नियन्त्रणमा लिएका थियौं। मृत्यु पनि शून्यमा झरेको थियो। संक्रमण पनि दैनिक ५० को हाराहारीमा आएको थियो।’

यथार्थ : प्रधानमन्त्रीले भनेजस्तै पोहर साल पनि अवस्था नियन्त्रणमा भने थिएन। सेप्टेम्बरपछि लगभग नेपालमा पिसिआर जाँच गर्नेहरू निकै कम थिए। वैदेशिक रोजगारीमा जाने वा अरू कामले विदेश जानेबाहेक लगभग कोरोना परीक्षण गराउनेहरू निकै कम थिए। यो अर्थमा प्रधानमन्त्रीले भनेको दैनिक संक्रमण लगभग ५० को हाराहारीमै थियो। तर, परीक्षण भएकै थिएन। लक्षण देखिएकाले समेत परीक्षण गराएका थिएनन्। बरु घरमै आइसोलेसन बसेका थिए।

प्रधानमन्त्रीले दाबी गरेको दास्रो झुठ–

‘तर नागरिकले महामारी सकिएको ठाने, लापरबाही गरे। त्यसकारण महामारीको दोस्रो लहर आयो।’

यथार्थ स् लापरबाही नागरिकस्तरबाट मात्रै भएको थिएन। त्यो बेला उनकै पार्टीभित्र भाँडभैलो भइरहेको थियो। संविधानले नै नदिएको अधिकार प्रयोग गर्दै उनले संसद नै भंग गरिदिएका थिए। यद्यपि, दुई महिनापछि सर्वोच्च अदालतले संसद विघटनलाई गैरसंवैधानिक भनिदियो र उनको त्यो निर्णय खारेज भयो। त्यही बेला उनको पार्टी (नेकपा) बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको एउटा समूह अलग भयो।

एकले अर्कालाई देखाउनका लागि जिल्ला–जिल्लाबाट काठमाडौंमा मान्छे ओसार्ने प्रतिस्पर्धा नै चल्यो। प्रधानमन्त्री आफैंले प्रचण्डहरूलाई भनेका थिए– ‘म उहाँहरूलाई भन्दिन चाहन्छु आमसभा कस्तो हुन्छ? आमसभा केलाई भनिन्छ? जनपरिचालन केलाई भनिन्छ भन्ने कुरा २३ गते हेर्नुहोला। हामी २३ गते अलिकति झलक दिन्छौं, कास्टिङ गर्छौं।’

प्रधानमन्त्री ओलीले अझै हौसिँदै भनेका थिए, ‘साँच्चैको जनसभा त्यसपछि आउँछ। जनप्रदर्शन त्यसपछि आउँछ। यो बीचमा हामी अलिक बढी नै व्यस्त भयौं। नत्र, हामी उहाँहरूलाई आजको भोलि नै देखाइदिन्थ्यौं जनसभा कस्तो हुन्छ र जनपरिचालन कस्तो हुन्छ भनेर।’

नभन्दै उनले माघ २३ गते जिल्ला–जिल्लाबाट सयौं मान्छे काठमाडौं ल्याएर दरबारमार्गमा आमसभा गरे।

त्यतिबेला प्रचण्ड(माधव नेपाल पक्षले पनि काठमाडौंमा मान्छे ओसारेका थिए। उनीहरूले पनि ओलीको विरोधमा धेरैपटक काठमाडौं र देशभरि आमसभाहरू गरेका थिए। ओलीले पनि उनीहरूसँग प्रतिस्पर्धा गर्दै देशभरि आमसभाहरू गरे।

मार्चको सुरुवाततिरै भारतमा नयाँ भेरिएन्टको भाइरस संक्रमण बढ्दै थियो। त्यहाँ बेलायती भेरिएन्ट पत्ता लागिसकेको थियो। त्यसपछि भारतमै नयाँ प्रजातिको भेरिएन्ट पनि पत्ता लाग्यो।

मार्चको अन्त्यतिर नेपालमै पनि बेलायती भेरिएन्टका संक्रमित भेटिइसकेका थिए। त्यसपछि भारतीय भेरिएन्ट पनि पुष्टि भयो। त्यो बेलाबाटै नेपालमा अन्तर्राष्ट्रिय उडान र नाकाहरूमा कडाइ गर्नुपर्ने आवाज उठिरहेको थियो। सरकारले कहीँकतै सुनेन।

प्रधानमन्त्रीको स्विकारोक्त्ति स् महामारी पूरै सकिएको थिएन। तर, ‘जनताले महामारी सकियो भन्ने ठाने’ भनेर प्रधानमन्त्रीले एउटा झुठ बोल्दाबोल्दै उनले यो भने स्विकार गरे– ‘राजनीतिक अवस्था बिग्रिएको थियो र ठुल्ठूला सभाजुलुस भएकै हुन्।’

उनले अन्तर्वार्तामा भनेका छन्– ‘त्यो बेलाको अवस्था नै त्यस्तै थियो। देशमा केही राजनीतिक संकट थियो। र, त्यो बेला राजनीतिकरूपमा र अरू पक्षबाट पनि लापरबाही भयो। हामीले थोरै–थोरै गल्ती गर्‍यौं।

त्यसपछि पनि प्रधानमन्त्रीले गरेको अटेरी स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाखको पहिलो सातादेखि नै सावधानी अपनाउन चेतावनी दिइरहेको थियो। विद्यालयहरू बन्द गर्नुपर्ने दबाब बढिरहेको थियो। स्वास्थ्य मन्त्रालयले समेत विद्यालयहरू बन्द गर्नुपर्ने सुझाव सिसिएमसीलाई दिएको थियो। तर, शिक्षा मन्त्रालयले मानिरहेको थिएन।

धेरै बालबालिकामा संक्रमण देखिइसकेको थियो। राजधानीकै ठूला स्कुलहरूमा समेत संक्रमण देखिइसकेको थियो। महामारीको भयावह सुरु भइसकेको छ भन्ने यी दृश्य र स्वास्थ्य मन्त्रालयकै चेतावानीले प्रष्ट पारिरहेका थिए।

सरकारले नै केही प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्ने भनेर निर्णय गरिसकेको थियो।

तर, त्यसको चौबिस घन्टा पनि नबित्दै प्रधानमन्त्रीले बिहानै बालुवाटरमा मेला लगाए, वैशाख ७ गते। राम–सीताको मूर्ति चितवनको माडी पठाउनका लागि उनले त्यहाँ बिहानै मान्छे बटुलेर पूजाआजा गरे। अनि, सयौं मान्छेको लावालश्करसहित चितवन पठाए।

त्यहाँ मूर्ति स्थापनाका लागि संस्कित, पर्यटा तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पनि पुगेका थिए। उनी अहिले कोरोना संक्रमित भएका छन्।

त्यस्तै ऊर्जामन्त्री टोपबहादुर रायमाझी भर्खरैमात्र संक्रमणमुक्त्त भएका छन्। खानेपानीमन्त्री मणि थापा पनि संक्रमित छन्। केही दिनअघि मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि संक्रमित भएकी छिन्।

त्यसपछि फेरि उत्तिकै भीड जम्मा गरेर उनले वैशाख ११ गते धरहरा उद्घाटन गरे। जबकि, अझै पनि धरहराको थुप्रै काम बाँकी नै छ।

लगत्तै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेको स्थायी कमिटी बैठक बालुवाटरमै बोलाए। त्यहाँ सहभागी भएका केही नेताहरूमा पनि संक्रमण देखियो।

शनिबार राति अबेरमात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफू दोस्रोपटक फेरि कोरोना संक्रमण भएको र प्रधानमन्त्रीले ‘संक्रमण नियन्त्रणमै छ’ भनेर दिएको अन्तर्वार्ता सँगसँगै आफ्नो फेसबुकमा सार्वजनिक गरे।

झुठो बोलेर सहयोगको अपिल स् अन्तर्वार्ताको अन्त्यमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल पनि गरे। करिब सवा ६ मिनेटको त्यो अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणमा आइसक्यो भनेर झुठ बोले अनि अन्तिममा भने– ‘म हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्न चाहन्छु कि यो खतरनाक महामारीसँग जुध्नका लागि नेपाललाई सहयोग गर्नुहोस्।’

त्यसको केही घन्टा अघिमात्रै बेलायतले कोरोना संक्रमणको ‘रेड लिस्ट’ मा नेपाललाई राखेको घोषणा गरेको थियो। नेपालसहित उसले टर्की र माल्दिभ्समा पनि यात्रा प्रतिबन्ध लगाएको छ।

विज्ञको नजरमा नेपालमा संक्रमण

‘अघिल्ला साताको तुलनामा यो साता नेपालमा ९०.४ प्रतिशतले संक्रमण बढेको छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस व्रिफिङमा डा। विराजमान कर्माचार्यले भने ‘छिमेकी भारतलाई नै हेर्ने हो भने संक्रमित हुने दर त्यहाँ भन्दा नेपालमै बढी छ।’

डा। कर्माचार्य जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग धुलिखेल अस्पतालका निर्देशक हुन्।

उनका अनुसार भारतमा संक्रमित हुने दर २२.२ प्रतिशत छ भने नेपालमा त्यसको झन्डै दुई गुणा बढी अर्थात् ४१.९ प्रतिशत छ। यो परीक्षण गराएकाहरूमा देखिने संक्रमणको दर हो।

‘यसको अर्थ भारतभन्दा नेपालमा अझ धेरै परीक्षण हुन बाँकी नै छ। अहिले परीक्षण गर्दा जति पोजेटिभ देखिएको छ। त्यसको अर्थ हो अझ धेरै संक्रमित समुदायमै छन्’ उनले भने।

उनका अनुसार संक्रमण सार्ने दर पनि नेपालमै धेरै छ। भारतमा एकबाट अर्कोमा सर्ने दर १.२ प्रतिशत छ भने नेपालमा १.८ प्रतिशत छ। यसको अर्थ भारतभन्दा नेपालमा भाइरस सार्ने दर झन्डै दुई गुणा धेरै छ।

संक्रमण दरका आधारमा हेर्ने हो भने नेपाल र भारतमा लगभग बराबरी छ। जस्तो कि भारतमा संक्रमण दर २८३.५ प्रतिशत छ भने २७९.५ प्रतिशत छ।

‘भन्नुको अर्थ भारत र नेपालमा संक्रमणको दर झन्डै झन्डै बराबर अवस्थामा पुगिसकेको छ’ उनले भने।

उनका अनुसार भारतमा संक्रमण उच्च विन्दुमा पुगेको एक महिनापछि मात्रै नेपालमा त्यसको प्रभाव देखिन्छ। यहाँको महामारी पनि त्यहीअनुसार विश्लेषण गरिन्छ।

भारतमा अहिले मृत्यु दर २.८ प्रतिशत छ भने नेपालमा १.६ प्रतिशत छ। तर डा. कर्माचार्यका अनुसार यो दर अझै केही साता बढ्नसक्छ।

‘तर हामीसँग अझै पनि समय छ। सबै मिलेर काम गरेको अवस्थामा हामीले अझै संक्रमणलाई फैलिनबाट रोक्न सक्छौं र धेरैको जीवन बचाउन सक्छौँ’ उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय