‘कोरोना भाइरसमा एक वर्षको अनुभव सँगालेर पर्याप्त हुन्न रहेछ’

हेल्थपोस्ट नेपाल

मुलुक कोरोना कहरको दोस्रो लहरबाट आक्रान्त छ। दैनिक हजारौं संक्रमित थपिइरहेका छन्।

अस्पताल भरिभराउ छन्।  अक्सिजन अभावमा संक्रमितको ज्यान गइरहेको छ। यो विषम परिस्थितिबाट जोगिन र बाहिर निस्किने विकल्प साँघुरिँदै छ।

यो सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनसँग हेल्थपोस्ट नेपालका लागि अशिम सापकोटाले गरेको कुुराकानी :

पछिल्लो समय संक्रमितको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ?

पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागेको छ। अस्पतालका बेड, भेन्टिलेटर र आइसियु भरिइसकेका छन्।

सिकिस्त बिरामीको संख्या बढ्दो छ। अहिलेको अवस्था मध्यनजर गर्नुपर्दा गम्भीर अवस्थामा हामी गुज्रिरहेका छाैं। आगामी दिनमा गम्भीर अवस्थाका बिरामीले पनि बेड नपाउने अवस्था छ।

पछिल्लो समयको संक्रमण पहिलो लहरको भन्दा तीव्र गतिमा देखिन्छ। त्यसैगरी धेरैलाई भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था देखिएको छ। कोरोना माहामारी आगामी दिनमा के कस्तो हुन्छ भन्ने कुरा हाम्रो व्यवहारअनुसार भर पर्छ।

अहिलेको अवस्था आउनुमा भाइरसको नयाँ भेरिएन्टलाई कारण ठानिएको छ, तर अनुसन्धान छैन, महामारीको स्वरूप परिवर्तन भएको हो त?

एकपछि अर्को वर्ष वा भाइरस एउटा समयपछि अर्को समयमा आउँदा यसको स्वरूप बदलिनु स्वाभाविक हो। तर, कोरोना भाइरसको भेरिएन्ट यसपटक झन् कडा भएर देखापरिरहेको छ। झन् कडा र संक्रामक भएर आएको भेरिएन्टले समुदायमा ठूलो संख्यामा संक्रमित बनाइरहेको छ।

अरू भाइरसमा पनि सामान्यतः म्युुटेसन हुुनसक्ने सम्भावना रहन्छ। कोरोना भाइरसले समय–समयमा दुुःख दिइरहेको अवस्था छ।

मुलुकभरका समुदायमा सबै वर्गका मानिसमा खोपको पहुँच नपुग्दासम्म यसले दुःख दिइरहन्छ।

विज्ञहरूले पहिलेदेखि दोस्रो, तेस्रो लहरको चेतावनी दिइरहेकै थिए, तर राजनीतिक दलले यसको गम्भीरतालाई बोध गरेनन् हो? के हामीले यो अवस्थालाई रोक्न सक्थ्यौं?

कोरोना भाइरस फैलाउने मुख्य कारण भीडभाड हुनु हो। जतिबेला सावधानी आवश्यक थियो, त्यतिबेला दलहरू राजनीतिक सभा, सम्मेलनको होडमा भए।

हामीले तत्काल यसको असर नदेखिए पनि केही हप्तामा असर देखिन सक्छ भनेका थियौं। सोही क्रममा नागरिक तहबाट पनि सांस्कृतिक पर्व, मेला, जात्रा भए।

त्यतिबेला पनि विदेश जानका लागि पिसिआर गर्दा समेत दैनिक ८० देखि सयजनासम्म संक्रमित थपिइरहेका थिए। यसको अर्थ समुदायमा भाइरस सुक्ष्मरूपमा फैलिरहेको छ भन्ने नै हुन्थ्यो। तर हामीले यसलाई वास्ता गरेनाैं।

लामो समयसम्मको बन्दाबन्दीपछि कोरोना संक्रमण शून्यमै पुगे जसरी हामी सामान्य जीवनमा फर्कियौं। संख्या घटेको पक्कै थियो, तर भाइरसको जोखिम त घटेको थिएन नि!

अहिले दोस्रो लहरको सुुरुवाती समय हो। यो अवस्था तत्काल घटिहाल्न सक्दैन। स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम राख्दै उच्च सतर्कता अपनाउनु नै अहिलेको विकल्प हो।

यो बीचमा सरकारले पनि महामारीको तयारीलाई पूरै बिर्सियो। यो बीचको समयमा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसनजस्ता कुुरालाई निरन्तरता दिनुपथ्र्यो।

पहिलो लहरको कोरोना महामारीमा निर्माण गरिएको संरचनालाई व्यवस्थित तथा निरन्तरता दिएको भए पनि अहिले व्यवस्थापन यति कठिन हुन्न थियो।

भाइरसको स्वरूपमा देखिएको परिवर्तनले सिर्जना भएको जटिल अवस्थालाई कसरी बुझ्ने?

भाइरसको स्वरूपमा आएको परिवर्तनबारे हाम्रो देशकै सन्दर्भमा खासै अनुुसन्धान भएको छैन। तर, अन्तर्राष्ट्रियरूपमा भइरहेका अनुसन्धानका आधारमा अहिलेको अवस्था आउनमा भाइरसकै परिवर्तन हो भन्न सकिन्छ।

नयाँ संक्रमण दर र संक्रमितको अवस्था हेर्दा पनि हामी सहजै अनुमान लगाउन सकिन्छ कि भाइरसमा केही न केही परिवर्तन छ। यो भेरिएन्ट पहिलाको भन्दा कम्तीमा ५० देखि ९० प्रतिशतको हारहारीमा अझ बढी आक्रमक भएर आएको बुझिन्छ।

भाइरस बढी आक्रमक हुुनुु भनेको धेरै मानिसमा संक्रमित हुनुु हो। धेरै संक्रमित हुनु भनेको अस्पताल भर्ना हुने दर, जटिलता सबै बढ्नु हो। गत वर्ष हामीकहाँ भएको संरचना र अहिले भएको संरचनामा खासै ठूलो अन्तर छैन, जनशक्ति पनि खासै थपिएको हैन।

यस्तो अवस्थामा शय्या, अन्य स्वास्थ्य पूर्वाधारको कमीले बचाउन सक्ने सम्भावना भएका बिरामीको पनि मृत्यु हुने गर्छ। त्यसैले अहिले फैलिएको दोस्रो लहर युुके भरिएन्ट अलि आक्रमक तरिकाको छ।

दस दिनदेखि मुलुकका अधिकांश ठाउँमा निषेधाज्ञा छ, यसले संक्रमण दरमा कमी ल्याउने अपेक्षा गर्न सकिन्छ?

कोरोना संक्रमण फैलन नदिन एक व्यक्तिबाट अर्को व्यक्तिको सम्पर्क कम हुनुपर्छ। सरकारले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन स्वास्थ्यको मापदण्डलाई सही तरिकाले व्यवहारमा उतार्नुपर्छ।

संक्रमण भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलनु हो। जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना नगर्ने, मास्क नलगाउने वा लगाए पनि सही तरिकाले नलगाउने हो भने त निषेधाज्ञाले मात्रै नतिजा दिन सक्दैन।

अहिले सडकमा सवारीसाधन कम भए पनि, भित्री सहरका साँघुरा गल्लीहरूमा भीडकै अवस्था छ।

एकतिर बन्दाबन्दीका कारण मानिस सकसमा छन्, अर्कोतिर सानो समूहले पनि त्यसलाई अटेरी गरिदिँदा संक्रमणको चक्र बाँकी रहने र फेरि पनि फैलिने जोखिम रहिरहन्छ।

त्यस्तो अवस्थामा फेरि पनि बन्दाबन्दी गर्नुपर्ने नै हुन्छ। त्यसैले यसको पूर्णपरिपालना, जनस्वास्थ्यका तोकिएका मापदण्डको अवलम्बन पूर्णरूपमा नभएसम्म यो शृंखला रोकिन्न।

अब खोपका विषयमा कुरा गरौं, अहिले नेपालमा सानो समूहले दोस्रो डोज र केही लाखले पहिलो डोज खोप लगाएका छन्, तर खोप लगाएकाहरू पनि निरन्तर संक्रमित भइरहँदा खोपप्रतिको भरोसामा कमी आउने हो कि भन्ने छ नि!

कोरोनाको खोप लगाउनुको अर्थ पूर्णसुरक्षित हुनु भन्ने होइन। अहिले विश्व बजारमा उपलब्ध खोप ७० देखि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएका छन्।

खोप सतप्रतिशत सुरक्षित भने हैन। खोप लगाएका व्यक्तिमा नि कोरोना संक्रमण हुन सक्दो रहेछ भन्न खोजिएको हो। मानिसलाई एक किसिमको भ्रम छ, मैले खोप लगाएको छुु मलाई कोरोना संक्रमण हुुँदैन भन्ने।

खोप लगाएपछि अवश्य पनि धेरै हदसम्म संक्रमण, जटिलताबाट जोगिन्छ। तर, परीक्षण नगरिकन कसको शरीरमा कति एन्टिबडी छ भन्न त सकिन्न।

खोप लगाएकालाई जटिल अवस्था नआउला तर खोप लगाएका व्यक्तिबाट पनि संक्रमण समुदायमा सर्ने जोखिम रहन्छ। जोकोही खोप लगाएकाले बेवास्ता गर्‍यो भने सर्न सक्छ। त्यस्तो अवस्था सिर्जना नहोस् भन्नका लागि खोप लगाएकाहरूले पनि विशेष ध्यान दिनु आवश्यक छ।

अघिल्लो लहरमा भाइरसको बढी असर वृद्धवृद्धामा देखिएको थियो, अहिले नयाँ भेरिएन्ट युवा र अन्य उमेर समूहका मानिसमा बढी जोखिम देखिएको छ भन्ने कुरामा कत्तिको सत्यता छ ?

गत वर्ष कोरोनाले युुवा समूहमा कम असर गर्छ भनिराख्दा अहिले ठिकविपरीत भएको छ। अहिले कोरोना संक्रमित तथा भर्ना हुनुपरेको युुवा समूह हो। युवा समूहले कोरोनाका कारण ज्यान गुमाउनुपरेको अवस्था छ। बालबालिकालाई पनि पहिलाको भन्दा धेरै भर्ना गर्नुपरेको छ।

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले उमेर बढी भएका समूहमा कस्तो असर पर्छ भन्ने कुुरा अझै हेर्न बाँकी छ। कोरोना भाइरसमा एक वर्षको अनुभव सँगालेरमात्र पर्याप्त हुुँदैन रहेछ। यो भाइरसलाई निरन्तर अनुुगमन तथा यसलाई नजिकबाट नियाल्नुपर्दो रहेछ।

महामारी नियन्त्रणका लागि संसारका अनुभवको कोणबाट हेर्दा हाम्रो रणनीति पर्याप्त र प्रभावकारी छ त?

कोरोनाको पहिलो लहरकै समयमा हामीले यस्ता विपत्तिसँग जुध्न समुुदायमा एउटा अस्थायी संरचना तयार पार्नुपर्छ भन्ने सिकेका हाैं। त्यसैगरी पर्याप्त अक्सिजन भएमा पनि मृत्यु दर कम गर्न सकिन्छ भन्ने पनि प्रमाणित भएकै हो।

यसको मुख्य उपचारमध्ये अक्सिजन थेरापी हो। तर, अहिले अवस्था अक्सिजनकै कारण अस्पतालहरू भर्ना गर्न पछाडि हटिरहेका छन्।

संरचना बनाएर अक्सिजनका लागि मात्रै पूर्वाधार बनाएको भए हामीले धेरै क्षति कम गर्न सक्ने रहेछौं। हाम्रा प्रयास योजनाबद्ध छैनन्। विदेश त परको कुरा हाम्रै अनुभवबाट पनि सिक्न सकेनौं जसले गर्दा अहिले अनमेनेजेबल अवस्था आएको छ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिएला कि, नसकिएला भनेर शंका पालेर बस्नुभन्दा पनि कोसिस गर्नुपर्छ। यो हामीले लड्नैपर्ने युुद्ध हो। यसअघि पनि सबै मिलेर युद्ध लडेकै हो।

हतियारसहित युद्ध मैदानमा ओर्लिएको सिपाहीले पहिलै नै हातखुट्टा छाड्यो भने त्यसै हारिहालिन्छ। यदि सिपाहीलाई हातहतियार दिएर उच्च मनोबलका साथ युुद्धमा पठाउने हो भने युद्ध जितिन्छ। मनोबल बढाउने काम भनेको सैनिक अधिकृत जर्नेलले गर्नुपर्छ। यतिबेलाको सैनिक जर्नेल भनेको स्वास्थ्य मन्त्रालय हो।

यतिबेला चिकित्सकमात्रै नभई, जनस्वास्थ्यसहित सबै विधा र क्षेत्रका मानिसमा उच्च मनोबल हुनुपर्छ। सबै शक्ति महामारी नियन्त्रणमा लगाउनुपर्छ।

कोरोना भाइरसलाई हराउनका निम्ति सबै समुदाय र वर्गका मनिसलाई खोप उपलब्ध गराउनु नै प्रमुख उपाय हो।

तर, अन्तर्राष्ट्रिय परिस्थिति खोपका लागि अनुकूल बनिरहेको छैन, पूर्णखोप नुहँदासम्म जनस्वास्थ्यका मापदण्ड पालना नै महामारीबाट निस्किने र बच्ने प्रमुख उपाय हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *