बिरामीका लागि भगवती भगवान

कोभिड–१९ को नयाँ भेरियन्टले नेपालको जनजीवन अस्तव्यस्त छ।

सरकारले मानिसहरूलाई अत्यावश्यक काम नभएसम्म बाहिर ननिस्कन अनुरोध गरिरहेको छ।

तर भगवती रानालाई बिहानै उठेर नहिडी सुखै छैन।

निषेधज्ञापछि विहान सबेरै उठनु र हतार हतार काममा जानु उनको दैनिकी बनेको छ।

भगवती भैरहवास्थित भीम अस्पतालमा निमित्त नर्सिङ इन्चार्जको भूमिकामा छिन्।

अस्पतालले अहिले कोभिड –१९ का बिरामीहरू मात्रै हेरिरहेको छ ।

दैनिकजसो बेड नपाएर अस्पतालको बरण्डामा छटपटिरहेका र उपचार हुँदाहुँदै ज्यान गुमाएका कोभिड १९ का संक्रमित  देख्नु उनको बाध्यता बनेको छ ।

काममा खटिरहेका स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुँदा काम गर्नमा जनशक्ति नपुगिरहेको भगवती राना बताउँछिन्।

मेरै साथीहरू बिरामी हुनुभएको छ, त्यसैले थोरै जनशक्तिले धेरै काम गर्नु पर्ने वाध्यता छ–उनले भनिन्।

यो महामारीले मानसिक दबाब झनै डरलाग्दो रहेको नर्स भगवतीको बताउँछिन्।

सुरुमा संक्रमितहरूसँग सम्पर्कमा आउनुअघि स्वास्थ्यकर्मीहरूले लगाउनु पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) आइनपुगेर तनाव भएको थियो उनले भनिन्, अहिले हरेक घण्टामा पीपीइ फेर्नु पर्दा नपुग्ने अवस्था आउने गरेको छ।

भीम अस्पतालमा अहिले कोभिड–१९ संक्रमणका कारण उपचारको क्रममा ज्यान गइरहेको छ।

व्यवस्थापनदेखि लिएर उपचारमा अग्रभागमा खटिंदै आएकी भगवती राना अहिले जत्तिको काममा दबाब र तनाव यसअघि कहिल्यै नव्यहोरेको बताउँछिन्।

एकातिर सक्दो प्रयास गर्दा पनि बिरामीहरूको आफ्नै आँखा अगाडि निधन भैरहेको छ भने संक्रमणबाट आफू कसरी जोगिने भन्ने चिन्ता पनि छ, उनले भनिन्।

घरमा ९३ वर्षिय ससुरा बुबा हुनुहुन्छ, उहाँको र बालबच्चाको स्वास्थ्यको जोखिमको मानसिक त्रास पनि उत्तिकै छ, कसरी आफ्नो र परिवारको स्वास्थ्यलाई बचाएर बिरामीको हेरचाह गर्न सकिन्छ भन्ने कुराले साह्रै मानसिक तनाव हुँदो रहेछ।

घरबाट भएको सहयोगका कारण कोरोनाको महामारीको संकटमा जुध्न हिम्मत बढेको भगवती बताउँछिन्।

श्रीमान अस्पतालसम्म पुर्याउनका लागि आफैले ल्याउने लैजाने गर्नुहुन्छ, बिरामीको सेवामा खट्न प्रोत्साहित गर्नुहुन्छ, भगवतीले भनिन्।

त्यसो त नर्सिङ इन्चार्ज भगवती आफू मात्रै होइन अस्पतालमा कार्यरत अरू नर्सहरूको मनोबल बढाउन पनि खटिरहेकी छिन्। काममा अरूको हेरचाहका साथसाथै आफू कसरी जोगिने भन्ने चिन्ता पर्ने उनी बताउँछिन्।

यस्तो बेला अग्रपंक्तिमा रहेका हामी स्वास्थ्यकर्मीहरू त्रसित हुनु स्वाभाविक हो । हामी सबैको आफ्नो परिवारको रेखदेख गर्नु पर्ने जिम्मेवारी छ । त्यसले गर्दा पनि महामारीले स्वास्थ्यकर्मीहरूमाथि निकै दबाब र तनाव थपिदिएको छ,भगवतीले भनिन् ।

संक्रामक महामारीको बेलामा मात्रै हैन, सामान्य अवस्थामा पनि बिरामीको हेरविचार गर्न नर्सहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । बिरामीको तापक्रम, रक्तचाप इत्यादी मापन गर्ने, समय समयमा औषधी दिने, शल्यक्रिया गर्दा विशेषज्ञ डाक्टरलाई सघाउने जस्ता काम नर्सले नै गर्दछन् । यस्तो त्राससँग जुध्न सघाउन परिवारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

कोरोना भाइरसको प्रथम चरणमा भन्दा अहिलेको नयाँ भेरियन्टमा त्रास बढी झेल्नुपरेको उनको अनुभव छ ।

पहिलेको भाइरस कमजोर थियो, अहिले कडा खालको भाइरस भएकाले संक्रमण हुनेहरु सिकिस्त अवस्थामा पुग्ने गरेका छन्, तिनको उपचारमा खटिंदा आफ्नो र परिवारको स्वास्थ्य अवस्थालाई सम्झिएर मनोबल पनि गिर्दो रहेछ,भगवती भन्छिन्।

कतिपय नर्सहरु क्वाटरमै बसेपनि म लगायत घरमा जानेहरुलाई भने परिवारको पनि दवाव हुन्छ, उनले भनिन्।

अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको डिस्चार्ज फ्लो कम रहेको उनको अनुभव छ।

धेरैजसो बिरामीलाई प्रतिमिनेट १५ लिटर भन्दा कम अक्सिजनले थेग्दैन, यसका लागि अस्पतालमा अक्सिजन पाइपलाइन आवश्यक भैसकेको छ, सिलिन्डरले नधान्ने अवस्था आएको छ, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय