अक्सिजन व्यवस्थापन गर्न सिसिएमसीले बनायो समिति

कोरोना संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले देशभर अक्सिजनको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गरेको छ।

देशभरका अस्पतालहरूमा अक्सिजनको अभाव चुलिएपछि सिसिएमसीले समिति बनाएको हो। समितिमा गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य छन्। त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकएक जना चिकित्सक पनि प्रतिनिधिका रुपमा समितिमा रहनेछन्।

समितिले केन्द्रका संयोजक एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा सैनिक मुख्यालय छाउनीस्थित सिसिएमसीको कार्यालयबाट काम गर्नेछ।

समितिले देशभर अक्सिजनको अवस्था, उत्पादन तथा आवश्यकतालाई विश्लेषण गरेर अक्सिजन व्यवस्थापन गर्नेछ।

देशभरका अस्पतालहरूमा अक्सिजनको कमी भएपछि निजी क्षेत्र तथा नागरिक आफैले पनि अक्सिजन संकलनका लागि अभियान चलाएका छन्। निजी क्षेत्र तथा उद्योगहरूमा लुकाएर राखेको अक्सिजन प्रहरीले वरामद गरिरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक प्रतिष्ठानहरुमा प्रयोग भएका १ हजार ८ सय ७५ अक्सिजनका सिलिन्डर भरेर अस्पतालहरूमा पठाउनका लागि फेरि ग्यास उद्योगमा पठाइएको छ। अघिल्लो शुक्रबारसम्म २ हजार ९ सय ६९ सिलिन्डर जम्मा भएको पनि मन्त्रालयले जनाएको छ।

चीन सरकारले दिएको ४ सय सिलिन्डर अक्सिजन लिनका लागि नेपाल वायु सेवा निगमको जहाज त्यहाँ पठाउने तयारी पनि सरकारले गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय