खोप कमिसनको लडाइँ : ‘ड्यामेज कन्ट्रोल’ निम्ति आधार बनाइएको सेरमको पत्र नै झुट

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत् सेरम इन्स्टिच्युट अफ इण्डियाले भवनमा आगलागीका कारण कोभिसिल्ड दिन नसकेको भन्दै खोप आपूर्तिमा आफ्नो कमजोरी लुकाउने प्रयत्न गर्‌यो।

त्यही मन्त्रालयमा अझै स्वास्थ्य मन्त्रीका रुपमा आसिन ह्रदयेश त्रिपाठीले चाहिं सेरमका नेपाली एजेन्टहरू (प्रधानमन्त्री केपी ओलीनिकट व्यापारीहरू) बाट अवरोध भएका कारण खोप ल्याउन असफल भएको दाबी गर्दै आएका थिए। उनले आगलागीको कुरा गरेनन्।

त्रिपाठीको उक्त भनाईले छेडिएको राष्ट्रिय चर्चा सेलाउन नपाउँदै उनले आफ्ना कर्मचारीमार्फत् वक्तव्य जारी गर्न लगाए, सेरमले गत मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई पठाएको पत्रलाई उद्धृत गर्दै।

उक्त पत्रमा सेरमले ‘आगलागीको कारण’लाई खोप आपूर्तिमा असमर्थताको आधार देखाइएको छ। त्रिपाठी उक्त वक्तव्य जारी गर्न किन राजी भए भन्ने यतिबेला चासोको बिषय बनेको छ। सेरमका नेपाली एजेन्ट तथा प्रधानमन्त्री निकट विवादास्पद व्यापारी सुरज वैद्यले उक्त वक्तव्यलाई ‘इमबेड’ गर्दै टिव्ट गरेका छन्।

उनले भनेका छन्– ‘म एउटा जिम्मेवार र सरकारलाई अप्ठेरो समयमा सहयोग गर्ने नागरिक हुँ, यो वक्तव्यले ममाथि गरिएका शंकालाई दूर गर्छ होला भन्ने आशा राख्दछु।’

वैद्यले यो वक्तव्यलाई यति अपनत्वका साथ सम्बोधन गर्नुले उनी अर्थात् प्रधानमन्त्री समूह र स्वास्थ्य मन्त्री त्रिपाठीबीच सुलह संवाद भएको हो कि भन्ने अनुमानलाई बल दिएको छ।

पत्र आफैंमा झुठ

सेरमले नेपाल सरकारले भुक्तानी पठाइसकेको २० लाख डोजमध्ये आपूर्ति गर्न बाँकी १० लाख डोजका सन्दर्भमा लेखेको यो पत्रको व्यहोरा झुठ र प्रभावमा पठाइएको भन्ने सेरमका सिइओ आदर पुनवालाकै अन्य सार्वजनिक अभिव्यक्तिबाट पुष्टि हुन्छ।

जनवरी २१ मा सेरमको एउटा नयाँ भवनमा आगलागी भएको थियो। त्यसको भोलिपल्टै पुनावालाले पत्रकार सम्मेलन गर्दै उक्त घटनाका कारण कोभिसिल्ड उत्पादनमा असर नगर्ने प्रष्ट पारे।

घटनाबारे जानकारी लिन सेरम मुख्यालय नै पुगेको महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकेरलाई सँगै राखेर पत्रकार सम्मेलन गरेका उनले भनेका थिए–‘यो आगलागीले अक्सफोर्ड–अष्ट्राजेन्का कोभिसिल्ड म्भाक्सिन उत्पादनमा असर पार्दैन, किनकी हामीसँगै धेरैवटा भण्डार सुविधा छ।

र, अहिले त्यहाँ कुनै भ्याक्सिन उत्पादन भइरहेको थिएन। खासमा यो नयाँ भवन हो र विसिजी, रोटाभाइरस भ्याक्सिन उप्पादनका लागि यो निर्माण गरिएको हो।

भौतिक क्षतिचाहीँ करीब हजार करोड ९भारु० बराबरको हुन गयो।’ उक्त पत्रकार सम्मेलनलाई भारतका सबैजसो मूलधारका सन्चारमाध्यमले प्रमुखका साथ ठाउँ दिएका थिए।

सार्वजनिक रुपमै कोभिसिल्ड उत्पादनमा असर नपर्ने घोषणा गरे पनि नेपालको स्वास्थ्य सेवा विभागलाई पठाएको पत्रमा चाहिं ‘हाम्रो एउटा भवनमा भएको आगलागीले हाम्रो मासिक उत्पादन क्षमता अभिवृद्धिमा वाधा खडा गरेको छ’ भन्ने व्यहोरा उल्लेख छ।

नेपाल सरकारले सेरमको उक्त पत्रको न जवाफ दिएको छ न त्यसको सत्यपुष्टिमै ध्यान दिएको छ। बरु आयोमेल डटकमले पत्र सार्वजनिक गरेको केही दिनमै स्वास्थ्य मन्त्रालयले खोप आपूर्ति प्रक्रियामा कमिशनका लागि शंकास्पद भुमिका खेलेका सुरज–रितु वैद्य, विजय दुगडलगायतलाई सजिलो पार्ने गरी वक्तव्य जारी गर्न पुग्यो।

वालुवाटारको मध्यस्थता कमिशन काण्डले आफूद्धारा संरक्षित व्यापारी र स्वास्थ्यमन्त्रीबीचको द्धन्द्ध बाहिरिएपछि प्रधानमन्त्री पक्षले पछिल्ला दिनमा केही ‘मध्यस्थता’ गरी ‘डेमेज कन्ट्रोल’ गर्न खोजेको स्रोतहरु बताउँछन्।

वालुवाटारबाट प्रधानमन्त्री ‘सर्कल’का एक वरिष्ठ अधिकारीले सुरज वैद्यलाई फोन गरी ‘अप्ठेरो पर्ला जस्तो छ, छिटाे एउटा वक्तव्य जारी गर्न लगाउनु’ भनेर अह्राएको थियो। वालुवाटारबाट उक्त फोन आएसँगै वैद्यले टिवटरमा स्वास्थ्यमन्त्रीलाई आफूमाथिको आरोप पुष्टि गर्न चेतावनी दिएका थिए।

उता विजय दुगडले चाहि सेरमको आधिकारिक एजेन्ट भनेर दर्ता भएको हुकुम इन्टरप्राइेजेजका तर्फबाट खण्डन वक्तव्य जारी गरेका थिए। वालुवाटारको मध्यस्थता चल्ने क्रममै एजेन्टहरुले सेरमबाट मगाएको उक्त पत्रलाई आधार बनाएर वक्तव्य जारी गर्न लगाइएको स्रोत बताउँछ।

प्रधानमन्त्री केपी ओली विश्वासको मतको तनावमा रहेका बेला आफ्नो समर्थनमा रहेका स्वास्थ्यमन्त्रीलाई प्रतक्ष्य चिढाउन नहुने, आफ्ना प्रिय व्यापारीलाई पनि जोगाउनुपर्ने वाध्यतमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय