अस्पताल चहार्दाचहार्दै जान्छ संक्रमितको ज्यान, सरकार भन्छ– ७१२ आइसियु र ४४३ भेन्टिलेटर खाली!

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकाका अस्पतालमा खुट्टा हाल्ने ठाउँ छैन। संक्रमितले अस्पताल भरिएका छन्।

बेड समेत नपाएर कुर्सीमा बसेका छन्।

कोभिड संक्रमितको उपचारमा खटिएका चिकित्सक बेला–बेला सामाजिक सञ्जालमा लेखिरहन्छन्– ‘अस्पतालमा बेड खाली छैन। घरमा सुरक्षित बस्नुहोला।’

काठमाडौं उपत्यकामा भेन्टिलेटर तथा आइसियु अभावले संक्रमितलाई देश बाहिर लगेको सयौं उदाहरण छन्।

तर, सरकारको तथ्यांकले अझै पनि आइसियु तथा भेन्टिलेटर खाली रहेको देखाउँछ।

गृह मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहरको संक्रमणलाई प्रभावकारी रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ सय ९३ अस्पताल छुट्ट्याइएका छन्।

ती अस्पतालमा २० हजार ३ सय ६१ बेड उपलब्ध छन्। जसमध्ये १ हजार ८ सय १७ आइसियु बेड हुन्। अहिले प्रयोगमा १ हजार १ सय ५ आएका छन्। त्यस्तै कोरोना संक्रमितका लागि ७ सय ३६ भेन्टिलेटर छन्। तीमध्ये २ सय ९३ प्रयोगमा आएका छन्।

गृहको तथ्यांकअनुसार ४ सय ४३ भेन्टिलेटर अझै प्रयोगमा आएका छैनन् भने ७ सय १२ आइसियु बेड खाली नै छन्।

तर, यथार्थमा देशभरिका अस्पतालमा आइसियु र भेन्टिलेटर हाहाकार नै छ।

बेड नपाएर सयौं संक्रमितको मृत्यु भएको छ।

तर, सरकारको तथ्यांकले बेड खाली रहेको देखाउँछ।

कोरोनाको भयावह अवस्थामा पनि सरकारले आफ्ना ‘संयन्त्र’ प्रयोगमा ल्याएको छैन।

दैनिक ९ हजारका दरले कोरोना संक्रमित थपिएका छन् भने ५० भन्दा बढीको मृत्यु हुने गरेको छ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा कोरोना संक्रमण अझै नियन्त्रणमा रहेको दाबी गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई भन्दै हिँडिरहेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *