घर बसेका कोरोना संक्रमितले अक्सिजन मात्रा घटे यी औषधी खानुस्!

हेल्थपोस्ट नेपाल

अहिले देशभरि कोरोना संक्रमितले अस्पतालमा बेड पाउन सकेका छैनन्। आइसियु, भेन्टिलेटर खाली छैनन्। अक्सिजन नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्।

होम आइसोलेसनमा बस्दाबस्दै अक्सिजनको मात्रा घटे तुरुन्तै ‘स्टेरोइड’ नामक औषधी खान सुरु गर्न चिकित्सकले सुझाव दिएका छन्।

अहिले अस्पताल भर्ना गरेर पनि अक्सिजन नपाएर सयौं संक्रमित छटपटाइरहेका छन्।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सामाजिक सञ्जालमा घर बसेका बेला अक्सिजनको मात्रा घटेको खण्डमा स्टेरोइड औषधीले राम्रो काम गर्ने बताएका छन्।

‘कोभिडका लागि ‘स्टेरोइड’ सबैभन्दा महत्वपूर्ण, प्राणदायी औषधी हो,’ डा. सुवेदी भन्छन्, ‘याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ। तर, अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी सुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।’

अक्सिमिटरले अक्सिजनको लेभल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।

विभिन्न अध्ययनले कोभिड—१९ का गम्भीर बिरामीको जीवन बचाउन सस्तो र सहजै उपलब्ध स्टेरोइड उपयोगी हुनसक्ने निष्कर्ष निकालेका छन्।

डा. सुवेदीको अनुसार कि त
Tab Methylprednisolone 32 mg -(१६ एमजीको २ चक्की वा ८ एमजीको ४ चक्की) एकैचोटि दिनको एकपटक खाने
वा

Tab Dexamethasone 6 mg  (०.५ एमजीका १२ चक्की) एकैचोटि दिनको एकपटक
वा
Tab Prednisolone 40 mg दिनको एकपटक खाना खइसकेपछि खाने।

‘यी औषधीले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन्छ,’ डा. सुवेदी भन्छन्।

औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोसिस गर्न भने छाड्नु हुँदैन।

तर, यो औषधी सुरु गर्दा रोगको बेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिँ अक्सिजन सुरु गर्नै नपर्ने हुनसक्छ।

यी औषधी बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं।



Leave a Reply

Your email address will not be published. Required fields are marked *