‘अस्पतालको हालत र बिरामीको चाप देखेर मनोबल कमजोर हुँदै गएको छ’

हेल्थपोस्ट नेपाल
स्वाँ…स्वाँ…स्वाँ…।हलभरि विरक्त आवाज सुनिँदैछ।

सास लिन निकै कठिनाइ भइरहेको छ। तै पनि जीवनसँग संघर्ष त गर्नु नै छ।

सबैको मुखमा अक्सिजन मास्क। कोही बेडमा छटपटाइरहेका त कोही बेड नपाएर भुइँमै लडिरहेका।

कोही अस्पतालको ढोकाबाट छड्के नजर लगाउँदै बेड खाली होला कि भन्ने आशामा चिहाइरहेका छन्।

कोही शव कहिले निकालिन्छ र आफ्ना मान्छेलाई सारौंला भनेर ढुकिरहेका छन्।

छिन् छिनमै फोन बजिरहन्छ–अक्सिजन छ? बेड खाली छ?

‘सोचेको भन्दा कयौं गुणा भयावह स्थिति छ,’ भेरी अस्पतालकी नर्सिङ निरीक्षक शारदाकुमारी चौधरी भन्छिन्, ‘अस्पतालले अब नयाँ संक्रमित बिरामी थेग्न सक्दैन।’

हरेक दिन १५-२० संक्रमित अस्पताल भर्ना हुन आउँछन् भने होम आइसोलेसनमा रहेकाहरुको बारम्बार फोन आइरहन्छ।

उनले भनिन्, ‘हामीले कसलाई राख्ने र कसलाई नराख्ने सोच्न पनि भ्याउँदैनौं। हाम्रो एक निर्णयले कोही बाँच्न पाउँछन् भने कोही मर्नुपर्ने हुन्छ।’

अस्पतालमा पर्याप्त शय्या त छैन नै, पर्याप्त अक्सिजन पनि छैन। अवस्था यस्तो छ कि, भुइँमै बस्न चाहने बिरामीलाई पनि राख्न नसक्ने अवस्थामा छ अस्पताल।

अस्पताल कोरोना संक्रमितले भरिभराउ छ। हल नम्बर १ मा ५० जना संक्रमितको उपचार भइरहेको छ भने हल २ मा १८ जना, हल तीनमा २५ र पेइङ वार्डमा ५७।

सबै हल खचाखच भरिएको छ भने भेन्टिलेटर र आईसियुको अवस्था पनि उस्तै।

‘पहिले मानिस मरेको बेड नदिन भन्थे आग्रह आउथ्यो। तर अहिले कहिले शव उठाइन्छ र त्यहाँ आफ्नो बिरामी राख्न पाइन्छ भनेर कुरेर बस्छन्,’ उनी भन्छिन्।

हाल अस्पतालमा यस्तो अवस्था पनि आएको छ कि विरामी भर्ना प्रकृया पुरा गर्नु अगाडि नै शय्या बुकिङ गर्ने काम हुन्छ।

‘एउटा बेड खाली हुनेबित्तिकै बिरामीलाई हुत्याएर त्यहाँ राखिहाल्छन् ताकि कसैले उक्त बेडमा हस्तक्षप नगरुन्, अनि मात्र भर्नाको प्रकृया अघि बढाउँछन्,’ उनले भनिन्।

गर्मी ठाउँ अनि बिरामीको चापले बिरामी मात्र होइन उनीहरुलाई हेरचाह गर्ने चिकित्सक तथा नर्सहरु नै बेहोस हुने गरेका छन्।

‘दैनिक ४-५ जना नर्स र चिकित्सकहरु बेहोस हुने गरेका छन्,’ चौधरीले बताइन्।

शिरदखि खुट्टासम्म ढाकेको पिपिई, मास्क अनि गर्मीका कारण स्वास्थ्यकर्मीहरु पीडित छन्। पसीनाले शरीर पुरै भिजेका हुन्छन्, पानीमा डुबेर आएजस्तो अवस्था हुन्छ । आधा घण्टामात्र पिपिई लगाएर बस्दा पनि चक्कर आउने गरेको चौधरी बताउँछिन्।

‘संक्रमित हुने डरसँगै बिरामीको चाप र रोदन सुनेर हैरान भइसकेका छौं। त्यसमाथि गर्मीका कारण हाम्रो ऊर्जा नै सकिइसकेको छ। दैनिक कोही न कोही बेहोस हुने गरेका छन्,’ चौधरीले बताइन्।

एक दिन भगवती आफैं बेहोस भइन्। नर्सहरुले पानी खुवाए र एकैछिन आराम गरेपछि हल्का महसुस भयो। भर्खरै जुम्लाबाट आएका चिकित्सक पनि गर्मीका कारण बेहोस भए। उनलाई पनि सम्हाल्नुपर्ने स्थिति आइलाग्यो।

भेरी अस्पतालका अधिकाशं कर्मचारी तथा स्वास्थ्यकर्मीहरु दोस्रो लहरको कोरोनाको सिकार भइसकेका छन्। केही बाहेक सबै स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भइसकेका छन्। अझ कोही त तीन पटक पनि संक्रमित भइसकेका छन्। नयाँ भर्ना हुन आएका नर्सहरु भने अहिलेसम्म बँचेका छन्।

अस्पतालले ५० जना स्वास्थ्यकर्मीहरु करारका लागि दरबन्दी थपेको थियो, जसमा केही संख्या अपुग त थियो नै, तर पदपूर्ति भए पनि स्वास्थ्यकर्मीहरुले छाडेर जाने क्रम पनि बढिरहेको छ।

चौधरीका अनुसार नयाँ भर्ना भएका दुई नर्स काम छाडेर गए भने दुई जना काम गर्दागर्दै फर्केरै आएनन्।

‘आउन् पनि कसरी, उनीहरुको ज्यान पनि जोखिममा छ। घर परिवारको दबाब पनि हुन्छ भने अस्पतालको हालत अनि बिरामीको चाप देखेर सबैको मनोबल कम हुँदै गएको छ,’ उनले भनिन्।

२८ वर्षदेखि नर्सिङ पेशा र सोही अस्पतालमा कार्यरत चौधरीले अहिले आएर यो पेशा किन रोजेँ भन्ने महसुस भइरहेको बताइन् ‘बिरामीलाई मार्ने कि बचाउने निर्णय लिनुपर्ने अवस्था आएको छ। यी सबै विवशता देखेर आफैँ तनावमा हुन्छु, उनले भनिन्।

यति लामो समयसम्म नर्सिङ पेशामा रहेर तीन वर्ष मात्र बाँकी छ अवकास पाउन। यति लामो समयमा बिरामीलाई सेवा दिइरहेको खुसी सबै कोरोनाले सकिन्छ भन्ने पीर उनमा छ। ‘अबको तीन वर्ष पनि बिरामीकै सेवामा रहने छु,’ उनले भनिन्।

तर उनलाई सबैभन्दा दुःखी तब बनाउँछ, जतिखेर दिनरात काम गर्दा पनि बिरामीका आफन्त असहयोग गर्छन्।

हाल कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीहरु पनि बिरामी भएरहेका छन्। यसका कारण जनशक्तिको अभाव भइरहेको छ। यस्तो समयमा बिरामीका आफन्तले पनि बिरामीको हेरचाह गरिदिए स्वास्थ्यकर्मीहरुलाई सहयोग हुने उनी बताउँछिन्।

एक सिफ्टमा ५ जना नर्स हुन्छन् भने उक्त समयमा उनीहरुले झण्डै ६० जना बिरामीहरुलाई हेर्नुपर्ने हुन्छ। गम्भीर भएका बिरामीलाई उनीहरुले मात्र हेर्न भ्याउँदैनन्।

‘हामीले बिरामीलाई स्वास कसरी फेर्न सजिलो हुन्छ, अक्सिजन मास्क कसरी लगाउने भनेर सिकाउँछौं, कतिले आफ्नो मान्छेको हेरचाह गर्छन् भने कतिले नर्सलाई नै जिम्मेवार ठहर्‍याउँछन्,’ उनले भनिन्।

‘सबैभन्दा दुःख के मा छ भने यहाँका मानिसहरु सुरुमै सचेत भएर उपचार गर्न जाँदैनन्, जसका कारण बिरामी गम्भीर अवस्थामा पुगिसकेका हुन्छन्। पहिले नै उपचार गरिए आधाभन्दा बढी संक्रमितहरु गम्भीर हुँदैनथे भने धेरैले ज्यान पनि गुमाउनु पर्दैनथ्यो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *