कोरोना पीडा : ‘एक्स-रे’ पनि गर्न मान्दैनन् अस्पताल
झापा बिर्तामोड नगरपालिका-४ का कोरोना संक्रमित परिवारले एक्स–रे का लागि तीनवटा अस्पताल चाहार्नु परेको छ।
‘सुरुमा बिएन्डसी हस्पिटलमा कुरा गरें। भर्ना भएका बाहेकको एक्स–रे गर्न सकिँदैन भन्ने जवाफ आयो,’ संक्रमित परिवारका सदस्य गणेश पोखरेलले भने,‘ त्यसपछि मेची अस्पतालमा सम्पर्क गरियो। त्यहाँबाट के-के सामान बिग्रिएको छ, अहिले हुँदैन भन्ने जवाफ आयो।’
झापाको सबैभन्दा सुविधा सम्पन्न र काठमाडौंबाट हेलिकप्टरमा कोरोनाका बिरामी ल्याइएको भनी प्रचार गरिएको बिएन्डसी र साविक मेची अञ्चलकै ठूलो र सुविधा सम्पन्न भनिएको मेची प्रादेशिक अस्पताल भद्रपुरमामा एक्स–रे सुविधा नपाइने भएपछि निराश बनेका पोखरेलले विर्तामोडकै विर्तासिटी हस्पिटलमा एक्सरे सुविधा लिएको बताए।
नेपाल प्रेस काउन्सिलका सदस्यसमेत रहेका पत्रकार पोखरेलको परिवारका ६ जना सदस्य कोरोना संक्रमित भइसकेका छन्। सबैजना हाल होम आइसोलेसनमा छन्।
संक्रमितलाई निमोनिया भएको छ कि छैन भनेर थाहा पाउनका लागि एक्स–रे गरिन्छ। कोरोना महामारीका बेला सरकारी र निजी जुनसुकै अस्पतालले संक्रमितलाई एक्स–रे सुविधा दिनु पर्ने हो। तर, सरकारी अस्पताल मेचीलेसमेत यो सेवा दिने गरेको छैन।
पत्रकार पोखरेलले बिएन्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी र मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेललाई फोन सम्पर्क गरेर एक्स–रे सुविधाका लागि अनुरोध गरेको बताए।
उनले विर्तासिटी हस्पिटलमा एक्स–रे गरिदिने भएपछि बिरामी बोक्न एम्बुलेन्ससमेत नपाएको बताए।
‘संक्रमित भएका बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स चाहियो भनेर थुप्रै ठाउँ हारगुहार गरियो,’ उनले भने,‘तर कहीँ पाइएन।’
विर्तामोड नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्की र स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्कालाई आफूले सम्पर्क गरेको उनले बताए।
त्यसपछि एकजना चिनेको निजी गाडीका चालकलाई अनुरोध गरेर निजी गाडीमै संक्रमितहरुलाई अस्पतालमा लगिएको पोखरेलले बताए।
झापामा यो बाहिर आएको प्रतिनिधि घटना मात्रै हो। यस्तो सास्ती र हुर्मत सहनेहरुको संख्याको ग्राफ फराकिलो छ।