सासको सकस…
कोभिडको आँधी यस्तो वेगले चलिरहेको छ कि त्यो वेग थाम्ने सामर्थ्य कुनै मनुष्यको छ जस्तो लाग्दैन।
हरेक व्यक्तिको परिवारमा कोही न कोहीलाई त्यो आँधीले बेरिसकेको छ।
फोनले विश्राम पाएको रेकर्ड छैन।
‘अक्सिजन कम भयो। बेड छ?’ आइसियुको व्यवस्था गर्न सकिन्छ?’
यस्ता अनगिन्ती कलहरूले फोन व्यस्त हुने गर्छ। नचिनेका नम्बर त उठाउन पनि डर लागेर आउँछ। कोभिड भाइरसले शरिरमा यस्तो उत्पात गर्छ कि शरीर पूरै अक्सिजनको भोको हुन्छ।
अनेकौं दृश्यमध्य एक दृश्यले मानसपटल केही दिन सम्म रिगाइरहन्छ मलाई।
एक २५ वर्षको पुरुष कोभिडसँग जुधिरहेका छन्। त्यो देख्ने नर्स अनि डाक्टरलाई कति पीडा हुन्छ, सास तान्न नसकिरहेका उनलाई झन् कति पीडा होला?
यस्तो लाग्छ कि, केही कुराले सास पूरै खिचेर बाहिर लैजाँदै छ। सासका लागि छट्पटिरहेको दृश्य।
केही कुरा भन्ने प्रयास गरिरहेका हुन्छन् उनी। तर शब्द पनि पूरा गर्न नसक्ने हुन्छन्।
गा….ह्रो….भ….यो……..बा….बा….!
सायद यमदुतहरू प्राणवायु खिच्ने प्रतिस्पर्धामा छन्। यसो खिच्न खोज्छन् यमपासमा खिया लागेर हो कि अड्किन्छ। न पूरै सास बन्द हुन्छ, न सास पूरै रहन्छ।
केही सेकेन्डमा फेरि लामो सास आउँछ। अनि त्यो सास फेरि सतही हुन्छ। अक्सिजन एकैपटक २० प्रतिशतमा झर्छ। र फेरि अक्सिजनको मात्रा बढाउँदा केही बढेजस्तो हुन्छ। ६० प्रतिशत पुग्छ। घोप्टो सुताउँदा कति गाह्रो हुन्छ होला।
तर घोप्टो नसुती कुनै उपाय नै छैन। अक्सिजनको मात्रा केही बढेर जान्छ। केही आशा पनि बढेर जान्छ। तर ७० प्रतिशत भन्दा उकालो लाग्दैन। अनि फेरि घटेर जान्छ। राम्रो सँग घोप्टो सुताउन सक्दैनन् उनका बुवाले।
त्यसैले म आफै होम्मिन्छु। जवर्जस्ती घोप्टो बनाउँछु। जति प्रयास गर्दा पनि बढ्ने केही उपाय देख्दिनँ।
बा…बा….म…..बाँच्दि…..न….!
त्यस्तो अक्सिजन नपुग्दा पनि होस भने पूरा छ।
कस्तो निर्दयी कोभिड!
लाग्छ कि यसपटक त संसारको अक्सिजन पूरै सक्ने दाउमा छ। र, अक्सिजन खपत यस्तो बढेको छ कि कुन बेला ‘सिस्टम फेल’ हुन्छ भन्ने डर छ।
आइसीयुमा, भेन्टिलेटरमा राख्न सकिन्छ कि भनेर बेडको लागि फोन गर्छु। तर कतै छैन।
बिराहीका बुवालाई आफ्नो निरीहिता देखाउँछु, ‘माफ गर्नुहोला।।।मैले तपाइँको छोरालाई बचाउन सक्दिनँ। म प्रार्थना मात्रै गर्न सक्छु।’
पीडाले रन्थनिन्छन् उनी।
‘डाक्साप। मैले तपाइँलाई के भनम्। हामी सबै निरीह छौँ।’
यतिन्जेल कयौं कलहरु आइसकेछन्।
फोन हातमा लिन नपाउँदै एउटा कल आउँछ। एकदमै मिल्ने असल साथीको फोन थियो।
फोन उठाउन नपाउँदै हतास स्वरमा भन्छ ‘साथी, आमालाई आइसियु नै चाहिने भयो। के छरु खाली भयो कि नाइँ।’
म केही बोल्दिनँ। वस् नेटवर्क समस्याको भान परोस् भनेर मौन रहन्छु।
अर्को वार्डमा भर्ना गरेर राखेको दुई दिन भएको थियो।
फेरि अर्को कल आउँछ ‘डाक्टर। जति गर्दा पनि बेड न। ७ को स्याचुरेसन् ४० पर्सेन्ट छ।’