‘हामीले त बुबा गुमायौं, अरुलाई यस्तो नहोस्’

हेल्थपोस्ट नेपाल
फाइल फोटो

भक्तपुर नगरपालिका ९ कमलविनायक मालपोतस्थित साजन लेवाले कोरोना संक्रमित आफना पिता ४९ वर्षीय तुल्सीरामलाई बचाउन भरमग्दुर प्रयास गरे।

वैशाख १० गतेदेखि दैनिक ३० हजार रुपैयाँ अस्पताललाई बुझाए पनि। तर अक्जिसन अभावमा तुल्सीरामले ज्यान गुमाउनुपर्‍यो।

साजन भन्छन्, ‘सामान्य किसानको परिवार भए पनि दैनिक यति ठूलो राशी खर्चेर बुबालाई बचाउने प्रयास गरें। तर राज्यको कमजोरीका कारण कम उमेरमै मेरो पिताले अनाहकमा ज्यान गुमाउनु पर्‍यो । आफना पिताको जस्तै अरु संक्रमितको ज्यान नजाओस् भन्दै उनी भन्छन्, ‘मेरा बुबा त मरे, तर मेरा बुबाजस्तै अरु कसैका पनि बुबा नमरुन् राज्यको कामजोरीका कारण।’

यस्तो थियो घटना
भक्तपुर इन्टरनेशनल अस्पतालमा विहीबार राति ८ बजे नर्स र डाक्टरहरु एउटा कोठाबाट अर्को कोठामा जाने आउने गरिरहेका थिए।

सबैजना तनावमा देखिन्थे। नर्स र डाक्टरहरुको यो अवस्था देखेर मनमा चिसो पस्न थाल्यो तुल्सीरामका परिवारलाई। नजिकै गएर नर्सहरुलाई सोधे कसैले केही भनेनन्।

तुल्सीरामलाई आइसीयुमा राखिएको थियो। भित्र आइसीयुका बिरामीका परिवार फोन गर्नमा नै व्यस्त थिए। त्यही क्रममा आइसीयुमा गएर हेर्दा डाक्टरहरु एक बिरामीलाई बचाउन लागिपरेका थिए।

वार्डमा राखेको ठाउँमा पर्दाले छोपेर राखेको थियो। पर्दा खोलेर हर्दा तुल्सीराम उतानो अवस्थामा थिए। उनको मुखमा अक्सिजनको मास्क पनि थिएन।

भान्जा सुरेश ह्यौगजुका अनुसार मामालाई बैशाख १० गते अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा ल्याएदेखि अक्सिजन दिइरहेको थियो।

केही दिन आइसोलेसनमा राखेर उनको स्वास्थ्यमा केही सुधार नआएपछि आइसीयुमा सारियो। कोभिडसँगै उनलाई फोक्सोमा निमोनिया देखिएको थियो।

डाक्टरका अनुसार उनलाई श्वास फेर्न गाह्रो भएको थियो। तर पनि होसमा नै थिए। उनलाई २४ सै घण्टा अक्सिजन दिनुपर्ने र सतप्रतिशत अक्सिजन दिनुपरेपछि विहीबार साँझ साढे सात बजे भेन्टिलेटरमा राख्ने तयारी भएको थियो। बाँचिन्छ भने जे गर्न पनि तयार भएको परिवारले बताएपछि भेन्टिलेटरमा राखिएको थियो।

तर राति एक्कासी ९ बजे अस्पतालले हामी बिरामीलाई हेर्न सक्दैनौं जहाँ लानुपर्ने हो लैजानु भन्यो। अस्पतालमा परिवारको रुवाबासी चल्यो। एक्कासी कहाँ लैजाने, परिवार अलमलमा पर्‍यो।

त्यही समयमा परिवार आइसीयुमा हेर्न जादा तुल्सीरामको वार्ड पर्दाले छोपेर राखिएको थियो भने र उनको मृत्यु भइसकेको थियो। अक्सिजन सकिएपछि समयमा नपाएका कारण उनको मृत्यु भएको परिवार बताउँछन्।

‘अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भयो,’ भान्जा सुरेशले भने, ‘उनीहरुले पहिला नै अक्सिजन सकिन लाग्यो हामीसँग स्टक छैन भनेर भनेको भए हामी पनि केही जुगाड गर्न सक्थ्यौं नि।’

अस्पतालले जहाँसुकै लैजाऊ भने पनि रेफर पत्र नदिएको उनले बताए। ‘यदि सबै बिरामी अलि धेरै सिकिस्त भएको भए हिजो अस्पतालमा लासै लास हुन्थ्यो,’ आक्रोसित हुँदै उनले भने।

‘सायद अग्रिम सूचना भएको वा सम्बन्धित निकायहरुको समन्वय भएको भए मेरो बुवा बाँच्नुहुन्थ्यो होला,’ छोरा साजन भन्छन्, ‘चार दिन अगाडि मेरी दिदीको पनि यही अस्पतालमा कोभिडकै कारण निधन भएको थियो। डाक्टरले उपचार गर्दागर्दै मृत्यु भयो तर अहिले अक्सिजन सकिएका कारण बुबाको मृत्यु भएको देखिएको छ।’

उपचार हुदाँहुदै बित्नु र अभावका कारण बित्नुमा धेरै फरक भएको उनको भनाई छ। तुल्सीरामसँंगै सोही अस्पतालमा उपचाररत अर्का एक जनाको पनि अक्सिजन अभावकै कारण मृत्यु भएको थियो ।

यस्तो छ अस्पतालको भनाइ–
अस्पतालले पनि अक्सिजन अभाव घटना भएको बताएको छ। अक्सिजन खोज्दाखोज्दै पनि नपाएर घटना भएको अस्पताल प्रशासनको भनाइ छ।

अक्सिजन सकिन लागेको खबर पाउनेबित्तिकै र रिफरको लागि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

बिरामीको अवस्था निकै गम्भीर अवस्था रहेको र अस्पतालले अक्सिजन राखेर नै रिफर गरे पनि बिरामीको मृत्यु भएको उनी सुनाउँछन्।

‘अहिले भक्तपुरमा मात्र होइन सबै अस्पतालमा अक्सिजनको कमी छ,’ उनले भने। त्यसैले सबै जना घरमै बसेर सुरक्षित हुन उनले आग्रह गरे।

पीडितको माग
यस्तै अवस्था अरु विरामीले भोग्नु नपरोस् भन्ने उल्लेख गर्दै परिवारले अस्पताललाई कारबाही हुनुपर्ने माग गरेको छ। अहिलेसम्म तुल्सीरामको शव उठेको छैन भने परिवारले अस्पतालसँंग क्षतिपूर्ति माग गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *