उपत्यकाका अस्पतालले नै गर्छन् ‘रेम्डेसिभिर’को कालोबजारी

कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ औषधि अस्पतालहरूले बढी मूल्य लिएर बेच्ने गरेको पाइएको छ।

काठमाडौं उपत्यकाका ठूला अस्पतालहरूको ५१ सय रूपैयाँ बढी लिएको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगमन गरेको थियो ।

उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए।

‘अनुगमनका क्रममा आयातकर्ताबाट अस्पतालहरूलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्तसमेत नभएको पाइयो,’ सेढाईंले भने, ‘औषधिको उपलब्धता एकदमै न्यून भएकाले पनि अधिक मूल्य लिएको पाइयो।’

उनका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज ९केएमसी०, सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो।

यस्तै, बिरामीको अनुपातमा उपलब्ध शैया सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेको समेत पाइएको थियो ।

अस्पतालको अनुगमनपश्चात् विभागले छानबिनका लागि आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोना भाइरस सङ्क्रमणका बिरामीको उपचारमा चर्को शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा सातवटा अस्पतालको अनुगमन गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय