सरकार संक्रमित संख्या गन्छ मात्रै, वास्तै छैन उपचारको

हेल्थपोस्ट नेपाल

दोस्रो लहरको कारोना महामारीले देशको स्वास्थ्य व्यवस्थालाई उदाङ्गो बनाइदिएको छ।

संक्रमण बढेसँगै अस्पतालहरू भरिन थालेका छन्। बेडहरू खाली छैनन्। आइसियु भरिएका छन्। भेन्टिलेटर सित्तिमित्ति पाइँदैन। अक्सिजनको अभाव उत्तिकै चुलिएको छ।

औषधी र स्वास्थ्यकर्मी अनि स्वास्थ्य सुरक्षा सामग्रीमात्रै होइन, शव बेर्ने प्लास्टिकको समेत अभाव छ।

स्थिति भारतको जस्तै भयावह भइसकेको स्वास्थ्य विज्ञहरू बताउँछन्। र, सारा नागरिकले पनि त्यो भोगिरहेका छन्। हरेक दिन अस्पतालका आँगनमा देखिने र सुनिने संक्रमितका पुकार अनि घाटहरूमा लहर लागेका शव हेर्दा स्थिति छर्लैङ्गै हुन्छ।

तर, सरकार गम्भीर छैन।

‘सरकारले त भ्याइनभ्याई, सकिनसकी संक्रमितको उपचार गरिरहेका अस्पतालहरुलाई सहयोग गर्नुको सट्टा तथ्याङक संकलन गर्ने केन्द्रको रुपमा मात्रै हेरिरहेको छ’ युनिभर्सल कलेज अफ मेडिकल साइन्ससेस एण्ड टिचिङ हस्पिटल, भैरहवाका सूचना अधिकारी सुशिल गुरुङ भन्छन्।

उनलाई दिनहुँ ८ देखि १० वटा सरकारी निकायबाट फोन आउँछन्। तर उनीहरूले कसैले पनि अस्पतालका समस्या सोध्दैनन्। स्वास्थ्यकर्मीका दु:ख सोध्दैनन्। भन्दा पनि सुन्दैनन्। मात्रै कति बिरामी थपिए, कतिको मृत्यु भएको कुन ठाउँको मानिसको मृत्यु भयो भन्ने तथ्याङ्कमात्रै सोध्छन्।

सरकारका विभिन्न निकायबाट डाटाकै लागि मात्र फोन आउने गरेको उनले बताए।

‘कहिले नेपाल आर्मी, जिल्ला स्वास्थ्य कार्यालय, कहिले प्रदेश स्वास्थ्य मन्त्रालय त कहिले नेपाल प्रहरी, कहिले जिल्ला प्रशासन कार्यालयबाट फोन गरेर संख्याको बारेमा सोधपुछ हुन्छ। उहाँहरूको काम भनेकै डाटा संकलन गर्ने, कति विरामी, आसीयुमा कति भन्ने कुराको मात्र सरोकार राखेको छ’ उनले भने, ‘सरकारले कहिले पनि उपचारमा केन्द्रित भएन। डाटा भन्दा पहिले मान्छे बचाउनु पर्‌यो नि। हामीले राज्यसँग पैसा मागेका छैनौं, मात्रै सबै औषधी तथा उपकरणमा सहजीकरण गर्न माग गरेका हौं, बजारमा चाहिने समाग्रीको उपलब्धता सहज होस् चाहेका हौं।’

उनका अनुसार अस्पतालमा सबै बेडहरू भरिएका छन्। अस्पतालमा भएको १० बेडहरूको आईसियु, ११ बेडको भेन्टिलेटर, एचडियु १ मा ३१ वटा बेड, एचडियु २ मा २१ वटा, आइसोलेसनमा २५, स्टार्फ र फ्याकल्टीका लागि छुट्याइएको १० वटा आइसोलेसन बेड, र सामान्य विरामीका लागि छुट्याइएको २४ वटा आकस्मिक सेवाको शैया पनि कोरोनाका विरामीले नै भरिएका छन्।

कोरोना संक्रमितलाई भनि छुट्याइएको आइसोलेसन भरिएर पनि अन्य रोगका विरामीलाई छुट्याइएको बेड भरिएका छन्। यति मात्र होइन कोरोना संक्रमितलाई उपचार गरिराखेका स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुन थालेका छन्।

अक्सिजन आपूर्तिमा समस्या

‘हाम्रो मुख्य समस्या भनेको हाल अक्सिजन हो। सामान्य अवस्थामा अस्पतालमा १३० देखि १५० वटा ठूला अक्सिजन सिलिण्डर चाहिन्थ्यो अहिले त ५०० भन्दा बढी अक्सिजन खपत भइरहेको छ,’ उनले भने।

अस्पतालको आवश्यकतालाई स्थानीय आपूर्तीकर्ताहरुले नबुझेको गुरुङ बताउँछन्।

‘अक्सिजन आपूर्ती गर्न हामीले उत्पादकहरुसँग माग गरेका छौं तर पनि सहज रुपमा पाइराखेका छैनौं’ उनी भन्छन्, ‘हाल अस्पतालले २० शैयाको एचडियु सेवा थप गर्न लागेका छौं। यो तयार अवस्थामा छ । तर यो सेवा सुचारु गर्नका लागि १०० वटा अक्सिजन सिलिण्डर थप आवश्यक पर्छ। अक्सिजन नभएकै कारण यो सेवा सूचारु गर्न सकिरहेको छैन।’

रुपन्देहीमा ४ वटा अक्सिजन उत्पादन गर्ने कम्पनीहरू छन्। यहाँ उद्योगहरू पनि बढि भएका कारण धेरै अक्सिजन खपत भइरहेका छन्।

‘हामीले ४–५ दिन अगाडि जिल्ला प्रशासन कार्यालयलाई अक्सिजन सहज गरिदिन पत्र पनि पठाएका थियौं, तर हाल सम्म पनि कुनै जवाफ आएको छैन,’ उनले भने।

अस्पताललाई कोभिड अस्पताल त भनिएको छ, तर सरकारले केही कुरामा पनि सहज र सहकार्य नगरेको अस्पतालको गुनासो छ।

‘हामीलाई अरु केही होइन, हाल चलिरहेको उद्योगहरूलाई बन्द गरेर अक्सिजनको उपलब्ध गराई दिनुपर्‌यो। मानिसको ज्यान भन्दा ठूलो अन्य के हुन सक्छ र! सिडियो कार्यालयले यति मात्र गरे पनि हामीले सहजै अक्सिजन पाउने थियौं,’ गुरुङले भने।

हाल अस्पतालमा जति पनि कोरोना संक्रमित छन् उनीहरु सबैलाई अक्सिजनको आवश्यकता छ। सामान्य विरामीलाई २ लिटर मात्र अक्सिजन चाहिन्छ भने कोरोना संक्रमितलाई ६–७ लिटर अक्सिजनको आवश्यकता पर्दछ।

तर सरकारले यस्तो कुरामा ध्यानै नदिएको उनले बताए।

भारतमा बिहीबार मात्रै २४ जनाको अक्सिजन अभावकै कारण मृत्यु भएको थियो। नेपालमा पनि दिनहुँ जसो मृत्यु हुने संख्या ६०को वरिपरी पुगिसकेको छ र तीमध्ये कतिको त अक्सिजन नपाएरै मृत्यु भएको छ।

‘स्थानीय, प्रदेश तथा केन्द्रिय सरकारले सहजीकारण गरिदिएमात्र पनि पुग्छ। हामीलाई सित्तैमा चाहिँदैन। हामी किन्छौं आफ्नै पैसा राखेर भन्दा पनि उपलब्ध गराएको छैन’ उनले भने।

स्वास्थ्यकर्मी संक्रमित, नर्सिङ स्टाफको कमी अस्पताल आफैले दुई सिफ्ट गरेर पिसिआर परीक्षण पनि गरिरहेको छ। एक सिफ्टमा ७० देखि ८० जनामा कोरोना संक्रमण देखिइरहेको छ।

अस्पतामा शैयाको अभावले बढिरहेका विरामीहरुलाई उपचार दिन सक्ने अवस्था नै नरहेको उनी बताउँछन्।

‘मानिसहरू फोनमा पनि बेड चाहियो भनि समस्या पोख्छन्, तर हामी विवश छौं। चाहेर पनि सेवा दिन नसक्ने बताइरहेका छौं। आइसियु, भेन्टिलेटरका विरामीहरु लामो समयसम्म हुँदा अन्य गम्भीर भएका विरामीलाई सुविधा दिन सकेका छैनौं, उनीहरुलाई एचडियुमा सार्ने अवस्था पनि छैन। त्यस्तै यो मेडिकल तथा शिक्षण अस्पताल भएका कारण गम्भीर तथा अन्य अस्पतालले रेफर गरेका विरामीहरु बढि आउने गर्दछ, जसलाई आईसियु तथा भेन्टिलेटर कै आवश्यकता पर्दछ।’

अन्य रोग भएका विरामीहरुले नै १०० शैयाको आईसियु, सिसियु, एचडियुहरु भरिएको छ। स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएका कारण कोरोना संक्रमित र अन्य रोगका विरामीहरुलाई हेर्न निक्कै कठिनाई भइरहेको छ। नर्सिङ स्टाफहरुलाई संक्रमण भएकोले अपुग भइरहेको छ।

अस्पतालमा हाल कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शवलाई बेर्ने प्लास्टिकको अभाव रहेको बताइएको छ। गुरुङका अनुसार अस्पताललाई नेपाल रेडक्रस सोसाइटीले पहिले उपलब्ध गराएको प्लाटिक प्रयोग गरेको थियो। अब रेडक्रससँग पनि यसको अभाव भएको छ।

‘लकडाउनको अवस्था भएका कारण बजारमा खरिद गर्न पनि पाएका छैनौं’ सरकारले यसको समेत व्यवस्था नगरेको उनले बताए।

स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक पिपिई समेत अस्पतालमा अभाव भइरहेको छ। यसको अभावमा बिना पिपिई विरामी उपचार गर्न जाने चिकित्सक तथा नर्सहरुलाई कोरोना संक्रमण देखिन थालेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *