युवामा धेरै संक्रमण? त्यस्तो हुँदै होइन

हेल्थपोस्ट नेपाल

भारतमा वितण्डा मच्चाइरहेको कोभिड-१९ संकट सम्बन्धमा हामीलाई धेरै कुरा थाहा छ, निश्चिततापूर्वक। पछिल्लो समय हरेक दिन भारतमा देखिने संक्रमण संख्या विश्वभरकै सबैभन्दा बढी हुने गर्छ। संक्रमण र मृत्युको संख्या आधिकारिक रुपमा सार्वजनिक गरिएभन्दा धेरै बढी हुनसक्छ। तर, भारतमा गलत सूचनाको पनि उतिकै आतंक छ। त्यसैलाई सत्य मानेर धारणा बनाइएकोसमेत पाइन्छ।

यसै सन्दर्भमा सिएनएनले एउटा फ्याक्ट चेक गरेको छ। खुला सीमा र सबै किसिमको निकटतम सम्बन्ध रहेको नेपालमा पनि दोस्रो लहर एकसाथ चलिरहेको हुनाले भारतीय सन्दर्भको यो फ्याक्टचेक पठनीय छ।

के धेरै युवा संक्रमित भएका हुन्?
सरकारी तथ्यांकहरुले देखाएअनुसार पहिलो लहरभन्दा अहिले युवा संक्रमणको अवस्था केही फरक छैन। पहिलो लहरमा कुल संक्रमितमध्ये ३१ प्रतिशत ३० वर्षमुनिका थिए। भारतको कोभिड टास्क फोर्सका अध्यक्ष भि के पलका अनुसार दोस्रो लहरमा संक्रमित युवा ३२ प्रतिशतमात्रै छन्। त्यसैगरी पहिलो लहरमै ३० देखि ४५ वर्षका संक्रमितहरु कुलमध्ये २१ प्रतिशत थिए, अहिले त्यो खास परिवर्तन भएको छैन। मृत्युका सन्दर्भमा पनि करीब उस्तै अवस्था देखिन्छ। गत वर्ष मृतकमध्ये २० प्रतिशत पचास वर्षभन्दा कमका थिए, अहिले त्यो १९ प्रतिशत छ।

यसमा हेरिनु पर्ने एउटा महत्वपूर्ण सन्दर्भ छ। अन्य देशको तुलनामा भारतको युवा जनसंख्या ठूलो छ। भारतीय जनसंख्याको औसत उमेर (मेडिएन एज) २८ वर्ष हो। युवा जनसंख्याको गतिशीलता र घुमफिर धेरै हुने हुँदा भाइरस संक्रमणको सम्भावना पनि बढी नै हुने पाइन्छ।

पूरै भ्याक्सिन लगाएका स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन्?
कुनै पनि भ्याक्सिनले हरेक मानिसमा संक्रमण रोक्ने भन्ने हुँदैन। तर स्थानीय मिडियाहरुले अस्पतालमा कार्यरत डाक्टरहरु दुवै डोज भ्याक्सिन लगाइसक्दा पनि संक्रमित भइरहेको समाचार प्रसार गरिरहेका छन्। यसले गर्दा दोस्रो लहर र नयाँ भेरिएन्टका कारणले भारतीय भ्याक्सिनले काम नगर्ने हो कि भन्ने शंका आमस्तरमा बढिरहेको छ।

तर वास्तविकता त्यस्तो देखिन्न।

भारतमा उत्पादित कोभ्याक्सिनको दुवै डोज लगाएका १७ लाख मानिसमध्ये ६ सय ९५ जनामा मात्र संक्रमण देखिएको छ, जुन ०.०४ प्रतिशत मात्र हो। त्यसै गरी कोभिसिल्ड लगाएका डेढ करोड जनामध्ये ५ हजार १४ जनामा मात्र संक्रमण देखिएको छ, जुन ०.०३ प्रतिशत मात्र हो। शनिबारसम्ममा भारतले फ्रन्टलाइनर र अन्य अत्यन्त संवेदनशील वर्गका लागि मात्र भ्याक्सिन लगाउन सकेको छ। ‘दुवै डोज लगाएर पनि पोजेटिभ देखिएका भनिएकाहरु फ्रन्टलाइनर र स्वास्थ्यकर्मीमात्र हुन। उनीहरु भाइरससँग निरन्तर एक्सपोज भइरहन्छन्,’ भारतीय स्वास्थ्य अनुसन्धान विभागका निर्देशक डा बलराम भार्गवले भने।

दोस्रो लहरमा नयाँ भेरिएन्ट नै कारण हो त?
मार्च २४ मा भारतीय स्वास्थ्य मन्त्रालयले नयाँ भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्ट भेटिएको सार्वजनिक गर्‍यो। धेरैले अनुमान गरे कि नयाँ भेरिएन्टकै कारणले दोस्रो लहर विकराल बन्न पुगेको हो। यतिसम्म शंका भयो कि अब भ्याक्सिनले पनि काम नगर्न सक्छ।

तर, वैज्ञानिकहरुले अझै पनि नयाँ भेरिएन्टबारे अनुसन्धान गरिरहेका छन्। तर त्यसकै कारण अहिले महामारी फेरि फैलेको भन्नेमा चाहिं उनीहरु यकिन हुन सकेका छैनन। यसको यकिन गर्न भारतभर लिइने टेस्ट स्याम्पलको ५ देखि १० प्रतिशतसम्मको जेनेटिक सिक्वेन्सिङ गर्न जरुरी हुन्छ। अहिलेसम्म १ प्रतिशतको पनि गर्न सकिएको छैन।

केही भारतीय महामारीविज्ञहरुले नयाँ भेरिएन्ट र महामारी बढ्नुबीच सम्बन्ध रहेको भनेर दाबी गरे पनि यसको पुष्टि हुन बाँकी छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *