संक्रमित बचाउन मनैदेखि प्राथना गर्छन् नर्स

मन बेसरी काँपिरहेको छ। दिमाग पनि राम्रोसँग काम गरिरहेको छैन। नहोस् पनि कसरी, आफ्नै अगाडि कलकलाउँदो जीवन सकिएको देखेपछि।

भक्तपुर जिल्ला अस्पतालमा नर्सका रुपमा कार्यरत सबिना (नाम परिवर्तन) ले भरसक उनलाई बचाउँन कोसिश गरेकी थिइन्।

उनको लागि मनमनै प्राथना पनि गरिन्, ‘भगवान, उनको जीवन रक्षा गर।’ तर, भगवानले न नर्सको पुकारा सुने, त परिवारका आँसु ।

कोरोना महामारीको दोस्रो लहरकै बीच भक्तपुरकी २३ वर्षिय किशोरीले विवाह भएको भोली पल्टै अस्पताल भर्ना हुनुपर्‍यो। त्यसको दश दिन पछि उनको निधन भयो।

विवाह गरेर उनी आफ्नो श्रीमानसंग राम्ररी घुलमिल पनि हुन पाएको थिएन। उनको कयौं सपना र इच्छाहरु उनीसँगै मरेर गए।

उनको नजिकको परिवार र सुभचिन्तकलाई मात्र होइन उनलाई जीवन दिन प्रयासरत भक्तपुर अस्पतालका डाक्टर र नर्स पनि दुःखी भए।

अझ, जीवनका लागि गरिरहेको संघर्ष र श्वास फेर्न उनले भोगेको कठिनाई नजिकैबाट नियालिरहेका स्वास्थ्यकर्मीको मानसपटलमा यो घटनाले नराम्रो छाप बनेर बसेको छ।

ती किशोरीलाई १० दिनदेखि अस्पतालको शैयामा हेरचाह गर्ने नर्स सबिनाको जीवनमा एउटा नमिठो घटना बन्न पुग्यो।

सायद विवाहका लागि सपना साँचेर राखेकी ती किशोरीले लगनको दिन नजिकिँदै गर्दा पनि आफूलाई अफ्ठेरो भएको कसैलाई बताइनन्।

४/५ दिनदेखि उनलाई श्वास फेर्न गाहे भएको थियो। विभिन्न लक्षणसमेत देखिइरहेको थियो । तर नजिकिँदो लगन छोप्न विवाहकै तयारीमा व्यस्त रहिन्। विवाह पनि भयो, तर उनले आफैलाई जोगाउन सकिनन्।

‘जब किशोरीलाई अस्पताल ल्याइयो, तब उनको फोक्सो नराम्ररी बिग्रिसकेको थियो।,’ सबिनाले भनिन्।

अस्पतालका अनुसार किशोरीको अवस्था ज्यादै नाजुक थियो। त्यतिबेला अक्सिजनको लेबल ५० मात्र थियो। अन्य आइसियुको बिरामीलाई हटाएर उनलाई ठाउँ दिइएको थियो।

उनलाई आइसियुमा राखेर उपचार गरियो, श्वास फेर्न गाह्रो भएका कारण छिटो छिटो सास फेर्दै थिइन्। उनको हालत बिग्रदैं गएपछि भ्यान्टिलेटरमा राखियो, प्लाजमाथेरापी देखि सकेको उपाय अपनाउँदा पनि बचाउन सकिएन।

यो घटनाले अस्पतालमा कोरोना बिरामी हेर्ने नर्स तथा डाक्टरहरुको टीम नै तनाब तथा डिस्र्टब छन्।

‘यो घटनाको बारेमा कसैले सोधे पनि बोल्न मन लाग्दैन। सोच्दै नसोचेको घटनाहरु आइरहेका छन्। मानिसहरुको ज्यान जोगाउन हामी आफै भगवानलाई सम्झन्छौं, तर निराश हुनुपर्छ,’ उनले भनिन्।

हाल बढ्दै गएको कोरोना संक्रमणले अस्पतालहरु भरिभराउ भएका छन् भने कयौं बिरामीले अस्पतामा शैयाहरु नै पाउन सकेका छैनन्।

भक्तपुर अस्पतालमा पनि ६ वटा आईसियु रहेका छन् भने ६८ वटा कोरोना बेड छन्। आइसियुमा एक व्यक्तिको मृत्यु हुन पाएको छैन, अर्कोले ठाउँ भरिहाल्छ, उनले भनिन्।

हरेक दिन पिपिई लगाएर आईसियुमा छिर्दा आफ्नो ज्यान त जोखिममा नै हुन्छ तर बिरामीहरुको गम्भीर अवस्थाले झनै मानसिक तनाब थपिने नर्सहरु बताउँछन्।

‘पहिलेको कोरोना लहर भन्दा अहिले निकै गम्भीर बिरामीहरु भर्ना भइरहेका छन्। आईसियुमा भर्खरका युवाहरु स्वास फेर्न गाह्रो भएको र मृत्युको मुखमा पुगेको देख्दा आफै समालिन गाह्रो हुन्छ।’

०००

संगीता रहरले नभई घरपरिवारको करले बनेकी थिइन नर्स। तर काम गर्दै जाँदा यसैमा उनको रस पस्यो र सेवामै रमाउन थालिन्।

आफ्नो कर्तव्य अब यहि नै हो सोचेर परिवारलाई नै नभनि भक्तपुर अस्पतालले कोरोना संक्रमितको उपचारका लागि मागेको करार दरबन्दी उनले दरखास्त दिइन्।

‘सरकारी अस्पतालमा सेवा दिन पाउँछु भनेर निजी अस्पताल छोडेर घर नजिकैको अस्पताल रोजेँ। तर घरका परिवारले कोरोना संक्रमणमा कहीँ पनि काम गर्नुपर्दैन भनेर कर गरिरहँदा मैले नभनिकन नै कोरोना अस्पतालमा दरखास्त दिएँ। मेरो नाम निस्किएपछि मात्र आमाबाबालाई सबै भनेको थिएँँ,’ सबिनाले भनिन्।

उनले परिवारलाई जोखिममा राखेर संक्रमितको सेवा गरिन्। पहिलो कोरोना लहरमा केही सहज वातावरण थियो।

अस्पतालले स्वास्थ्यकर्मीका लागि प्रयाप्त पिपिई, आइसोलेन केन्द्र तथा सबै बस्नेखाने सुविधा दिएको थियो।

उनले घरका परिवारलाई संक्रमण हुन्छ भनेर महिनौंसम्म पनि घर नफिर्की काम गरे। काम सकेर १४ दिन क्वारेन्टिनमा बसेर मात्र परिवारलाई भेट्न जाने गर्थिन्।

तर अब अवस्था फेरिएको छ। न त उनलाई पहिले जसरी हरेक दिन फेर्नका लागि पिपिई दिइन्छ, न त जोगिन क्वारेन्टिन सेवा नै।

‘अस्पतालमा पिपिईको अभावमा एउटै पिपिईलाई पटक पटक प्रयोग गरिरहेका छौं। यसबाट संक्रमित हुन्छ थाहा भइसकन पनि लगाउन बाध्य छौं। आखिर सुरक्षित हुन यहि मात्र उपाय छ हामीसँग,’ उनले भनिन्।

उनी हरेक दिन कोरोना आइसियुको ड्युटी सकेर घर फर्किन्छिन्।

घरपरिवारलाई जोगाउँछु भनेर एक्लै कोठामा बसेपनि एउटै शौचालय भएका कारण परिवारसँग एक्सपोज नभई बस्न नसक्ने अवस्था हुन्छ।
०००
सबिनाले ६ वर्षमा विभिन्न अस्पतालमा काम गरिन्। भक्तपुर अस्पतालमा कोरोना संक्रमण फैलिरहेकै समयमा प्रवेश गरिन्।

उनले यो पेशाबाट कयौं तिता र मिठा अनुभव संगालेकी छिन्।

बिरामीलाई निको बनाएर घर फिराउँदा स्वर्गीय आनन्द आउने उनी बताउँछिन्।

कयौं बिरामीले उनलाई अर्शिवाद दिए, कतिले खुशीको अवसर भन्दै चक्लेट पनि बाँड्न आए। आशै छोडेको बिरामी पनि ठिक हुँदा अस्पतालमा नै खुशी छाउँछ।

तर कतिपटक आफूले हेरचाह गरेको बिरामीको मृत्यु हुँदा मानसिक तनाब हुने तथा आफैलाई समाल्न गाहे हुने उनी बताउँछिन्।

‘यो पेशाले आफ्नो आत्मबल उच्च राख्न सिकाएको छ। हामीले कयौं मृत्यु देखेका छैं, कयौं घटना बिर्सन पनि कठिन हुन्छ। तर हामी नै समालिन सकेनौं भने बिरामीलाई कसले समाल्छ? त्यही सोचले हिजोको मृत्यु बिर्सेर आजको संघर्षमा केन्द्रित हुन्छौं।’

नर्सलाई जब मानिसहरुले छुच्ची तथा रुखो भनेर सम्बोधन गर्दा नराम्रो महसुस हुने उनी बताउँछिन्।

‘हामी व्यक्तिगत रुपमा त्यस्ता होइनौं, अस्पतामा काम गर्दा नर्सिङका प्रमुख, डाक्टर, प्रशासन बिरामी, बिरामीका कुरुवा, सबै ठाउँबाट दबाब आउँछ। योसंगै हामीले गरेको काम बिग्रे डाक्टरको गाली खानुपर्ने, बिरामीको भनाई समेत सुन्नुपर्दा ज्यादै नराम्रो लाग्छ। कति बिरामीले त प्रशासनमै गएर उजुरी गरिदिन्छन्, जसका कारण जागिर नै जाने जोखिम पनि हुन्छ।

सबिनाले विरामीले गालीदेखि पिटाई पनि खाएकी छिन्।

‘बिरामी अचेत अवस्थामा हुँदा लात्तीले हान्ने पिट्ने गर्दछन्। यी सबै सहनुपर्छ। बिरामी होस आएपछि आफै माफी माग्छन्। अस्पतालमा हुने तोफोडको वातावरणले हामीलाई झनै तनाब बनाउँछ। आफ्नो व्यक्तिगत समस्या भुलेर काम गरिरहेका हुन्छौं। हाम्रो पिंडा पनि बिरामी तथा बिरामी पक्षले बुझिदिए, काम गर्न सहज हुने थियो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय