उडिरहेको जहाजमा जब बच्चा जन्मियो…

हेल्थपोस्ट नेपाल
लाभिनिया मोङ्गा अमेरिकाको साल्टलेक सिटीबाट बिदा मनाउन डेल्टा एयरलाइन्सको जहाज चढेर हवाईको होनोलुलु जाँदै थिइन्।

मध्यआकासमा पुगेपछि उनलाई एक्कासि पेट दुख्न थाल्यो।

धन्य, उनी भाग्यमानी रहिछिन् किनकि उनी सवार जहाजमै कान्सास सहरको एउटा मेडिकल टिम पनि यात्रा गरिरहेको थियो। घटना अप्रिल २८ को हो।

लाभिनियालाई सहनै नसक्ने गरी पेट दुख्न थालेपछि चालकदलले जहाजभित्र कुनै चिकित्सक, नर्स वा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका कोही भए सहयोग गर्न ककपिटबाट आग्रह गर्‍याे।

त्यसपछि उक्त मेडिकल टिमका नर्समध्ये एक लानी बामफिल्डले चालकदलको आग्रह सुनिन्, उनले अन्य दुई नर्स अमान्डा बिडिङ र मिमी हो तथा डा. डेल ग्लेनको टिमले लाभिनियालाई सम्हाल्यो।

त्यसपछि बल्ल थाहा भयो लाभिनियालाई प्रसव पीडा भएको रहेछ। मेडिकल टिमले केही बेरमै एक स्वस्थ शिशु (छोरा) डेलिभरी गराउन सफल भयो।

कुनै मेडिकल सामग्री नभए पनि डा. ग्लेनको टिमले जुत्ताको तुनाले बच्चाको नाभी बाँधेर कैंचीले काटेकाे थियाे।

त्यसपछि जहाज होनोलुलु विमानस्थलमा अवतरण नगरुन्जेल मेडिकल टिमले एप्पल वाचको मद्दतबाट बच्चाको मुटुको धडकन जाँच गरेका थिए।

मध्यआकासमा जन्मिएको बच्चाको नाम रेमन्ड राखिएको छ।

‘सामान्यतयाः कुनै पनि उडानको आधाआधीतिर जहाजमा कोही डाक्टर यात्रा गरिरहनुभएको छ भनेर ककपिटबाट आकस्मिक कल आउने गर्छ,’ जहाज अवतरणपछि डा. ग्लेनले भने, ‘तर, ककपिटबाट आएको यो कल असाध्यै आकस्मिक रहेको बुझ्न सकिन्थ्यो। हामीले जहाजभित्र एउटा एकदम सानो र साँघुरो ठाउँमा बच्चाको डेलिभरी गराउन सफल भयौं। यो काम धेरै नै चुनौतीपूर्ण भए पनि टिमवर्कका कारण सफल हुन सक्यौं।’

होनोलुलुमा जहाज अवतरणपछि लाभिनिया र उनको बच्चालाई स्थानीय एक अस्पताल लगिएको थियो।

‘यो एकदमै अविष्मरणीय क्षण हो,’ अस्पतालमा सञ्चारकर्मीहरूसँग लाभिनियाले भनिन्, ‘म असाध्यै भाग्यमानी रहेछु किनभने त्यही जहाजमा तीन नर्स र एक डाक्टर पनि यात्रा गरिरहेका रहेछन्। उनीहरू नभएको भए सायद गम्भीर समस्या पर्न सक्थ्यो।’

सोही जहाजमा यात्रा गरिरहेकी जुलिया हान्सेनले सामाजिक सञ्जाल टिकटकमा जहाजभित्र बच्चा जन्मिएको भिडियो सेयर गरेपछि उक्त भिडियो अहिले भाइरल भएको छ।

‘अहिले भर्खरै यो जहाजमा एउटा बच्चा जन्मिएको छ,’ हान्सेनले भिडियोमा भनेकी छिन्।

बच्चा जन्मिएपछि जब कसैले लाउड स्पिकरबाट घोषणा गर्छन्, तब सारा यात्रुले ताली बजाएर बच्चालाई स्वागत गर्छन्।

(एजेन्सी)



Leave a Reply

Your email address will not be published. Required fields are marked *