जोखिम क्षेत्रबाट चितवन आउनेहरु दश दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
चितवनमा कोरोना संक्रमण बढ्दै गएपछि थप कडाई गरिएको छ । कोरोना संक्रमण बढी रहेका जिल्लाबाट चितवन आउनेहरुका लागि अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने भएको हो ।
जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर(डिसीएमसी)ले भारत वा तेस्रो मुलुकबाट आउने र बढी संक्रमित भएका जिल्लाबाट आउनेहरुलाई अनिवार्य १० दिनको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै अन्य जिल्लाबाट कोही नयाँ व्यक्ति गाउँटोलमा आए नआएको जानकारी सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ ।
जिल्लामा कोभिड–१९ को संक्रमण देखिए पनि लक्षण नदेखिएका वा स्वास्थ्यमा जटिलता नदेखिएका कारण होम आइसोलेशनमा बसेका व्यक्तिहरुको एकीन पहिचान तथा विवरण अद्यावधिक गरी संक्रमितलाई अन्य संक्रमणको जोखिम नबढ्ने गरी सुरक्षित रुपमा होम आइसोलेशनमा बसे नबसेको सम्बन्धमा सतर्कताका साथ निगरानी तथा अनुगमन गर्ने बैठकको निर्णय छ ।
यस्तै बैठकले स्थानीय तहमा सञ्चालित विकास निर्माणसँग सम्बन्धित योजना कार्यान्वयन गर्दा सम्बन्धित ठेकेदारले आवासीय कामदार राखी जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी मात्र सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन गरेको छ ।
गाउँघर डुल्ने ठेला रिक्साले कोरोना फैलाउन सक्ने जोखिम रहेकाले ठेला–रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
बैकमा आधा कर्मचारीले सञ्चालन गर्नुपर्ने
यत्ता जिल्लामा जारी रहेको निषेधाज्ञामा भोलिदेखि बैंक तथा वित्तिय संस्थामा कार्यरत आधा कर्मचारीबाट मात्र सेवा प्रवाह गर्नुपर्ने भएको छ । आजको बैठकले बैंकका एटिएम बुथहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न बुथका ढोकाहरु खुल्ला राखी स्यानिटाइजर एवं टिस्यु पेप्परको व्यवस्था गर्न निर्देशन गरेको छ ।
यस्तै बंकहरुले एकदिन बिराएर आलोपालो सेवा प्रदान गर्न समेत प्रशासनले निर्देशन गरेको छ । बिहान दश बजेदेखि दिउसो दुई बजेसम्म मात्र सेवा प्रवाह गर्न पाइने डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाको हकमा भने एकभन्दा बढी शाखा हुने बैंकहरुले एउटा शाखाबाट मात्र ट्रेलर सञ्चालन गर्न पाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
चितवनमा संक्रमित बोक्ने एम्बुलेन्सले १५ सय रुपैयाँसम्म बढी भाडा लिन पाउने
कोरोना संक्रमित बोक्ने एम्बुलेन्सले १ हजार ५ सय रुपैयाँसम्म बढी भाडा लिन पाउने भएका छन् । सुरक्षा सामाग्री खरिद, एम्बुलेन्स निसंक्रमण र जोखिम भत्ता भनेर प्रतिकेश १ हजार ५ सय रुपैयाँ लिन पाउने भएका हुन् ।
कोभिड–१९ संक्रमित बिरामीको ओसार पसार र भाडामा एकरुपता ल्याउन यस्तो गरिएको साहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो ।