यी हुन् दिनको ३ हजारमा बस्न पाइने क्वारेन्टिन होटल

 

सरकारले हवाई मार्ग हुँदै भारतबाट आउने यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा राख्न आठ होटलको सूची सार्वजनिक गरेको छ।

ती होटलले प्रतियात्रु दैनिक अधिकतम ३ हजार रुपैयाँसम्म लिन पाउनेछन्।

मन्त्रिपरिषदको वैशाख १९ मा बसेको बैठकको निर्णयअनुसार ‘एयर बबल’ सुविधाअन्तर्गत भारतबाट आउने यात्रुलाई काठमाडौंका पाँच, भक्तपुरका दुई र ललितपुरका एक होटलमा क्वारेन्टिन राख्न अनुमति दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।

पर्यटन मन्त्रालयका अनुसार ती होटलमा न्यूनतम १० देखि ९१ वटासम्म कोठा उपलब्ध छन्। काठमाडौंको गुह्येश्वरीस्थित माधव होटल, एयरपोर्ट होटल तथा गौशालाका अमादब्लम होट, रिडर्स इन र आनन्द आश्रम, भक्तपुर जगातीका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट एवं ललितपुर गोदावरीको होटल भ्यु भृकुटीलाई क्वारेन्टिन होटल तोकिएको छ।

माधव होटलमा ६० कोठा, एयरपोर्ट होटलमा ८०, अमादब्लम होटलमा ६३, रिडर्स इनमा ३०, आनन्द आश्रममा ७०, फार्म हाउस रिसोर्टमा २४, ए वान रिसोर्टमा १० र होटल भ्यु भृकुटीमा ९१ कोठा क्वारेन्टिनका लागि छुट्ट्याइएका छन्।

नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले भारतबाट आउने यात्रुहरूको विवरण लिई प्रत्येक उडानका यात्रुका निम्ति होटल क्वारेन्टिनका लागि सहजीकरण गर्ने छ।

ती होटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म यात्रु ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था गर्ने पर्यटन मन्त्रालयले जनाएको छ।

होटलहरूले प्रतिदिन प्रतियात्रु मूल्य अभिवृद्धि कर (भ्याट) र सेवा शुल्कसहित बढीमा ३ हजार रुपैयाँ लिन पाउनेछन् भने यति रकम लिएपछि विमानस्थलबाट होटल ल्याउने, बास बस्ने तथा बिहान, दिउँसो र राति खाना खुवाउने व्यवस्था गर्नुपर्ने छ।

यात्रु र होटलले स्वास्थ्य मापदण्ड पालना गरे–नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी दैनिक प्रतिवेदन नियमितरूपमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी), पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ।

त्यसैगरी सम्बन्धित यात्रुले १० दिनको होटल क्वारेन्टिनको मापदण्ड पालना नगरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कानुनी कारबाही गरिने, यात्रु १० दिनको होटल क्वारेन्टिन नबसेको पाइए सम्बन्धित होटलले तुरुन्त स्थानीय प्रशासनलाई सूचित गर्ने र नगरेको पाइए कानुनी कारबाही गरिने पर्यटन मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय