जब अन्मिएर बिदा भएकी छोरी कहिल्यै नफर्कने बाटो गइन्…

 

विवाह, नयाँ जीवनको सुरुवात। विवाहपछि खुसी र सुखी जीवन बिताउने सपना सजाएका हुन्छन् सबैले।

तर त्यही विवाह जीवन अन्त्यको कारक बन्ला भनेर कसले सोच्छ र रुभक्तपुरकी २३ वर्षीया युवतीको जीवनमा भयो त्यस्तै।

विवाह भएको भोलिपल्टै कोरोना संक्रमित भएकी उनी आइसीयुमा भर्ना भइन् र विवाहको ९ दिनमै भक्तपुर अस्पतालमा जीवनको अन्तिम श्वास फेरिन्।

माइतीघरबाट अन्मिएर बिदा भएकी छोरी कहिल्यै नफर्कने बाटो गइन्।

भक्तपुर अस्पतालका डा. सुनील ढुंगेलले वैशाख १२ गते आइतबार युवतीलाई अस्पताल ल्याएको बताए।

अस्पताल ल्याउँदा उनलाई सुख्खा खोकी र ज्वरो थियो। सास फेर्न गाह्रो भइरहेको थियो।

चिकित्सकहरुका अनुसार उनको अक्सिजन लेभल ५० मात्र देखाएको थियो।

चेकअपको क्रममा उनको दुवै फोक्सोमा निमोनिया भइसकेको पाइएको थियो।

‘कोभिडका बिरामीलाई त्यसै पनि श्वासप्रश्वासको समस्या हुन्छ, त्यसमाथि उनको फोक्सो निमोनियाले खाइसकेको थियो,’ ढुंगेलले भने। आइसीयु खाली थिएन।

ननकोभिड विरामीलाई सारेर उनलाई आइसीयुमा राखियो।

डा. ढुंगेलका अनुसार उनलाई अक्सिजन र कोभिडमा प्रयोग गरिने सबै औषधि चलाइयो।

उनलाई रेमडेसिभिर पनि चलाइयो। तर स्वास्थ्यमा केही सुधार भएन।

‘बैशाख १८ गते भेन्टिलेटरमा राखेर शतप्रतिशत अक्सिजन चलाइयो, एकचोटि प्लाजाथेरापी विधि पनि चलाइयो,’ उनले भने, ‘तर बैशाख २० गते दिउँसो २ बजे उनको मृत्यु भयो। उनलाई बचाउन सकिएन।’

युवतीका परिवारका अनुसार केही दिन अगाडिदेखि उनलाई रुघाखोकी लागिरहेको थियो।

‘मौसम परिवर्तनका कारण सामान्य रुघाखोकी भनेर बसेका थियो, यस्तो होला भनेर कसले सोचेका थियौं र?’, परिवारका एक सदस्यले भने।

अहिलेको अवस्थामा डराएर आत्तिनु पनि नहुने र नडराइ सामान्य हो भनेर हेलचेक्र्याइँ पनि गर्न नहुने अवस्था भएको उनीहरु बताउँछन्।

युवतीका काकाले छोरीको निधनबाट परिवार एकदम स्तब्ध भएको बताए।

‘विवाहको भोलिपल्ट दुल्हन फर्काउने चलन छ, त्यसका लागि ज्वाइँको घरमा पुगेका थियौं,’ उनले भने, ‘छोरीले खोकी लागेर गाह्रो भयो भनेपछि ज्वाइँले भक्तपुर अस्पताल नै लैजाउँ भनेर त्यहाँ लगियो, त्यहाँ पिसीआर टेस्ट गर्दा पोजेटिभ देखायो।’

अस्पतालमा आइसीयूमा भर्ना भएकी छोरीको मृत्यु भएको खबर बाहिर आउँदा आफूहरु स्तब्ध भएको उनले बताए।

अहिले परिवारका सदस्यहरु शोकमा छन्। उनीहरुको मागी विवाह थियो।

उनले अहिले बेहुलीको आमा, बुवा, ठूलोबुवा र ठूलो आमा पनि कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बसिरहेको बताए।

साथै आफ्ना दुई छोरीलाई पोजेटिभ भएको र अवस्था सामान्य भएको पनि उनले बताए।

युवतीले एक दिनमात्र दाम्पत्य जीवन बिताउन पाइन्।

उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको थियो।

अस्पतालमा स्वयम्सेवकको रुपमा खटिएका आरएनए १६ का संयोजक अरुण सैजूले सोमबार दिउँसो २ बजे अस्पतालमा रुवाबासी नै भएको सुनाए।

‘नरोउन् पनि कसरी, वृद्धावस्थामा भएका व्यक्ति वा पहिलेदेखि रोग लागेका व्यक्ति भए अर्को कुरा,’ उनले भने,‘केही नभएको नयाँ बेहुली यसरी विवाह भएको १० दिनमा नै निधन हुँदा कसको आँसु झर्दैन र?’

उनले विवाहमा होसियारी अपनाउन नसक्दा यो दुर्घटना भएको बताए।

‘आफन्तलाई कोरोना नलागेसम्म कोरोना केही होइन भनी नबसौं,’ उनले आग्रह गरे।

अहिले कोरोना लागेको अवस्थामा आइसीयुमा राख्नुपर्दा आइसीयु नै नभएको उल्लेख गर्दै उनले भने, ‘अति आवश्यक परेको खण्डमा मात्र स्वास्थ्य मापदण्ड अपनाएर घर बाहिर निस्कौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय