महामारी फैलिरहेको बेला मानसिक चिन्ता कसरी हटाउने?

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको पहिलो लहर सकिने आशा गर्दैगर्दा सुरु भएको दोस्रो लहरले अधिकांश मानिसमा डर पैदा गराएको छ।

पहिलो लहरमा कम जोखिम देखिएका बालबालिका, युवादेखि बृद्धबृद्धामा पनि कोरोना संक्रमित हुनेदेखि, उपचार नपाउँने, ज्यानै जानेसम्मको डरले सताएको छ ।

डरका कारणले गर्दा उनीहरु अस्पतालमा जाँच एवं परामर्शका लागि आउने गरेका छन्।

केही समय यता मानसिक रोगको उपचार लिन आउनेको भीड लागेको छ।

पुराना तथा नयाँ बिरामी दुबै।

मानिसहरुमा कोरोनाले त्रास फैलाइरहेको छ।

हामीले मानिसहरुलाई सकेसम्म सुरक्षाका मापदण्ड पालना गरेर बाहिर निस्कन सल्लाह दिने गरेका छौं।

सक्दो बाहिर ननिस्कने, केही छोए पनि स्यानिटाइजर प्रयोग गर्न, सामाजिक दुरी राख्न सल्लाह दिन्छौं।

अस्पतालमा उपचार गराइराख्ने अधिकाशं बिरामीहरु पहिले पनि कोभिड भएको र हाल पनि हुन्छ कि भन्दै डराउँदै परामर्श लिन आउने गरेका छन्।

यस्ता विरामीहरुलाई परामर्श दिनुका साथसाथै सुरक्षित रहन पनि सल्लाह दिन्छौं।
कोरोनाको दोस्रो लहर भर्खरै शुरु भएका कारण मानिसहरु डराएका मात्र छन् तर यसको मानसिक समस्या भने पछि मात्र देखिन्छ।

पहिलो लहरको कोरोना संक्रमण सकिन लाग्दा मानसिक समस्या लिएर थुप्रै मानिसहरु अस्पताल आउने गरेका थिए।

सामान्य रुपमा आउने बिरामी भन्दा कारोना संक्रमणको महामारीका कारण मानसिक समस्यामा परेकाहरु अस्पताल आउने क्रम बढिरहेको छ।

तर अबको दोस्रो लहरले झन् कति मानिसहरुलाई मानसिक समस्या थप्छ भनेर कल्पना नै गर्न सकिँदैन।

त्यस्तै, सबै भन्दा ठूलो समस्या पहिले नै मानसिक समस्या भएका व्यक्तिहरु जो औषधि र डाक्टरको सहायता लिइरहेका छन्, उनीहरुलाई निकै समस्या हुनेछ। उनीहरुको समस्या बढ्न सक्छ।

पुराना बिरामी जो हामीसँग पहिले उपचारमा थिए, उनीहरु अब लकडाउन हुन्छ, उपचार पाइन्न भनेर आत्तिएका छन्। यसै कारण पनि अस्पतालमा हाल बिरामीको घुइचो बढेको छ।

उपचारको फलोअपका लागि पछि समय दिएका बिरामी पनि आँत्तिदै अस्पतालमा आउने गरेका छन्। दैनिक २० देखि २५ जना बिरामीहरु उपचरका लागि आउने गरेका छन्।

विगतमा लकडाउनका कारण नियमित औषधी सेवन गरिरहेका र निको हुन लागेका बिरामीहरु पुन समस्याका कारण अस्पताल धाइरहेका छन्।

यस्तो समयमा उनीहरुले औषधी पनि पाउँदैनन् भने चिकित्सकहरुसँग सल्लाह पनि लिन सकेका छैनन्।

हाल परामर्शका लागि आउनेमा कक्षा ११ र १२ पढ्ने वा कलेज पढ्ने विद्यार्थीको संख्या पनि अधिक छ।

उनीहरु आफ्नो कक्षाका साथीहरु अथवा शिक्षकहरुलाई कोरोना संक्रमण भयो, आफूलाई पनि हुन्छ कि भन्ने चिन्ता लिएर आउँछन्।

२० वर्ष माथिका मानिसहरुमा कोरोनाको त्रास झन् झन् बढ्दै गइरहेको छ।

हाललाई यो समस्या डर र त्राससँग मात्र सिमित हुन्छ तर यो पछि गएर एन्जाइटी, डिप्रेशनको उपचार नै गर्नुपर्ने पनि हुन सक्दछ।

यस्तो अवस्था पहिले पनि देखिएको थियो।

डिपे्रशन वा अन्य मानसिक समस्या एकै चोटी देखिँदैन। डर त्रास लामो समयसम्म रहीरहे र आफ्नो कामहरु गर्न समस्या देखिन थाले मात्र

मानसिक समस्या बढ्छ। अरु पनि थुप्रै लक्षण हुन्छ, जसका कारण उपचार नै आवश्यकता पर्न सक्छ।

मानसिक समस्या हुनुका कारण

वंशाणुगत समस्या– आफ्नो घरपरिवार, आमा बुबालाई पहिलेदेखि नै यस्तो समस्या छ भने, पछिका पुस्तामा पनि यस्ता समस्याहरु देखिन्छ।

न्यूरोट्रान्सिमिटरको समस्या,

तनाब,

हरेक गतिविधिमा परिवारको समर्थन नभएमा,

डर र त्रासका कारण मानसिक रोग देखिन्छ।

जुनै उमेर समुहमा पनि मानसिक समस्या देखिन्छ। साना बालबालिकाहरुलाई महामारी, रोगहरुको बारेमा धेरै कुरा थाहा नभएपनि अरु बिरामी भएको देख्दा, आफ्नै परिवारहरु बिरामी भएको कारणले समस्या पारिरहेको हुन्छ। विद्यालय जान नपाउँदा, घरमै बसिराख्नुपर्दा आफ्नै किसिमका समस्याहरु हुन सक्छ।

त्यस्तै कलेज पढ्ने विद्यार्थीहरुका लागि पढाई र करिअरको चिन्ता, अभिभावकलाई आफ्नो बच्चाको स्वास्थ्य, भविष्य तथा आर्थिक समस्या हुन सक्छ। यी सबै कारणहरुले मानिसहरुमा तनाव पैदा गर्छ, जुन मानसिक समस्याको मुल कारण हुन्। यी यावत् समस्याहरुलाई समयअनुसार मिलाउन र यसमा ढल्दै जान नसके लामो समयसम्म समस्या निम्त्याउँछ।

समाजमा घटिरहेका घटनाहरु समाचार माध्ययमबाट थाहा पाउँछौं। तर थुप्रै सञ्चार माध्ययमहरु भएका कारण पटक पटक एउटै समाचार विभिन्न माध्ययमबाट हेर्दा पनि समस्या निम्ताउन सक्छ। त्यसैले आफ्नो मानसिक सन्तुलन बनाइराख्न कुनै आधिकारिक माध्ययमबाट मात्र समाचार हेर्ने, केही समय दिनमा एकपटक मात्र हेर्ने गर्नुपर्छ।

अहिले कोरोना संक्रमणको त्रास निक्कै बढेको कारण आफूलाई सुरक्षित राख्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु नै उचित हुन्छ भने तनाब नलिन घरबाहिर कमै जानु राम्रो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *