खोप लगाएका पनि संक्रमित भइरहेका छन्, तर छैन् अनुसन्धान
कोरोना महामारीको दोस्रो लहरसँगै नेपालमा दैनिक संक्रमितको संख्या नै ७ हजारभन्दा माथि र मृत्यु दैनिक ३० हुन थालिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक संक्रमण ११ हजारसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ।
संक्रमित भइरहेका मध्ये धेरै जना सरकारले वितरण गरेको कोरोना विरुद्धको खोप लगाइसकेका समेत छन्।
खोप लगाएपछि संक्रमित बनेका मध्ये धेरै पहिलो मात्रा लगाएका छन् भने केही दोस्रो मात्रा पनि लगाएका छन्।
दोस्रो मात्रा खोप लगाएर पनि संक्रमित हुन पुगेका मध्ये अधिकाशं व्यक्तिहरु स्वास्थ्यकर्मी छन्।
खोप वितरण गर्दा सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीहरुलाई नै दिएको थियो।
स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार २१ लाख १२ हजार १९ जनाले खोपको पहिलो मात्र लगाएका छन्। भने ३ लाख ६९ हजार ४९ जनाले दोस्रो मात्रासमेत लगाइसकेका छन्।
तर खोप लगाएका व्यक्तिहरुमा कतिजनालाई कोरोना संक्रमण भयो भन्ने तथ्यांक सरकारसँग छैन्।
हेल्थपोष्टले विभिन्न अस्पताल, प्रदेश निर्देशनालय तथा मन्त्रालयमा फोन गरेर संक्रमित हुने व्यक्तिहरुमा कतिले पहिलो र कति दोस्रो मात्राको खोप लगाएका छन् सोध्दा पनि कुनै तथ्याङक नराखेको बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रशासन प्रमुख नवराज गौतमले आइतबारसम्ममा खोप लगाएका तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताए।
एकजना चिकित्सक र दुईजना नर्सहरु, जसले दुबै मात्रामा खोप लगाइसकेका छन्, उनीहरुलाई कोरोना संक्रमण देखिएको हो।
त्यस्तै, खोप लगाएका निजामति कर्मचारी अस्पतालका ५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्। यस अस्पतालमा भर्ना भएका कति
बिरामीहरुले खोप लगाएका छन् भन्ने तथ्याङक नराखेको बताए।
यी बाहेकका अस्पताल, प्रदेश निर्देशनालयहरुले न त स्वास्थ्यकर्मी, न त आम मानिसकहरुको नै तथ्याङक संकलन गरेका छ।
किन जरुरी छ तथ्याङक र अनुसन्धान?
हाल २१ लाख भन्दा बढि मानिसहरुले कोरोना विरुद्धको पहिलो खोप र तीन लाखले दोस्रो मात्रा लगाइसकेका छन्।
यति संख्यालाई खोप लगाउन सकेको भारत र चीनले दिएको अनुदान संगसंगै नेपाल सरकारले आफै खरिद गरि ल्याइएको कारणले हो।
भारतले १० लाख कोभिसिल्ड र ३ लाख ४८ हजार कोभ्याक्स खोप अनुदानमा दिएको थियो भने चीन सरकारले ८ लाख भेरोसेल खोप दिएको थियो।
अनुदानबाट प्राप्त खोपले मात्र कूल जनसंख्यालाई नपुग्ने भएका कारण नेपाल सरकारले गत वर्ष डिसेम्बरमा कूल जनसंख्याको २० प्रतिशत नागरिकलाई चाहिने खोप आपूर्तिका लागि भारतलाई प्रक्रिया गरेको थियो।
भरतको कम्पनीले अग्रिम भुक्तानीविना खोप पठाउन नसक्ने जनाएपछि नेपालले २० लाख डोज खोप खरिद गर्न ८० प्रतिशत रकम अग्रिम भुक्तानी समेत गरिसकेको छ।
प्रतिडोज चार अमेरिकी डलर पर्ने गरी खोप खरिद सम्झौता भएको थियो।
नेपालले अग्रिम भुक्तानी रकम पठाउँदा पनि भारतले नेपाललाई १० लाख डोज मात्रै खोप पठाएको छ। १० लाख डोज खोप आउन बाँकी छ।
यति मात्र नभई स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा खोप खरिदका लागि मात्र केन्द्र सरकारसँग ३३ अर्ब रुपैंया माग गरेकोे छ।
राज्यले यति धेरै प्राथमिकतामा राखेको खोप कार्यक्रमको प्रभावारिताका मूल्यांकन गर्न पनि हाम्रै सन्दर्भका प्रमाणहरु आवश्यक पर्ने विज्ञहरु बताउँछन्।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले देशमा कस्ता खालको खोपको आवश्यकता छ र प्रभावकारी छ छैन हेर्न पनि अनुसन्धान आवश्यक रहेको बताए ।
‘हाल दोस्रो मात्राको कोरोना खोप लगाउने थुप्रै व्यक्तिहरुलाई देखिन थालेका छन्। भाग्यवस नेपालमा दोस्रो मात्रा लगाउने संक्रमितलाई जटिल अवस्था त आएको छैन, तर यसको संख्या संकलन गर्न जरुरी छ,’ डा. कोइरालाले भने।
‘हामीले लगाएको खोपले कति काम गरिराखेको छ, कतिको सुरक्षित छ भन्ने कुराको रिभ्यु गर्न जरुरी छ। तथ्याङक अनुसार हामीले आगामी कार्यक्रमहरु तयार गर्न सक्छौं,’ डा. कोइरालाले भने।
डा. कोइरालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुसन्धान अघि बढाउन सल्लाह र वार्ता गर्ने पनि बताए।
शुक्रराज ट्रपकिल तथा सरुवारोग अस्पतालका सरुवारोग विशषज्ञ डाक्टर शेरबहादुर पुन खोप लगाएका व्यक्तिहरुको तथ्यांक राखेर अनुसन्धान गर्दा बाँकी रहेका धेरै संख्यालाई कतिको सुरक्षित गर्छ गर्दैन भनेर निष्कर्ष निकाल्नुपर्ने बताउँछन्।
खोप कार्यक्रम चलाएका विश्वका धेरै देशहरुले कोरोना खोप लगाएपछि प्रभावकारीताबारे अनुसन्धान गरिरहेका छन्। अमेरिकामा ७.७ करोड मानिसमा पूर्ण मात्रामा खोप लगाएकोमा ५,८०० मा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै भारतमा गरिएको अनुसन्धानका अनुसार ९३ लाखले पहिलो मात्रामा कोभ्याक्सिन लगाउँदा ४हजार २ सय ०८ लाई कोरोना संक्रमण भएको थियो भने १७ लाख मानिसले दोस्रो मात्रा लगाउँदा ६सय ९५ मा मात्र कोरोना संक्रमण देखिएको थियो।
कोभिडसिल्डको हकमा १० करोड जनाले पहिलो खोप मात्र लगाउँदा १७ हजार १सय ४५ जनामा संक्रमण भयो भने १ करोडले दोस्रो मात्रा लगाउँदा ५ हजार १४ जनामा संक्रमण देखिएको थियो।
डा. पुनका अनुसार पूर्ण मात्रामा खोप लगाउने व्यक्तिहरुमा हालसम्म गम्भीर खालको संक्रमण र आईसियुमा उपचार गराउनुपर्ने अवस्था देखिएको छैन, तर संक्रमण भने भएका छन्।
खोपकोे अनुसन्धान गर्दा यसको फाइदा सँगसँगै अब लगाउने समूहहरु कुन खालको खोप उपयुक्त हुन्छ? भन्ने प्रमाण मिल्ने र त्यसले सरकारलाई खोप खरिदमा समेत महत्वपूर्ण सुझाब मिल्ने डा. पुन बताउँछन्।
प्रमाणमा आधारित भएर खरिदमा लगाएको खोप खेर पनि जाँदैन भने मानिसहरुको ज्यान जोगाउन पनि मद्दत गर्दछ।
‘सबैजनालाई खोप लगाउनका लागि सचेत गराउन अनुसन्धान जरुरी छ’ डा. पुनले थपे, ‘पूर्ण खोपका कारण रोग फैलनबाट रोक्नुका साथसाथै संक्रमितलाई जटिल अवस्थामा जानबाट बचाउन सकिन्छ’