स्थगित भयो जनगणना, विभाग प्रमुखदेखि सुपरिवेक्षकहरुमा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल
कोरोना संक्रमणको लहर बढेसँगै १२ औं राष्ट्रिय जनगणना स्थगित भएको छ। यही बैशाख २६ र जेठ २५ गतेबाट सुरु हुन लागेको जनगणना सर्वेक्षण हाललाई रोकिएको हो।

गत वैशाख १९ गतेको मन्त्रिपरिषदको बैठकले जनगणनालाई रोक्ने निर्णय गरेको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

६० वर्षपछि पहिलो पटक जनगणना रोकिएको उनले बताए। सरकारले अर्को निर्णय नगरेसम्मका लागि जनगणना र जनगणनाका लागि भइरहेका सबै तालिम तथा कार्यक्रमहरु रोकिएका लामिछानेले बताए।

राष्ट्र विकासका लागि परियोजना बनाउन राज्यले हरेक १० वर्षमा जनगणना गर्दछ।

जनगणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। त्यसका लागि देशभर सुपरिवेक्षकको तालिम चलिरहेको थियो। यो तालिम पनि मन्त्रिपरिषदको निर्णयसँगै रोकिएको छ।

‘आजबाट सुपरिवेक्षकको तालिम पनि रोकिएको छ। जनगणनाका लागि तयार गर्न दिइएको तालिमको आज पाँच दिन मात्र भएको थियो। मन्त्रिपरिषदकै निर्णय आएपछि हामीले तत्कालका लागि रोकेका हौं,’ लामिछानेले भने।

सुपरिवेक्षकहरुको तालिम सकिने बित्तिकै घरघरमा सर्वेक्षण गर्न जाने तयारी गरिएको थियो भने विभागले गणकलाई भर्ना गर्ने तयारीमा थियो। ‘हालसम्म गणकलाई भर्ना गरेका छैनौं, यसको तयारी गर्दागर्दै रोक्नु पर्‍यो’, उनले भने।

लमिछानेसँगै विभागका केही कर्मचारी र सुपरिवेक्षक संक्रमित भएका छन्।

‘पहिले हामीले जसरीपनि सर्वेक्षण गर्ने सोच बनाएका थियौं। हाल ४० जिल्लामा निषेधाज्ञा भइसकेको छ भने ८ देखि १० लाख मानिसहरु काठमाडौं छाडेर विभिन्न जिल्लामा फर्किएका छन्। त्यस्तै, आफैं संक्रमित हुन थालेपछि रोक्नुपर्ने बाध्यता नै भयो,’ उनले भने।

उनका अनुसार महामारीका कारण जनगणनाको परिभाषा नै परिवर्तन हुने भयो भने अब सर्वेक्षण पनि गर्न नसक्ने अवस्था भएको छ।

विभागका अनुसार ८ हजार ५०० सुपरिवेक्षकहरुको तालिम भइरहेको थियो। ८७ वटा जिल्ला जनगणना कार्यालयहरुमा तालिम भइरहेको थियो। काठमाडौंमा मात्र पाँचवटा कार्यालयहरुबाट तालिम भइरहेको थियो।

विभागले ३९ हजार गणक छनोटको नामावली वैशाख २६ गतेपछि प्रकाशन गर्ने तयारी गरेको थियो। अनलाइन आवेदनका आधारमा उनीहरूलाई छनोट गरिँदै थियो।

तालिकाअनुसार जेठ १७ देखि २२ सम्म गणकलाई तालिम दिने तय भएको थियो। कोरोना संक्रमण साम्य नभएसम्म जनगणना हुन नसक्ने लामिछानेले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *