सरकारले संक्रमितको उपचारको लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई लिने, जोखिम भत्ता ५० प्रतिशत दिने

सरकारले कोरोना संक्रमितको उपचारको लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई लिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताए।

त्यसैगरी, कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिएको छ।

‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘ कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुनेछ।’

त्यसैगरी, ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने ओलीले बताए।

‘ कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ,’ उनले भने।

सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिने सरकार सचेत रहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय