भाइरससँगको ‘युद्ध’मा सेना किन नखटाउने?

हेल्थपोस्ट नेपाल

चीनको वुहानमा २०१९ को डिसेम्बरतिर पत्ता लागेको एउटा भाइरसले केही दिनमै भयावह निम्त्याउन थालेपछि त्यहाँको सेनाले दश दिनमै एउटा अस्पताल तयार पार्‌यो।

एक हजार बेडको सुविधा सम्पन्न अस्पताल तयार पार्न सेनाले त्यहाँ रातदिन काम गरेको थियो। दशौ हजार सैनिक र निर्माण सामग्रीको व्यापक प्रयोग गरेर उसले रातारात अस्पताल तयार गरेको थियो।

करिब ६९ दिन पूर्णरुपमा लकडाउन भएको वुहान त्यसपछि विस्तारै सामान्य जीवनमा फर्किन थाल्यो।

अहिले चीनले लगभग कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा लिइसकेको छ। घरेलुरुपमा चीनमा अहिले शून्य संक्रमण छ। बरु बाहिरबाट चीन पुगेका विदेशीहरूलाई भने फाट्टफुट्ट संक्रमण देखिएको छ।

निकै संक्रामक र घातक त्यो कोरोना भाइरसले फैलाएको महामारी चीनले केही दिनमै नियन्त्रणमा लियो। बरु अहिले सारा विश्व भाइरससँग लड्दैछ।

छिमेकी भारतमा त झन भाइरसको वितण्डा यसरी मच्चिएको छ कि लासहरू जलाउने र गाड्ने ठाउँसम्म छैन।

अस्पतालहरूलाई बिरामीको चाप धान्न हम्मेहम्मे भएको छ। स्वास्थ्य सामग्रीको अभाव सिर्जना हुन थालेको छ। अक्सिजनको अभावमा संक्रमितको सासै रोकिएको छ।

र, भारतमा वितण्डा मच्चाइरहेको भाइरसको त्यो स्वरुप नेपालमा पनि नाचिरहेको छ।

सरकारले लत्तो छोड्दा सेनाको आश

गत शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै भन्यो– अस्पतालहरूमा अब बेड उपलब्ध गराउनसक्ने अवस्था छैन।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीले भने – महामारी व्यवस्थापनबाट सरकारले हात झिकेको छैन। सक्दो त गरिरहेकै छ।

दिनहुँ संक्रमितको संख्या ७ हजार नाघ्न थालेको छ। ३५ जनासम्मको दैनिक मृत्युको रेकर्ड भइसकेको छ। भारतको भयावहको सानोमात्रै अंशले पनि नेपाललाई अहिले पूरै थिलोथिलो पारिसकेको छ।

काठमाडौं उपत्यकामा तोकिएका कोरोना अस्पतालहरू लगभग भरिएका छन्। गम्भिरखालका बिरामीहरूले समेत बेड पाइरहेका छैनन्।

काठमाडौंपछिको ‘हटस्पट’ नेपालगन्जको स्थिति अझ भयावह छ। कोरोना संक्रमितको उपचार गर्ने त्यहाँको एकमात्रै सरकारी भेरी अस्पतालमा अहिले बिरामी राख्ने ठाउँ नै छैन। अस्पतालका ७७ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। संक्रमित भएका स्वास्थ्यकर्मीले नै अरु संक्रमितको उपचार गरिरहेका छन्। रातदिन खटिएर बेन्चमा सुत्न बाध्य भएका नर्सहरूका भयावह दृश्यहरू अहिले सामाजिक सन्जालमा भाइरल भएका छन्।

स्वास्थ्यकर्मीको अभाव भएपछि मन्त्रालयले त्यहाँ एउटा टोली खटाएको थियो। तर, त्यो टोली अझै त्यहाँ गएको छैन। बरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाबाट आज एउटा टोली भेरी अस्पतालमा सहयोगका लागि खटाएको छ।

सँगैको दाङ पनि उस्तै प्रभावित छ। अक्सिजनको कमीले बिरामीको मृत्यु भइरहेको छ। अस्पतालमा बेडको अभाव छ। अस्पतालका आँगन अनि बाहिरै सिँढीमा राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था छ।

प्रदेशकै अर्को जिल्ला रुपन्देहीको अवस्था पनि भयावह नै हुन थालेको छ।

दिनका दिन संक्रमण भयावह हुन थालेपछि अहिले आम नागरिकले ‘स्वास्थ्य संकटकाल’ लगाउन र, सेना परिचालन गर्न आवाज उठाइरहेका छन्।

सामाजिक सन्जालमा सेना परिचालन गर्नुपर्छ भन्ने जमात बढेको छ। सरकारले नै ‘हात’ उठाउन खोजेको महामारीको यो संकटपूर्ण घडीमा फेरि सबैले सेना परिचालन हुनुपर्छ भन्ने माग गरेका छन्।

सेना परिचालन गर्न मिल्छ?

‘मिल्छ। आवश्यक परेमा गर्नु पनि गर्छ’ नेपाली सेनाका पूर्व जर्नेल दिलिप रायमाझी भन्छन् ‘किनकि यो जनताले चुनेको सरकार हो। यो सरकारले सेना खटाउनसक्छ। त्यसले कुनै राजनीतिक प्रश्न आउँदैन। जनतालाई नियन्त्रणमा राख्न होइन, जनताको ज्यान बचाउने मानवीय काममा सेना खटाउँदा त्यस्तो प्रश्न आउँदैन।’

कतिपय देश (खासगरी कम्युनिष्ट शासन)मा हरेक काममा सेना परिचालन सामान्य मानिन्छ। तर नेपालजस्तो लोकतान्त्रिक देशमा सेना ब्यारेक बाहिर निस्किनु ‘अस्वभाविक’ हुन्छ।

त्यसैले पनि ‘सेना परिचालन’ भन्नासाथ हरेकले अलि फरक तरिकाले सोचिरहेका हुन्छन्।

भारतमा अनियन्त्रित भएर घातक बनिरहेको कोरोना भाइरसको दोस्रो लहरलाई नियन्त्रण गर्ने सन्दर्भमा अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले भारतीय सन्चारमाध्यमसँग भनेका छन्– यस्तो संकटका बेला सेनालाई पनि परिचालन गर्न सकिन्छ। अमेरिकाले जस्तै यसमा भारतले पनि तत्काल सेनाको सहयोग लिन सक्छ। अस्पताल बनाउनका लागि सेनाको मदत लिन सकिन्छ। जस्तो कि सेनाले युद्धका बेलामा तत्काल ‘फल्ड अस्पताल’ बनाउँछ। एक प्रकारले भन्ने हो भने त यो एउटा युद्ध नै हो। जसमा अहिले भाइरस तपाईं हामी सबैको दुश्मन भइरहेको छ।’

पूर्व जर्नेल रायमाझीका अनुसार देशमा आइपरेको कुनै पनि विपद, महामारी संकटका बेला ‘संगठित’ र ‘कडा अनुशासित’ संठगनलाई खटाइएको हुन्छ। यो विश्वव्यापी प्रचलन नै हो।

‘हाम्रो देशमा पनि अलि कडा अनुशासनमा बस्ने अनि खट्नसक्ने भनेको नेपाली सेना नै हो’ रायमाझी भन्छन् ‘यस्तो बेलामा सेना खटाउँदा राम्रै हुन्छ नि। सेनाले विपदमा राम्रो राम्रो काम पनि गरेकै छ, हरेक प्राकृतिक विपदमा सेना त अंग्रपंक्त्तिमै हुन्छ नि!’

रायमाझीले संकटका बेलामा आम नागरिकले सेनाको ‘आशा’ गर्नु स्वभाविकै पनि हो।

‘देशमा सधैं युद्ध त हुँदैन नि। कोरोनाको यो महामारी पनि एकप्रकारको युद्ध नै हो’ उनले भने ‘यसले सेना र जनता मिलेर कसरी महामारी अनि यस्ता संकट र विपदहरूको सामना गर्न सकिन्छ भन्ने ज्ञान पनि हुन्छ।’

प्रहरीले नियमित प्रशासिन काम पनि गर्नुपरिरहेको हुन्छ। अरु सुरक्षा अंगभन्दा प्रत्यक्ष जनतासँग जोडिएर काम गर्ने संगठन प्रहरी नै हो।

‘तर, यस्तो भयावह अनि संकटपूर्ण अवस्थामा प्रहरी एक्लैले मात्रै सबै काम गर्न सक्दैन। त्यसैले विशेष अवस्थामा सेनाको सहयोग चाहिन्छ’ रायमाझी भन्छन् ‘अन्तर्राष्ट्रिय रुपमा विश्वका सबै देशहरूले गर्ने पनि यस्तै हो।’

नेपाली सेना के भन्छ?

‘नेपाल सरकारले खटाएको जुनसुकै जिम्मेवारी लिन पनि नेपाली सेना तयार छौं’ नेपाली सेनाका प्रवक्त्ता सन्तोष बल्भव पौडेल भन्छन् ‘हामी जहिले पनि तयारी अवस्थामै हुन्छौं। झन् यस्तो सकंटका बेला सरकारले दिएका हरेक जिम्मेवारी पूरा गर्न हामी तयारै छौं।’

चीनको वुहानमा कोरोना भाइरसको महामारी सुरु हुँदा नेपाली विद्यार्थीको उद्धारदेखि क्वारेन्टाइन व्यवस्थापनसम्म र अहिले पनि महामारी नियन्त्रणसम्बन्धि हरेक निर्णय र केही कामहरूमा संलग्न रहँदै आएको छ।

महामारी व्यवस्थापनका लागि सरकारले बनाएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा पनि नेपाली सेनाको सहभागिता छ। यो केन्द्रको कार्यालय नै सैनिक मुख्यालयमा छ। सुरुमा त यसको संयोजक रक्षामन्त्री आफै थिए।

नाकाहरूमा होल्डिङ सेन्टरहरू बनाउने, व्यवस्थापन गर्नेदेखि लिएर कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनको जिम्मेवारी पनि सेनाले नै निभाउँदै आएको छ।

सेनासँग लगभग ९० हजार जनशक्त्ति छ। त्यसमा चिकित्सकीय जनशक्त्ति पनि पर्छ। अस्पतालहरू पनि छन्। देशैभरि उसको बलियो सन्जाल पनि छ। विपदमा काम गरेको अनुभव पनि छ।

‘अहिले हाम्रो संगठनका ९० हजार जनसंख्यालाई हामीले यो भाइरसबाट जोगाउन सक्यौं भनेमात्रै पनि देशलाई धेरै भार कम हुन्छ। त्यत्तिमात्रै होइन ८-९लाख सेवानिवृत्त सैनिक स्टाफहरूको जिम्मेवारी पनि हाम्रै काँधमा छ’ पौडेल भन्छन् ‘सशस्त्रको बलम्बु अस्पताल कोभिड अस्पताल भएपछि त्यहाँ उपचार गर्नुपर्ने अरु बिरामीलाई हामीले आफ्नै अस्पतालबाट सेवा दिइरहेका छौं।’

सेनाले अहिले आफ्ना हरेक ब्यारेकहरूमा स्वास्थ्य प्रोटोकललाई निकै कडा गरेको छ। सकभर कसैलाई पनि छुट्टि कटाइएको छ। विदामा गएकाहरूलाई पनि ब्यारेकमा बोलाइएको छ।

‘हामीले स्थानीय निकायहरूसँग मिलेर पनि कामहरू गरिरहेका छौं’ पौडेल भन्छन् ‘जनताले हामीमाथि भरोसा गर्नु पनि अन्यथा होइन। तर, स्रोत र साधनको कुरा आउँछ। विकसित देशको सेनाजस्तो हामीसँग प्रशस्त स्रोत साधन छैन। तर पनि सरकारले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न हामी तयार छौं।’

पूर्व जर्नेल रायमाझीका अनुसार मानव र मानवताको सुरक्षा पनि हरेक सैन्य संगठनको कर्तव्यभित्रै पर्छ। त्यसका लागि सैनिक संगठन हरबखत तयारी अवस्थामै रहनुपर्छ।

सैन्य प्रवक्ता पौडेल भन्छन् ‘विपदका बेला देश र जनताका लागि काम गर्न पाउँदा त्यसलाई हामी महत्वपूर्ण दायित्वका रुपमा लिएका हुन्छौं।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *