फरक ‘लक्षण’ देखाउँदै कोरोना !

नयाँ प्रकार (भेरियन्ट) कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ।

नेपालमा शनिबार कोरोना संक्रमणको संख्या हालसम्म कै उच्च पुग्यो।

केहि दिनमा कोरोना संक्रिमतले अस्पतालका बेड भरिएका छन्।

सरकारले पनि अस्पतालमा बेड उपलब्ध हुन नसक्ने अवस्था आइसकेको बताउँदै आएको छ।

अस्पतालमा बेड खाली छैइनन।

पछिल्लो समय गम्भीर प्रकृतिका संक्रमित अस्पताल भर्ना भएका छन्।

अस्पताल भर्ना भएका ९० प्रतिशत भन्दा बढिलाई अक्सिजनको आवश्यकता परेको चिकित्सकले बताएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तिन–चार हप्तादेखि आइसियू बेड खाली छैइनन।

कोरोना संक्रमितको संख्या थपिँदै अस्पतालको स्रोत—साधनले धान्न नसक्ने अवस्था आएको मेडिकल विभाग प्रमुख तथा कोरोना फोकल पर्सन डा. युवराज शर्मा बताउँछन्।

हाल कोरोना संक्रमितको उपचारको लागि दुई सय बेड छन्।

संक्रमित संख्या बढ्दै गएपछि अस्पताल प्रशासनले ५० बेड थप्ने निर्णय गरेको छ।

‘अहिले आएका संक्रमितलाई तत्कालै अक्सिजन कम हुने देखिएको छ,’ डा. शर्माले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘अहिलेको भाइरस छिट्टो तथा सहजै सर्ने देखिएको छ।’

डा. शर्माका अनुसार अस्पताल भर्ना भएका बिरामीमा फरक लक्षण देखिएका छन्।

‘पहिला भन्दा संक्रमितको लक्षण परिर्वतन भएको पाइएको छ,’ डा. शर्माले भने, ‘धेरै मिल्दो–जुल्दो छ। तर, पहिला एक–दुई लक्षण देखिएको अहिले धेरै लक्षण भएर बिरामी भर्ना भएका छन्।’

अहिले बिरामीमा अक्सिजनको लबेल एक्कासी घट्ने प्रमुख समस्या छ।

‘संक्रमितलाई हेर्दा ठिकै छ। तर, अक्सिजन लेबल तल झरिसकेको हुन्छ। बिरामीलाई छिन—छिन निगरानी गर्नुपर्ने हुन्छ,’ डा. शर्माले भने।

अक्सिजन लेभल कम हुने, बेचैनी हुने, आलस्यता बढ्ने, दोधारपन हुने, कुनै सजिलो काम गर्न पनि अल्छी लाग्ने, टाउको दुख्ने, छातीमा समस्या र झाडापखला लाग्ने जस्ता लक्षण देखिएका छन्।

पाटनमा स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेका छन्।

‘प्रोफेसरहरू दिन–दिनै संक्रमित हुँदै गएका छन्। यसले थप समस्या थपिदिएको छ। भोलिका दिन जनशक्ति अभाव हुने देखिन्छ,’ डा. शर्मा थप्छन्।’

अहिले देशभर आइसियूको समस्या छ। आइसियू बेड मिलाउनका लागि शक्तिको चलखेल हुन थालेको छ।

‘आइसियू मिलाउनका लागि पूर्व स्वास्थ्यमन्त्री, डाक्टर, मन्त्री, तथा उच्च तहका पदाधिकारीले फोन गर्ने गर्छन,’ डा. शर्माले भने, ‘ सामान्य नागरिकलाई आइसियू पाउन नै एकदमै कठिन छ।’

सरकारले कोरोना खोप ३०–४० प्रतिशतलाई लगाउन सकेको भए यो अवस्था नआउने डा. शर्माको भनाई छ।

‘सरकारले पहिलो डोज पुगेसम्म सबैलाई दिनुपर्थ्यो। तर, दोस्रो डोज दिनाले अन्य जोखिम वर्गलाई संक्रमण हुन पुग्यो,’ उनले भने, ‘ ३०–४० प्रतिशत नागरिकलाई खोप दिन सकेको भए यतिको महामारी खेप्न पर्दैन थियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय