भीडले सल्काएको कोरोनाको डढेलो

भारतमा एकदमै विभत्स मानवीय विपत्ति चलिरहँदा सन्चारमाध्यमहरुबीच एउटा गरमागरम वहस चल्दैछः के राजनीतिक सभा–जुलुसले कोभिड–१९ को सुनामी फर्काउनुमा मद्दत गरेकै हो त?

पक्का तथ्य हो, महामारीको दोस्रो लहरले मध्य अप्रिलदेखि भारतको कमजोर स्वास्थ्यसेवा प्रणालीलाई डामाडोल पारेको छ।

यो वहसमा एउटा जवाफ प्रष्ट रुपमा दिनमिल्छ। बिना मास्क, भौतिक दुरी नराखी मानिसहरु ठूल्ठूलो भीडमा हेलिँदा कोरोना भाइरस नसरी बस्छ भन्ने प्रश्नै हुँदैन।

बितेका केही सातामा भारतका विभिन्न पाँच राज्यमा विधानसभा चुनाव भए। सो क्रममा भएका राजनीतिक जमघटहरुमा पक्कै हजारौं–लाखौं मानिसहरुको भीड थियो। मानिसहरु मास्क नलगाई खचाखच जुलुसमा भिडेका दृश्यहरु टेलिभिजनका पर्दाहरुमा मज्जैले देखिए।

यिनै भीडले भाइरस संक्रमणलाई तीव्र पारेको हो भन्ने अनुमान भइसकेपछि मैले भारतको २५ राज्यमा दैनिक बढ्दै गएको संक्रमित संख्याको तथ्यांक संकलन गर्न थालें। ती राज्यहरुमा प्रत्येक दिन भारतभर बढ्ने संक्रमित संख्याको ९९ सय प्रतिशत केन्द्रित भएको पाइन्छ। मैले २५ राज्यलाई दुई समूहमा बाँडे। पहिलो समूहलाई ‘चुनाव राज्य’ भन्ने नाम दिएँ–आसाम, केरला, पुडुचेरी, तमिलनाडु र पश्चिम बंगाल। जहाँ मार्चका अन्तिमसातादेखि चुनाव भयो। दोस्रो समूहमा बाँकी २० राज्य, जसलाई म ‘गैर–चुनावी राज्य’ भन्दैछु।

यहाँ मैले राखेको पहिलो तथ्यांक चित्रमा मैले जनवरी १, २०२१ देखि अप्रिल २९, २०२१ को बीचमा यी दुई समूहका राज्यमा देखिएका दैनिक औसत संक्रमण संख्याको लघुगणक (लोग्रिदम) तयार गरेको छु। यसमा वक्ररेखा जति जति ओरालो गएको देखिन्छ, त्यसको माने दैनिक संक्रमित सख्या घट्दै गएको भन्ने हो। उकालो जाँदा ठिक उल्टो। वक्ररेखा जति ठाडो, संक्रमण दर त्यति नै तीव्र।

तथ्यचित्रबाट के प्रष्ट हुन्छ भने वर्ष २०२१ को सुरुआतमा दैनिक संक्रमणको औसत संख्या घट्दै मात्र गएको थियो। दुवै समूहमा जनवरी र फ्रेवुअरी महिनामा लगातार ओरालो लागेको देखिन्छ। ठयाक्कै यही तथ्यले नरेन्द्र मोदी सरकार र यसका समर्थकहरुलाई एउटा भ्रममा धकेलेको होला–भारतले महामारीलाई जित्यो, सामूहिक प्रतिरोधात्मक क्षमता बनिसक्यो।

मध्य फेब्रुअरीमा दुवै समूहमा कोभिड–१९ को फरक परिदृश्य देखापर्छ। भाइरसले टाउको उठाउँदै गएको छ। गैर–चुनावी राज्यहरुमा फेब्रुअरीमा १० देखि दैनिक संक्रमण संख्या फेरि उकालो लाग्न थाल्छ। यसको कारण सम्भवतः भाइरसको नयाँ भेरिएन्ट समुदायमा फैलेको बुझ्न सकिन्छ। महाराष्ट्र, कर्नाटक, गुजरातलगायतका राज्यमा मास्क र भौतिक दुरीको प्रचलन त्यतिबेला बिर्सिइएको अनुमान गर्न सकिन्छ।

यसबीचको एउटा अनौठो तथ्य के छ भने फेब्रुअरीमा १० देखि मार्च १५ सम्मको अवधिमा दैनिक संक्रमित संख्या चुनावी राज्यहरुमा घटेकाे मात्र छ। मार्च १५ पछाडि मात्र हो ती राज्यहरु एकाएक हवात्तै बढ्न थालेको। मार्च १ देखि अप्रिल २९, मार्च १५ देखि अप्रिल २९, अप्रिल १ देखि अप्रिल २९ र अप्रिल १५ देखि अप्रिल २९ सम्मका फरक अवधिहरुलाई तुलना गर्दा दुवै समूहका फरक संक्रमण गति बुझ्न सकिन्छ। गैरचुनावी राज्यमा घट्दै जाँदा चुनावी राज्यमा तीव्र हुनु संयोग मात्र होइन। अब फेरि हेरौं, चुनावी गतिविधि सकिए, त्यसपछि चुनावी राज्यहरुमा वृद्धिदर घट्दै गइरहेको छ।

निर्वाचन आयोगले आसाम, केरला, पुडुुचेरी, तमिल नाडु र वेस्ट बंगालमा विधानसभा चुनावबारे मार्च सुरुआतदेखि सूचित गर्न थालेको हो। मध्यमार्चदेखि चुनावी अभियान जोडतोडले बढ्न थाल्छ। दैनिकजसो, ती राज्यमा मानिसहरु ठूल्ठूला सभामा सहभागी हुन्छन्। मास्कमा कमै देखिन्छन्, खुट्टा राख्ने ठाउँ हुन्न। संक्रमण दर त्यतिबेलैदेखि माथि जान पनि थाल्छ। र, आजको दिन भारत महामारीले यसरी थलिनुपछाडि ती भीडहरुको भूमिका छैन भनेर भन्न कुनै प्रमाणले साथ पनि दिदैन।

चुनावी राज्यहरुमा पनि फरक फरक परिदृश्य छ। आसाममा सबैभन्दा खराब संक्रमणदर देखिन्छ, १५ दशमलव ५ प्रतिशतसम्म। त्यसपछि वेस्टवंगाल र केरला आउँछन्। बरु पुडुचेरी र तमिलनाडुले संक्रमण फैलावटलाई नियन्त्रणमा राखेको देखिन्छ, सात प्रतिशतभन्दा माथि गएको छैन।

अहिले चुनावी राज्यहरुमा संक्रमण दर न्यून हुँदै जानु केही न केही सकारात्मक हो। त्यसमा राजनीतिक र प्रशासनिक नेताहरुले सिक्नुपर्ने महँगा पाठहरु छन्। वास्तवमा हाम्रा राजनीतिक नेता र शासकहरुमा थोरै पनि सामान्यजनप्रतिको सरोकार रहेको भए ठूला भीड लगाउने विषय प्राथमिकतामा पर्थेन होला। र, यस्तो मानवीय विपत्ति पनि आइलाग्थेन।

(द वायरबाट साभार। लेखक दिपंकर बसु म्यासाचुसेटस एमहस्र्ट विश्वविद्यालयमा अर्थशास्त्रका सहप्राध्यापक छन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय