‘सरकारले निजी अस्पताललाई लिएर संक्रमितको उपचार गर्छ’

हेल्थपोस्ट नेपाल

सरकारले कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई नै लिएर चलाउने योजना बनाएको छ।

संक्रमणको दर बढ्दै गएपछि साझेदारी मार्फत अघि बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारीले भयावह रूप लिँदा सरकारले पूर्ण रूपमा निजी अस्पतालाई कोरोना संक्रमितको उपचार गर्न आदेश जारी गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘सरकारी, निजी अस्पताल हाम्रै हो। निजीले साझेदारी मार्फत जान अनुरोध गर्छौं। नत्र सरकारले निजी अस्पताल लिएर चलाउने योजना छ,’ डा. गौतमले भने।

निजी अस्पताललाई पैसा दिएर नै सरकारको स्वामित्वमा संक्रमितको उपचार गर्ने डा. गौतमको भनाई छ।

‘निजीको पैसा कति हो? सरकारले दिन्छ। नागरिकको स्वास्थ्य भन्दा ठूलो के हुन सक्छ?,’ डा. गौतम भन्छन्।

सरकारसँग सम्झौता गरेर प्रति व्यक्तिको हिसाबले पनि संक्रमितको उपचार गर्न सकिने उनले बताए।

हाल सरकारसँग सम्झौता भएका अस्पतालले प्रतिव्यक्ति–प्रति दिन भेन्टिलेटरमा राखिएको संक्रमितको उपचार गरेबापत १५ हजार,यसभन्दा तल सात हजार र तीन हजार पाँच सयको ५० प्रतिशतसम्म थपेर लिने पाउने भन्ने अनुमति दिएको छ।

‘सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थपेर लिन सक्छन। त्यो भन्दा बढी लिएको खण्डमा बाणिज्य बिभागलाई लेखेर पठाउँछौ। तर, कुनै पनि अस्पतालले जथाभावी पैसा लिन पाइन्न,’ उनले भने।

सरकारको अहिले पनि संक्रमण कन्ट्रोल नै गर्ने रणनीतिमा भएको डा. गौतम बताउँछन्।

‘उपचार गरेर ठीक हुने रोग होइन। अक्सिजन, आइसियु र रेमडिसिभिर, भेन्टिलेटर भयो भने बाँचिन्छ भन्ने मानिसमा भ्रम छ,’ डा. गौतम भन्छन्, ‘जुन कुरा धेरै गलत हो। भेन्टिलेटरमा गएका कति जना फर्किए भन्ने हिसाब राख्नुपर्छ। त्यो हिसाब डरलाग्दो छ।’

‘कोरोना पहिलाको भन्दा जटिल भएर आएको छ। धेरै संक्रामक भएको छ। अहिले गम्भीर भएका धेरै छन्। अहिले नै दूरी कायम गर्ने, मास्क लगाउने गरिएन भने भयावह अवस्था आउँछ,’ डा. गौतमले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *