भ्याक्सिनविनै मोदीले गरे खोप लगाउने घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भ्याक्सिन अभियानअन्तर्गत शनिबारदेखि अर्को चरणको घोषणा गरेका छन्।

मोदीले खोप अभियानको घोषणा गर्दै १८ वर्ष र त्यसभन्दा बढी उमेर पुगेका व्यक्तिहरू भ्याक्सिन लिन पाउने बताएका छन्।

२८ अप्रिलदेखि यसका लागि दर्ता प्रक्रिया सुरू गरिएको थियो। तर, कोविन र आरोग्य सेतु मोबाइल एपमा दर्ता सुविधा अझै राखिएको छैन। भ्याक्सिन व्यवस्थापन गर्ने जिम्मेवारी राज्य सरकरालाई दिइएको छ।

तर, अधिकांश राज्य सरकारले हात उठाइसकेका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबारदेखि खोप अभियान सुरू गर्न नसकिने बताएका छन्। केजरीवालले भ्याक्सिन केन्द्र गएर लाइनमा नबस्न जनतासँग अपील गरेका छन्।

‘हामीले अहिलेसम्म भ्याक्सिन पाउन सकेका छैनौं। भ्याक्सिन उत्पादक कम्पनीसँग हामी सम्पर्क गरिरहेका छौं। सम्भवतः भोलिसम्म भ्याक्सिन उपलब्ध हुनेछ। भोलि या पर्सीसम्म तीन लाख कोभिशिल्डको पहिलो डोज उपलब्ध गराउने भरोसा दिइएको छ,’ केजरीवालले भनेका छन्।

यता उत्तर प्रदेशमा पनि शनिबारदेखि खोप अभियान सुरू हुने सम्भावना कमै देखिएको छ।

शनिबारदेखि खोप दिने कार्य सुरू हुने सरकारले दावी गरेपनि यसको सम्भावना कमै रहेको त्यहाँका स्वास्थ्य अधिकारीको भनाइ छ।
‘अहिलेसम्म ६० र ४५ वर्षभन्दा माथिका उमेर समूहलाई खोप दिने लक्ष्य पूरा हुनै सकेको छैन। त्यसो भए १८ वर्षभन्दा माथिको उमेर समूहका लागि कसरी सुरू गर्न सकिन्छ,’ उत्तर प्रदेशका एक स्वास्थ्य अधिकारीले बताएका छन्।

यता बिहार र झारखंडमा पनि उस्तै अवस्था देखिएको छ। यी दुवै राज्यमा शनिबारबाट १८ देखि ४४ वर्ष उमेर समूहका युवाहरूलाई खोप दिने काम सुरू हुने सम्भावना देखिएको छैन्।

सिरम इन्स्टिच्युट अफ इन्डियाले राज्यहरूलाई भ्याक्सिन आपूर्ति गर्न नसक्दा त्यहाँ समस्या देखिएको हो। भ्याक्सिन उपलब्ध भइसकेपछि मात्रै विहार सरकारले १८ वर्षदेखि माथि उमेर समूहका लागि खोप दिइने मितिको घोषणा गर्ने बताइएको छ।

यसबाहेक भारतको असम, कर्नाटक, छत्तिसगढ, पश्चिम बंगाललगायतका राज्यहरूमा पनि भ्याक्सिन अभाव देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय